८ वैशाख २०८१ शनिबार
समाज

लेन्थवर्कर एक सातादेखि अनसनमै

तलब नपाएपछि अनसनमा बसेका लेन्थवर्करहरु । तस्बिरः बिरा/नागरिक

२१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै अनसनमा बसेका बैतडीका लेन्थवर्करहरुको अनसन जारी रहेको छ। अनसन बसेको एक हप्ता भइसक्दा समेत उनीहरुका माग पूरा नहुँदा अनसनमै बसेका हुन्। तलब नदिँदासम्म अनसन जारी रहने उनीहरुले बताएका छन्।  

पाटन–पञ्चेश्वर सडकमा काम गर्दै आएका लेन्थवर्करहरुले तलब नपाएपछि अनसन बसेको लेन्थवर्कर हरिसिंह ठगुन्नाले बताए। सडकमा काम गर्ने मजदुरको रोजीरोटी खोस्ने प्रयास भइरहेकाले अनसनमा बसेको उनी बताउँछन्। 

असार १८ गतेदेखि पाटन बजारनजिककै सडकमा १२ जना लेन्थवर्कर अनसनमा बसिरहेका भए पनि उनीहरुका माग भने पूरा हुन सकेका छैनन्। पाटन–पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि आफूहरु समस्यामा परेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन्। उनले भनिन्, ‘अनसन बसेको यो अवधिमा म आँफै दुई पटक बेहोस भएर अस्पताल पुगिसकेकी छु। हाम्रा माग पूरा नहुँदासम्म हामी अनसन छोड्दैनौं।’ सडक डिभिजन कार्यालय अन्तर्गत सडक हुँदा तलब पाइरहेका लेन्थवर्करहरु प्रदेश सरकारको पूर्वाधार कार्यालयलाई सडक हस्तान्तरण भएपछि तलब पाउन सकेका छैनन्।

अनसन बसेका बेला लेन्थवर्करहरुलाई माग पूरा गर्ने आश्वासन दिने भने कमी छैन। प्रदेश सांसददेखि लिएर संघीय सांसदहरुले समेत माग पूरा गर्ने आश्वासन दिएको पन्तले बताइन्। स्थानीय स्तरमा लेन्थवर्करका समस्या समाधानका लागि सहयोग समिति समेत गठन भएको छ। जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले पनि अनसनमा बसेका लेन्थवर्करहरुसँग वार्ता गरिसकेको छ। तर उनीहरुको समस्या समाधानका लागि खासै निकास निकाल्न नसकिएको भट्टले बताए। उनले भने, ‘हामीले स्थानीय पालिकाहरुसँग पनि छलफल गरेका छौं। प्रदेश सरकारलाई अनसनमा बसेकाहरुको अवस्थाको बारेमा जानकारी गराईसकेका छौं।’

यता पूर्वाधार विकास कार्यालयले भने पाटन–पञ्चेश्वर सडकमा लेन्थवर्कर नरहेको दाबी गर्दै आएको छ। अहिले सडक निर्माण कम्पनीसँग रहेकाले लेन्थवर्कर राख्न नमिल्ने कार्यालयको बताएको छ।

प्रकाशित: २६ असार २०७८ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App