७ वैशाख २०८१ शुक्रबार
समाज

फेरिएनन् धनगढीका सडक

धनगढीको हसनपुरस्थित हिलाम्य सडक । तस्बिरः पुष्पराज/नागरिक

साविकको धनगढीमा पछिल्ला वर्षहरुमा आधुनिक महल ठडिएका छन्। अस्पताल, शिक्षण संस्था थपिएका छन्। जिल्ला सदरमुकाम धनगढी फेरिएर प्रदेशको राजधानी थपिएको छ। धनगढीमा मुख्यमन्त्रीदेखि संसदसम्मको बसोबास हुने आवासगृह बनेका छन्। तर, यहाँको भौतिक संरचनाले फड्को मारे पनि सडकका क्षेत्रमा भने डेढ दसक अघिकै अवस्था छ। वर्षातको समय, उही मौसम र उस्तै सडक। वर्षौदेखि धनगढीवासीले हिलाम्य सडकको यात्रा तय गरिरहनु परेको छ।  

धनगढीको मुख्य बजार क्षेत्र चौराहदेखि क्याम्पस चोक तथा अन्य भित्रि सडक अहिलेसम्म ‘थोत्रा’ छन्। धनगढीको मुख्य बजारको सडक नै ठाउँठाउँमा फुटेको बताउँदै स्थानीय गोपाल भट्ट भन्छन्,‘कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक त करिब १५ वर्षदेखि मर्मत सम्भार नै हुन सकेको छैन।’ करिव डेढ दसकदेखि सडक मर्मत सम्भार नहुँदा थोत्रा सडकमाथि सवारी गुडाउनै मुस्किल भएको उनी बताउँछन्। ‘ठाउँठाउँमा फुटेका सडकमा सवारी साधन गुडाउनै गाह्रो हुने गरेको छ,’ उनले भने,‘पानी पर्दा त झन खाडल भरिएर गाडीको चक्का नै पन्चर हुने डर उत्तिकै हुन्छ।’

धनगढीले शिक्षा, स्वास्थ्य र सहरी क्षेत्रमा विकासको फड्को मारेपनि डेढ दसक अघि कालोपत्रे गरेर थोत्रिएका सडक टालटुल गरेर काम चलिरहेको छ।

धनगढी उपमहानगरपालिकाको मुख्य केन्द्र भनेको एलएनचौक हो। सामान्य वर्षा हुँदा एलएनचौक डुबानमा पर्छ। एलएनचौकदेखि उपमहानगरपालिका एक सय मिटरको दूरीमा पनि छैन। ‘उपमहानगरपालिकाको नाकैमुनि डुबान हुँदा नदेख्ने स्थानीय सरकारले झन गाउँका बाटा के देख्छ होला,’ उनले भने,‘अन्य भौतिक विकास भए पनि बाटाघाट भने उस्तै छन्।’  

मुख्य बजार क्षेत्रको सडक मात्रै नभई साविकको धनगढी नगरपालिकाका १४ वडाका ग्रामिण सडकको अवस्था उस्तै रहेको अर्का स्थानीय भुखाली डगौरा थारु बताउँछन्। ‘गाउँका बाटा अझै खाल्डाखुल्डी नै छन्,’ उनले भने,‘जनप्रतिनिधि आएपछि सडक बन्ला भनेको त अझै बन्न सकेका छैनन्।’ धनगढीका पुराना वडामा उही वर्षौ पहिले कालोपत्रे गरेर भत्केका सडक रहेको बताउँदै उनले भने,‘यसलाई मर्मत सम्भार गर्न तथा नयाँ कालोपत्रे गर्न अहिलेसम्म न त उपमहानगरपालिका कस्सिएको छ, न त प्रदेश सरकार नै।’ 

धनगढी उपमहानगरपालिकाको मुख्य केन्द्र भनेको एलएनचौक हो। सामान्य वर्षा हुँदा एलएनचौक डुबानमा पर्छ। एलएनचौकदेखि उपमहानगरपालिका एक सय मिटरको दूरीमा पनि छैन।

केही ठाउँमा प्रदेश सभा सदस्य तथा उपमहानगरपालिकाले कालोपत्रे सडक बनाए पनि ती सडक ६ महिना पनि नटिकेको बताउँदै धनगढीकै पुष्पराज कौशिकले भने,‘तारानगर र सन्तोषी टोलको बाटो बनाएको ६ महिनापछि टिकेन।’ गुणस्तरहिन सामग्री प्रयोग गर्दा बनाउन खोजेका बाटा पनि नटिकेको बताउँदै उनले भने,‘साविकको धनगढीका पुराना र मूल बाटाहरु जस्ताका तस्तै छन्।’ वर्षौ पुराना सडक मर्मत सम्भार नहुनु र ग्राभेल सडकलाई कालोपत्रे नगरिँदा धनगढी सहरको कुरुपता देखिन थालेको रामनारायण शर्माले बताए।  

नगरको सडक मर्मत तथा निर्माण गर्ने जिम्मा स्थानीय तहकै भएको बताउँदै धनगढी उप–महानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले भने,‘तर, प्राविधिक कारणले गर्दा हामीले साविकको धनगढी नगरपालिकाको सडक मर्मत सम्भार गर्न सकेका छैनौ।’ १४ वटा वडा भएको साविकको धनगढी नगरपालिकाका सडकको अवस्था झन दयनीय हुँदै गएको बताउँदै उनले भने,‘समय समयमा मर्मत त गरेका हौँ, तर पछिल्लो समयमा भने मर्मत सम्भार गर्न सकिएको छैन।’ मर्मत सम्भार गर्न नसक्नुको कारण खोल्दै उनले भने,‘सन् २०१५ मा क्षेत्रीय सहरी विकास आयोजनाको सहयोगमा (आरयूडीपी कार्यक्रम) सम्झौता भएकाले ती सडकमा उपमहानगरपालिकाले हात हालेको छैन।’

विविध कारणवस आरयूडीपी कार्यक्रम समयमै लागू हुन नसक्दा पुराना सडक झनै थोत्रा भएको उनले स्वीकारे। ‘आरयूडीपी कार्यक्रमले धनगढीका १४ वटै वडाका २५ वटा सडकका ४२ किलोमिटर सडक कालोपत्रे गर्ने सहमति गरेको थियो,’ इन्जिनियर भट्टले भने,‘त्यही भएर उपमहानगरपालिकाले यी सडकमा लगानी नगरेको हो।’ ४२ किलोमिटरको योजना विभिन्न कारणले ढिलाई हुँदै अहिले आएर त्यो मध्येको १० किलोमिटर मात्रै कालिका कन्ट्रक्सनसँग बनाउने सम्झौता भएर निर्माणाधीन छ। बाँकी सडकको निर्माण कार्य अघि बढ्न नसकेको उनले स्वीकारे।

प्रकाशित: २८ असार २०७८ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App