coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकामा निषेधाज्ञा साउन १० सम्म लम्बियो

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याइएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको बिहीबार  बसेको संयुक्त बैठकले निषेधाज्ञा  खुकुलो गरेर १० दिन लम्ब्याउने निर्णय गरेको हो। पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ बजे सकिएको थियो।

साउन १ गतेदेखि अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। ‘हाल जारी निषेधाज्ञालाई खुकुलो पार्दै लगिएको छ,’ उनले भने, ‘लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न सिसिएमसीलाई सिफारिस गरिएको छ। त्रिभुवन विश्वविद्यालयदेखि लोकसेवा आयोगसम्मले परीक्षा सञ्चालन गर्ने सूचना प्रकाशित गरिसकेको हुँदा लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सिसिएमसीलाई सिफारिस गरिएको हो।’

औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै समयमा निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ। खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री, स्टेसनरीलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने पसलहरूदेखि डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम तथा पार्ट्स पसल, टेलरिङ, इलेक्ट्रोनिक पसल र निर्माणजन्य सामग्रीलगायत पसल तथा व्यवसाय बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रूपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेछ। अनुगमनका क्रममा तोकिएबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको पाइए पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिनेछ।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेस्टुरेन्ट एवं फास्टफुट तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। सर्वसाधारणको आवतजावतको हकमा घरबाट बाहिर निस्किँदा दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम राख्ने, अनिवार्य रूपले मास्कको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ।

सवारीसाधन सञ्चालनको हकमा काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरू तोकिएभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारीसाधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले मास्क, भाइजर र पन्जा लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने र अनिवार्य रूपमा सवारीसाधन दैनिक स्यानिटाइज गर्नुपर्नेछ। सफा टेम्पो तथा निलो माइक्रोले पछाडि तेस्रो सिटमा चार÷चारजनाको दरले आठजना र चालक छेउमा एकजना गरी कुल नौजना यात्रुभन्दा बढी राख्न पाइनेछैन। सवारीसाधनको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्ट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ। उपत्यकाभित्र सञ्चालन हुने निजी सवारीसाधनका हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रूपमा पालना गरी सञ्चालन गर्नुपर्नेछ।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनहरूलाई आवतजावत गर्न दिइनेछ। सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ। ‘सवारीसाधन प्रयोग गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य रूपमा पालना गर्न सके कोरोना भाइरस संक्रमणबाट जोगिन सकिन्छ,’ प्रजिअ पराजुलीले भने, ‘कोरोना भाइरस संक्रमणदर घट्दै गइरहेको अवस्थामा निषेधाज्ञा खुकुलो गरेका हौं।’  

शैक्षिक संस्थाहरूले अनलाइन तथा भर्चुअल माध्यमबाट पठनपाठन कार्यहरू सञ्चालन गर्न सक्नेछन्। परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी मानिस भेला जम्मा नहुने गरी परीक्षा सञ्चालन गर्न सकिनेछ। परीक्षार्थीहरू हलमा प्रवेश गर्नुअघि र परीक्षापछि सरकारले तोकेको मापदण्डबमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्नेछ। परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरूका अनिवार्य पालना गरी मास्क तथा स्यानिटाइजरको उचित प्रयोग गर्नुपर्नेछ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना र रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न पाइने छैन। खुला स्थानमा मानिसहरूको भेला जम्मा हुन, भिडभाड गर्न, सभाजुलुस, जात्रा महोत्सव र भोजभतेरलगायत गर्नगराउन रोक लगाइएको छ। विवाह, व्रतबन्ध तथा सामूहिक रूपमा गरिने सांस्कृतिक कार्यहरू होटल तथा पार्टी प्यालेसमा गर्न पाइनेछैन। पुजारीबाट हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न पाइने छैन। स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र  अपराह्न ४ बजेदेखि ७ बजेसम्म  सञ्चालन गर्न पाइनेछ।

कोरोना महामारीको दोस्रो लहर  बढ्दै गएपछि वैशाख १६ गतेदेखि पटकपटक गरेर निषेधाज्ञाको अवधि थप्दै आइएको थियो। निषेधाज्ञा प्रभावकारी हुन नसकेपछि कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेशले सजाय र जरिवाना तोकेको थियो।

प्रकाशित: १ श्रावण २०७८ ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App