८ वैशाख २०८१ शनिबार
समाज

हमालद्वारा धनगढीमा नि:शुल्क ‘महाप्रस्थान यान’ संचालन

सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा व्यवसायी गोपाल हमालले धनगढीमा नि:शुल्क महाप्रस्थान यान संचालनमा ल्याएका छन्। शवलाई सम्मानजनक तरिकाले आर्यघाटसम्म पुर्‍याउने वाहनलाई हमालले 'महाप्रस्थान यान' नाम राखेका हुन्। शव बोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारलाई सवारीसाधन खोज्न समस्या रहेको थियो। 

शव बोक्न अरुले सवारीसाधन दिन नचाहने र उपयुक्त वाहन नहुँदा शवलाई सम्मानजनक रुपमा आर्यघाटसम्म पुर्‍याउन स्थानीयले भोगिरहेको समस्या देखेपछि ३० लाख लगानीमा महाप्रस्थान यान संचालन गरेको हमालले बताएका छन्। ‘परिवारको सदस्य गुमाएर शोकाकुल रहेका बेला पैसा तिरेर पनि शव बोक्ने साधन पाउन गाह्रो थियो, शव बोक्नका लागि अधिकांशले गाडी दिन मान्दैनन्। जति पैसा तिर्दा पनि सम्मानजनक ढंगले आफ्नो प्रियजनको शव यात्रा गर्न नसक्ने यो अवस्थाले मलाई बेचैन बनायो, ’हमालले भने,‘सम्मानजनक रुपमा आफन्तको शव आर्यघाटसम्म पुर्‍याउन सकुन् भनेर यो महाप्रस्थान यान संचालन गरेको हुँ।’ 

यानभित्र शव राख्ने र क्रियापुत्रि बस्ने छुट्टाछुट्टै क्याविन छ। यानका अगाडि माथितिर फूलमालासहित मृतकको ठूलो साईजको तस्बिर राख्ने बनाइएको छ। यानमा फूलमाला झुण्ड्याउनका लागि हुक राखिएको छ।  

यानले धनगढीको मोहना नदी आर्यघाट, गोदावरी आर्यघाट, खुटिया आर्यघाट, शिवगंगा आर्यघाट र महेन्द्रनगरको महाकाली आर्यघाटसम्म शव पुर्‍याउन संचालन हुने छ। धनगढीमा सामाजिक अगुवा सिद्धराज पनेरुलाई यान संचालनको लागि व्यवस्थापनको जिम्मेवारीसहित चावी हस्तान्तरण गरिएको छ। पनेरुलाई सम्पर्क गरेर सर्वसधारणले आफन्तको शव यात्रा गर्न नि:शुल्क महाप्रस्थान यान प्रयोग गर्न पाउने छन्।

‘मेरो मोबाईल नम्वरमा फोन गर्ने बित्तिकै घरमै नि:शुल्क महाप्रस्थान यान पुग्ने छ’, पनेरुले भने। चालक, ईन्धन लगायत यानको सबै खर्च भने हमालले नै बेहोर्ने छन्। धनगढी उपमहानगरपालिका बासिन्दाका लागि मात्र यो नि:शुल्क यान संचालन ल्याएको उनले बताए।

यसअघि ट्रयाक्टर र ट्रकमा शव आर्यघाटसम्म पुर्‍याउने गरिएको थियो। यो यान संचानल सँगै मृत्यु भएको व्यक्तीको शव यात्रा सम्मान जनक ढंगले हुन पाउने छ । गाडीको अगाडिको भागमा ठूलो तुस्बिर र फूलमालाले सज्जाइएको यानमा राखेर आर्यघाटसम्म शव पुर्‍याउँदा मृत्यु हुने व्यक्तिको अन्तिम बिदाई सम्मानजनक हुने हमालले बताए। 

शव एक ठाउँबाट अर्को ठाउँ लैजान शव वाहन भएपनि सम्मानजनक रुपमा प्रियजनको शव यात्रा गर्ने राम्रो र व्यवस्थित गाडी नभएर सास्ती खेपिरहेको बेला हमालले व्यक्तिगत लगानीमा गरेको यो नयाँ समाजिक कार्यको स्थानीयले प्रशंसा गरेका छन्। ‘महाप्रस्थान यान संचालनमा ल्याएर हमालले महत्वपूर्ण सामाजिक काम गरेका छन्, यो निकै प्रशंसनीय काम हो’, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्तले भने, ‘स्थानीय सबैलाई महाप्रस्थान यान संचालनबाट फाईदा पुग्ने छ।’

फूलमालाले सज्जाइएको यानको अगाडि ठूलो तस्बिर राख्दा सबैले शव यात्रा कस्को हो भनेर थाहा पाउन सक्नेछन्।

प्रकाशित: २६ असार २०७८ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App