coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपाली सेनाको २४ नम्वर बाहिनी परिसरमा वृक्षारोपण

जुम्लास्थित नेपाली सेना २४ नम्वर बाहिनी अड्डा जुम्लाममा विभिन्न जातका बिरुवाको वृक्षारोपण गरिएको छ। स्याउ, मेपल, किम्बु, पिपल, ओखर सल्लो, उत्तिस र धुपीको बिरुवा रोपिएको हो। २४ नम्वर बाहिनी अड्डाका बाहिनीपति सहायकरथी यामबहादुर सापकोटाको नेतृत्वमा वृक्षारोपण गरिएको थियो।  

वृक्षारोपणमा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, डिभिजन वन कार्यालयका प्रतिनिधि, नन्दबक्स गणका गणपति दिवाकर रायमाझी, २४ नम्वर फि.ए., गुल्म, बाहिनी कारखाना, सिग्नल गुल्मका अधिकृत, पदिक तथा अन्य दर्जाहरुको सहभागिता थियो।  

उपस्थित सबैले आफ्नो नेमप्लेट भएको स्थानमा वृक्षारोपण गरेका हुन । कोभिड १९ को मापदण्डको पालना गरेर बाहिनी परिसरमा वृक्षारोपण गरिएको बाहिनीपति सहायकरथी यामबहादुर सापकोटाले जानकारी दिए। स्याउ ३४ वटा, मेपल १० वटा, किम्बु १० वटा, पिपल ५० वटा, ओखर ५० वटा, सल्लो ६० वटा, उत्तिस ४० र धुपीका ४० विरुवा रोपिएको थियो। यसअघि पनि बाहिनीमा स्याउ र अन्यजातका बिरुवा रोपिएको छ।  

बाहिनीपति सापकोटाले पछिल्लो समयमा वनजंगल विनास भइरहेको बेला सेनाले बाहिनीमा वृक्षारोपण गरेर वनजंगलको संरक्षण गर्न सन्देश छरिरहेको बताए। उनले भने,‘हरेक बोटबिरुवा र मानिसबीचको अन्यानोस्रित सम्बन्ध छ। त्यसलै बोटबिरुवालाई माया गरौँ। वनजंगलको संरक्षण गरौँ।यो सन्देश नेपाली सेनाले दिन खोजेको छ।’

वृक्षारोपणसंगै नेपाली सेनासंग नजिक रहेर कोभिड १९ महामारी नियन्त्रणमा विशेष योगदान पुर्‍याउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीलाई कदर पत्र प्रदान गरिएको थियो। यो कदर पत्र उत्तर पश्चिम हेडक्वाटरबाट प्रदान गरिएको थियो। सो अवसरमा बाहिनीपति सापकोटाले कदरपत्र हस्तान्तरण गरेका थिए।  

नेपाली सेनाले जिल्लाको विभिन्न स्थानीय तहमा स्वास्थ्य शिविर सञ्चालन गर्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले साथ दिएको थियो।  

नेपाली सेनाको २४ नम्वर बाहिनी अड्डा बाेटबिरुवामय बनेको छ। यसअघि रोपिएका स्याउ, ओखरका बिरुवाले फल दिन सुरु गरेका छन्। बाहिनी परिसर हरियाली बनेको छ। बाहिनी परिसरमा रोपिएका बिरुवाको संरक्षण गर्न जिम्मेवारी दिइसकेकोले सहजै रुपमा बिरुवा हुर्कने बाहिनीले जनाएको छ।

प्रकाशित: २६ असार २०७८ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App