coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खोला नाला अतिक्रमण गरेर संरचना बनाइँदा धनगढी डुबानमा

पछिल्ला दिनहरूमा सामान्य वर्षा हुँदा पनि धनगढी डुबानमा पर्ने गरेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढी डुबानले मुख्यबजार लगायत बस्तीहरू जलमग्न हुन थालेका छन्।सामान्य वर्षातमा पनि नगरबासीले डुबानको सास्ती झेल्नु परेको हो। घर र पसलभित्र पानी पसेर सामान नष्ट हुनुका साथै स्थानीयले केही दिन विस्थापित हुनुपर्ने अवस्था सिर्जना हुँदै आएको छ।

उत्तरतिरबाट दक्षिततर्फ बग्ने आधा दर्जन खोला र नाला अतिक्रमणका कारण धनगढी डुबानको मुख्य कारण भएको हो। यी खोलानाला अतिक्रमण गरेर संरचना निर्माण भएका कारण खोलाको पानी थुनिएर बस्ती र नगर डुबानमा पर्ने गरेको हो। धनगढी बीच बजार भएर निस्कने कैलाली नालाको ७५ प्रतिशत जमिन अतिक्रमण भएर संरचना भइसकेका छन्। कैलाली पुलको आधा बढी भागमा संरचना बनेका छन्, जसले गर्दा वर्षातको पानी थुनिएर तारानगर, उत्तरबेहडी डुबानमा पर्ने गरेको हो।  

यस्तै पञ्चोदय भएर निस्कने नाला पनि पछिल्लो समयमा अतिक्रमणको चपेटामा परेको छ। सामुदायिक प्रहरी भवनदखि दक्षिणतर्फ त्रिनगर माध्यमिक विद्यालयसम्म नाला अतिक्रमणमा परेको हो। नाला मिचेर ठूलठूला संरचना निर्माण भइसकेका छन्। जिल्ला प्रहरी कार्यालय नजिकै भएर बग्ने नाला पनि वर्षौदेखि अतिक्रमणमा परेको छ। धनगढीकै सेतोपुल नाला अतिक्रमण हुँदा शिवनगर, क्याम्पसरोड, गाउँधनगढी, नवदुर्गाटोल डुबानमा पर्ने गरेको छ। वर्षौअघिसम्म यि क्षेत्रमा डुबान नहुने भए पनि पछिल्ला वर्षहरूमा घरभित्रै पानी पस्न थालेको स्थानीय बताउँछन्।

तीन दसकअघिसम्म खोला रहेको रातो पुलको अहिले नामोनिसाना छैन। ठूलो नाला रहेको रातोपुल नाला अतिक्रमण चपेटामा परेको हो। नाला अतिक्रमण गरेर घर निर्माण गरिएपछि पछिल्लो समयमा रातोपुल, सन्तोषीटोल, बैयाबेहडी,उत्तरबेहडी र रातोपुल क्षेत्र डुबानमा पर्ने गरेको हो।

 बैयाबेहडी क्षेत्र भएर बग्ने रातोपुल नाला अतिक्रमणमा पर्दा सो क्षेत्र वरपरका घरमा पानी पस्ने गरेको छ। ‘हामीले घर बनाउँदा यहाँ पानी पस्दैन थ्यो,’स्थानीय जगत चौधरीले भने,‘अहिले भने सामान्य वर्षात हुँदा पनि नालामा आफ्नो गतिमा पानी बग्न नपाउँदा घरभित्र पस्न थालेको छ।’

घरभित्र पानी पस्नुको मुख्य कारण चौडा रहेको नाला पछिल्लो समयमा अतिक्रमण भएको उनले बताए। अढाई दशक पहिला खोलानाला रहेको जमिन अतिक्रमण गरेर नगरविकास समितिका पदाधिकारी,राजनीतिक दलका केही नेता,नापी र मालपोतका कर्मचारीको संलग्नतामा व्यक्तिका नाममा लालपुर्जा बनाइसकेका छन्। 

नालाको जमिन व्यक्तिले लालपुर्जा बनाइ संरचना निर्माण गरेपछि पछिल्ला दिनमा धनगढी डुबानमा पर्ने गरेको स्थानीय विराज रोस्यारा बताउँछन्। थोरै वर्षाले धनगढी उप–महानगरपालिकाका विभिन्न भू-भाग डुबानमा पर्ने गरेको छ। वर्षाले सबैभन्दा बढी धनगढीको चटकपुर, मिलनचोक,शिवनगर, क्याम्पसरोड,रातोपुल, विशालनगर, उत्तरबेहडी,  तारानगर,एलएनचौक क्षेत्र डुबानमा पर्ने गरेको छ। यी ठाउँमा पानीको सहज निकास नहुँदा डुबान हुने गरेको हो।  

खोला नाला मिचेर संरचना बनाएका कारण धनगढी डुबानमा परेको बताउँदै नागरिक समाजका अगुवा प्रमोद पाठकले भने,‘खोला नाला अतिक्रमण गराएर संरचना बनाउनमा संलग्न व्यक्ति, कर्मचारी,राजनीतिक दलका पदाधिकारी सबै अपराधी हुन्।’उनले यसलाई छानविन गरेर कारबाही गर्नुपर्ने बताए। 

खोला नाला अतिक्रमण गरेर बनाइएको संरचना भत्काइनु पर्ने उनले बताए । यस्तै धनगढीमा निर्माणाधीन ६ लेन सडक अग्लो भएपछि धनगढीको विशालनगर क्षेत्रको पानी बग्न नपाउँदा सो क्षेत्र डुबानमा पर्ने गरेको हो। ६ लेन सडक अग्लो भएकाले होचो स्थानमा पानी जमेर विशालनगर,चौराह पछाडिको भाग,विद्युत क्षेत्र, रिङरोड आपासको बस्ती डुबानमा परेको मोहन जोशीले बताए। उनले भने,‘पहिले सडक होँचो थियो,पानी सडक पार गरेर निकास हुन्थ्यो,अहिले पानी बहावको मार्ग थुनियो र डुबान पर्न थाल्यो।’

धनगढी उपमहानगपालिकाका इन्जिनियर दीजराज भट्टले धनगढी डुबान प्राकृतिक रूपमा पानी बग्ने ठाउँमा घर, सडक निर्माण हुँदा बहाव रोकिएर डुबान पर्ने गरेको बताए। उनले भने, ‘पहिले खेतमा पानी जम्थ्यो,तर अहिले त्यही खेतमा संरचना बन्दा डुबानको समस्या स्वतः निम्तियो।’उनले अल्पकालीन रूपमा खोला नालामा भवन बनाउने तथा मिच्ने गर्नाले डुबानको समस्या बल्झँदै गएको बताए। उनले भने,‘नाला मिचिनुका साथै ढलमा फोहर जम्नु पनि बस्ती डुबानको अर्को कारण हो।’

प्रकाशित: ३० असार २०७८ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App