खासमा उनलाई प्लेन सधैं मन पर्थ्यो। विदेशिएको छोरा फर्कने साधन लाग्थ्यो उनलाई अकाशमा उढ्ने चिलगाडी। जब धनकुटा हात्तीखर्कका खेवा लिम्बूले ८२ वर्षको उमेरमा पहिलो पटक प्लेन चढे तब उनलाई यो साधन विशेष लाग्न थालेको छ।
त्यसैले होला विराटनागरबाट ३ महिना पहिला प्लेन चढेर गोठाटार नजिक छोरीको घरमा आएका उनी प्रायजसो फलामेजालीबाट रमाइलो पारामा उभिएर प्लेन नियाल्दै दिन कटाउँदै छन्। उनको साथमा उभिएकी ८१ वर्षीया सेतीमायाको उपस्थितिले यो जोडीको जहाज हेर्ने रहर कति धेरै रहेन्छ भन्ने जो कोहीलाई पनि थाहा हुन्छ।
‘अब हामी ४ गते यही प्लेन चढेर घर फर्कने,’ उनले रमाउँदै भने, ‘प्लेन हेर्दा मात्र पनि खुसी लाग्छ।’ जीवनमा पहिलो पल्ट प्लेन चढेको सुनाउने खेवा यो निकै आनन्ददायक रहेको सुनाउँछन्। उति बेला भारी बोकेर पहाड–तराई हिँडेका खेवा रत्तिभरमै विराटनगरबाट काठमाडौ ओर्लदा निकै खुसी लागेको सुनाउँछन्।
लकडाउनका कारण लामो दूरीको यातायात नचल्दा यो जोडीले जहाज चढ्ने अवसर जुरेको हो। काठमाडौ नआई नहुने तर बस नचलेपछि जहाज चढ्नुको विकल्प थिएन। ‘बस चढेर त धेरै पटक घर फर्कियो,’ उनले रमाउँदै भने, ‘यस पटक जहाज चढेर जाँदै छौ।
प्रकाशित: ३१ असार २०७८ ०९:०२ बिहीबार