७ वैशाख २०८१ शुक्रबार
समाज

सेतो दरबार गेट जीर्णोद्वारमा सरकारको चासो नै छैन

जमल चोकमै रहेको एक सय ३६ वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको राणाकालीन सेतो दरबारको गेट जीर्ण बन्दै गएको छ। ठूला होटेल, रेस्टुरेन्ट र विभिन्न कार्यालय रहेको उक्त ठाउँमा मनिसको धेरै चहलपहल भइरहन्छ। तर गेटको अवस्था अति नै जीर्ण बनेकाले कतिखेर सो दरबारको गेट भत्किएर अप्रिय दुर्घटना हुने हो भनेर स्थानीय चिन्तित बनेका छन्।  

१९४२ सालमा वीरशम्शेरले बनाउन लगाएको सेतो दरबारको गेटको अवस्था हाल निकै जीर्ण बनेको छ। छानामा ठूलो भ्वाङ परिसकेको छ। जुनसुकै बखत पनि भत्किन सक्ने सेतो दरबारसँगै पसल सञ्चालन गरिरहेका रामकाजी खड्काको अनुमान छ। उनी २१ वर्षदेखि गेटसँगै जोडिएको सटरमा पसल सञ्चालन गर्दै आएका छन्।  

तत्कालीन समयमा कलकताबाट ल्याइएको बडेमानको फलामको गेट भाँच्चिएर दायाँबायाँ ढलेको अवस्थामा छ भने गेटको माथिल्लो भागको दलिनका काठ कुहिसकेका छन्। इतिहासविद् पुरुषोत्तमशम्शेर जबराका अनुसार ६० वर्षअघि बेलायती महारानी एलिजावेथ नेपाल आउँदा बखत मर्मत गरिएको उक्त गेट त्यसपछि बेवारिसे भएको छ। उनका अनुसार वास्तुविद् जुजुमान स्थापितका बाबु जोगलाल स्थपितले यो दरबार वास्तुअनुसार बनाउन सहयोग गरेका थिए। ३ सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तत्कालीन राणा प्रधानमन्त्री वीरशम्शेरले यो जग्गा ज्यापूहरूबाट ६० रूपैयाँका दरले खरिद गरेको इतिहास रहेको पुरुषोत्तमशम्शेरले आफ्नो किताब ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारमा समेत उल्लेख गरेका छन्।  

‘दरबार निर्माण थालनी गर्दा आजभोलिको झै सिमेन्टको चलन नभएकाले मास, चाक्कु, सरेस, सुर्की, पिना र चुनको मिश्रण बनाई बज्र तयार पारी इँटा जोडेर बनाइएको थियो,’ ९६ वर्षीय पुरुषोत्तम शम्शेरले नागरिकसँग भने, ‘वीरशम्शेर १९३८ सालमा कलकत्तामा रहँदा बेल्मेडियर प्लालेस देखेर त्यही ढाँचामा सेतो दरबार निर्माण गर्न लगाएका थिए। दरबारको अगाडिको मोहडाको ढाँचा पनि वेल्भेडियर प्यालेसकै जस्तो छ।’ उनले थपे, ‘वीरशम्शेरका पुस्ताले सबै जग्गा बेचिसके। तर गेट सार्वजनिक हो। सरकारले पुरातत्व महत्व बोकेको राज्यको ऐतिहासिक सेतो दरबारको गेटलाई चासो देखाएर मर्मतसम्भार गरी संरक्षण गर्नुपर्छ।’ १९९० साल वैशाखमा उक्त दरबार आगलागी भई भस्म भएको थियो।  

दरबारभित्र घर भएका ज्योतिरत्न तुलाधरले आफूले नेतृत्व नै लिएर गेट जीर्णोद्धारका लागि पुरातत्व विभागसँग पटकपटक छलफल गरी ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको गुनासो गरे। वडा नम्बर १ मा पर्ने यो दरबारको गेट सर्वाजनिक र ऐतिहासिक मान्यता बोकेकाले सरकारले जीर्णोद्वारमा ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘२०७२ सालको भूकम्पपछि दलिन भत्किन थालेको हो। पानी परेर सबै काठ कुहिसके। जुनसुकै बखतमा अप्रिय घटना हुन सक्छ,’ ४७ वर्षीय तुलाधरले नागरिकसँग भने, ‘ढोकामात्रै पाँच आना जग्गाभित्र बनेको छ। 

हामीलाई सर्वाजनिक वा निजी के हो त्यो थाहा छैन।’ उनले थपे, ‘दलिनका काठ सबै चोरी हुन थालेका छन्। वरिपरिकाले घरमै लगेर समेत राखेको पाइयो। राज्यले दरबारको इतिहासलाई जोगाउनुपर्छ। संरक्षण गर्नुपर्छ। ’पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सेतोदरबारको गेट जीर्णबारे विभागको ध्यानाकर्षण भएको बताउँदै उनले जीर्णोद्वारबारे विभागमा समेत छलफल भइरहेको जनाए।

प्रकाशित: ३० असार २०७८ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App