९ आश्विन २०७८ शनिबार
समाज

सीमामा कल्पनाको रोदनः रोगभन्दा भोकको डर

रोजगारीका लागि भारत जान लागेकी कल्पना । तस्बिरः गणेश/नागरिक

रोजगारीका लागि भारत गएकी सुर्खेतस्थित बांगेशीमलकी ५२ वर्षीया कल्पना धमला गत चैत २६ गते घर फर्किइन्। कोभिड–१९ (कोरोना भाइरस) भारतमा बन्दाबन्दी (लकडाउन) हुँदा उनको रोजगारी गुमेपछि उनी घर फर्किन बाध्य भएकी थिइन्। नेपालमा पनि लकडाउन हुँदा उनी घरबाट बाहिर काममा जान सकिनन्। सरकारले बेलाबेला लगाएको लकडाउन र स्थानीय प्रशासनले गरेको निषेधाज्ञा खुकुलो बनेपछि पनि उनी बेरोजगार बस्नु पर्‍यो। जसले गर्दा कल्पना घरमा बस्दासम्म ५० हजार रूपैयाँ ऋण लाग्यो।

प्रदेश र स्थानीय सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको नीति तथा कार्यक्रम पनि उनीजस्ताहरुका लागि लक्षित भएन। जसका कारण कोरोना भाइरसको जोखिम शून्य नहुँदै जोखिम मोलेर पुनः उनी परिवारसहित रोजगारीका लागि भारत प्रस्थान गरिन्।  

सोमबार बेलुकी पाँच बजे नेपालगन्जस्थित जमुना नाका हुँदै भारत जान लागेकी उनको मुहार हसिलो थिएन। सातजनाको परिवारसहित जमुना पुगेकी उनले आफू रहरले नभइ बाध्यताले भारत जान लागेको बताइन्। ‘घरमा बस्दा उल्टै ऋण लाग्यो,’ उनले भनिन्, ‘काम पाइँदैन। ऋण मात्र निकालेर कति दिनसम्म खाने। त्यसैले रोजगारीका लागि भारत जाँदै छु।’ पत्रकारहरुसँग कुरा गर्दै गर्दा उनका आँखा रसाए।  

आँसु सम्हाल्दै कुरा गर्न खोज्छिन् तर आँखा आँसुले भरिन्छन्। आफ्ना पीडासमेत पोख्न आँसु बाधक बन्यो। ‘कोरोना महामारीका बेला घरमै बस्न मन थियो,’ आँखाभरि आँसु झार्दै उनले भन्छिन्, ‘रोगभन्दा भोकको डरले घर छाडेर हिँड्नु पर्‍यो।’ कल्पनाका आँसुले यस्तो महामारीमा भारत जानेको प्रतिनिधित्व गर्छ। उनीसँगै उनका श्रीमान् नरेन्द्र पनि भारत जाँदै थिए।

नेपालबाट भारत जाने कल्पना एक उदाहरण मात्र हुन्। जमुनाह नाकाबाट दैनिक सयौं नागरिक रोजगारीका लागि भारत प्रस्थान गर्छन्। आफ्नो ज्यानको प्रवाह नगरि परिवार र आफ्नो लालनपालनका लागि उनीहरु रोजगारीका लागि भारत जान बाध्य छन्। जमुनाह नाकाबाट पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण कामका लागि भारत जान्छन्। कोरोना महामारीको सुरुवातसँगै स्वदेश फर्केकाहरु महामारीकै बीच रोजगारीका लागि पुनः भारततिर जानको लर्काे जमुनाह नाकामा दैनिक बढ्दो छ।  

मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था नहुँदा गुजाराका लागि फेरि भारततिरै जान थालेको उनीहरु बताउँछन्। भारतबाट फर्किनेभन्दा बाहिरेनेको संख्या बढ्दै गएको छ। महामारीकै क्रममा महिला, पुरुष, बालबालिका फेरि उतै जान थालेका दृश्य नाकामा देखिन्छन्। स्वदेशमा काम नपाइएपछि महामारीकै बीच भारत जान थालेको दैलेखका करवीर शाहीले बताए। उता लकडाउन भएपछि काम ठप्प भयो।  

महामारी पनि बढ्दै थियो भन्दै उनले भने, ‘स्वदेशमै केही गर्ने भनेर फर्किएँ तर, यहाँ काम पाइएन। फेरि उतै जान बाध्य भएँ।’ आर्थिक संकट पर्न थालेपछि कोरोना महामारीमा पनि भारत जान थालेको दाङस्थित रामपुरका तामबहादुर ओलीले बताए। ‘उता (भारत) बाट कमाएर ल्याएको पैसा सकियो,’ उनी भन्छन्, ‘यहाँ काम पाइँदैन।’

प्रकाशित: २९ असार २०७८ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App