६ वैशाख २०८१ बिहीबार
समाज

भत्कियो फेवा सिल्टेसन पोखरी वस्ती जोखिममा

कमसल र गुणस्तरहीन सामानको प्रयोग गरी फेवाताल जोगाउन हर्पन खोलामा बनाइएको सिल्टेसन पोखरी भत्किएको छ। खोलामा आएको बाढीले पोखरी भत्काएर वस्तीतिर सोझिएको छ। ६ घर जोखिममा परेको छन् । दुईसय रोपनी धानखेतमा बाढी पसेको छ।  बुधबार मध्यरातमा परेको पानीले ड्यामको एक छेउ खोलामा आएको बाढीले भत्काईदिएको छ। 

अत्याधिक वर्षासँगै खोलामा आएको बाढीले थुपारेको ढुंगामुढा बालुवा जस्ता सिल्ट पोखरीबाट नझिक्दा र कमसल सामानको प्रयोगले भत्किएको स्थानीयको आरोप र गुनासो छ। खोलाकै बालुवालाई डोजरको बकेटले उठाएर सिमेन्टको मात्रा नमिलाई प्रयोगमा ल्याउँदा कामले पूर्णता पाएपनि गुणस्तरप्रति ध्यान कसैले नदिएको गुनासो स्थानीयले गर्दै आएका थिए। गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विरोध जनाउँदै काम समेत रोक्न दबाबसमेत दिएका थिए।  

फेवातालमा मिसिने खोलाले बगाएर ल्याउने सिल्ट थिग्राउन पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको सहलगानीमा ५ वटा सिल्टेसन पोखरी बनाईएको छ। कमसल सामाग्रीको प्रयोगले फेवातालको आयु लम्ब्याउने नभई झन् घटाउने भन्दै स्थानीय बासिन्दा चिन्तित छन्। फेवातालसँग ड्याम नै फुटेर वस्ती नै बगाउने हो कि भन्ने पिरलो गाँउलेको पहिले देखिनै थियो । जुन अहिले पोखरी भत्किएपछि पिरलो थपिएको छ। खोलो वस्तीतिर सोझिएको छ। खोलो तर्काउन नसकिए बस्तीलाई खोलाले फेवामै मिसाउने सम्भावना छ।  

‘काम सुरु भएदेखि नै गुणस्तरीय सामान प्रयोग गर्न आग्रह गर्‍यौँ। गुणस्तरहीन भयो भन्दै महानगरपालिकालाई सचेत गरायौं । तर गुनासो कसैले सुनेनन् । पोखरी भत्किएपछि त्यसको प्रत्यक्ष असर स्थानीयले भोग्नुपरेको छ,’ पोखरा–२३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले भने, ‘स्थानीय स्रोत र साधनको उपयोगको नाममा गुणस्तरहीन निर्माणले वस्तीलाई जोखिममा पर्‍यो ।’ उनका अनुसार पोखरी निर्माण हुदाँ कमसल बालुवाको प्रयोग गरिएको थियो । ‘स्थानीयले विरोध गरे कसैले सुनेनन् । महानगगर र प्रदेश सरकारसँग हारगुहार गर्‍यौँ। तै पनि सुनिएन । अहिले खोलाले वितण्डा मच्चाएको छ,’ वडाध्यक्ष पराजुलीको भनाइ थियो।  

पोखरी भत्किएपछि खोलो तर्काउन स्थानीयलाई सकस परेको छ। निरन्तर पानी परेको छ। ‘वस्ती जोगाउन खोलो तर्काउनुपर्छ । खोलो तर्काउन वडाको बजेटसँग बजेट छैन्। महानगर र प्रदेशसँगै हारगुहार गर्नुको विकल्प छैन,’ वडाध्यक्ष पराजुलीले भने । उनले वस्ती जोगाउन खोलाको दुवै किनारमा तलैसम्म तटबन्ध बाध्नुपर्ने बताए । दोहोरो तटबन्ध लगाउने हो भने वस्तीमा खोलो पस्न पाउँदैन । उनका अनुसार तत्कालै वस्ती जोगाउन १५/१६ वटा ग्याभिनको लागि तारजाली आएपनि लगाउन सम्भव छैन।  

खड्क, कृष्ण पिके जेभी दाङ घोराहीले पोखरी निर्माण गर्ने जिम्मेवारी पाएको हो। फेवाताल संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यसहित महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको समन्वयमा २८ करोड १६ लाखको पाँचवटा पोखरी निर्माण गरिएका हुन्। निर्माण गरिएको पोखरीमध्ये हर्पन खोलामा ७ करोड ८८ लाख रुपैयाँको लागतमा बनाइएको पोखरी भत्किएको पोखरा महानगरपालिकाका इन्जिनियर विमल आचार्यले बताए। ‘चेक ड्याम बन्नुपर्ने थियो। पिसिसी गरिएको छैन। केवल ढुंगाको जोडाइको गारो मात्रै छ,’ उनले भने, ‘हामीले पनि त्यतिबेलै ल्याब टेष्ट गरेका थियौं । मापदण्ड भित्रै थियो। अर्थात यत्तिको जोडाईले धान्न सक्छ भन्ने थियो । सुपरभिजन गरेका हौं ।’ पानीको सतहसम्म राखिएको ढुंगामाथिबाट सिमेन्ट प्रयोग गरिएको थियो। बेस कंक्रिट त्यतिबेला नै थिएन।  

गत वर्ष पोखरीको मर्मत सम्भार गरिएको थियो। पोखरीमा जम्मा भएको सिल्ट झिक्न ढिलाईले समस्या निम्तिएको उनको भनाई थियो। ‘गतवर्ष मर्मत हुदाँ सिल्ट कलेक्ट भएको थिएन। अहिले ढुंगा,बालुवा र माटो बढी थिग्रियो। त्यसको प्रेसर ड्याममा पर्‍यो । थेग्न नसक्दा फुट्यो।’ उनले भने, ‘पूरै सिल्ट झिक्न नसकेको कारणले क्षति हुन पुग्यो।’ पोखरी खोलाको सतहभन्दा दुई फिट तल गहिराईबाट जग उठाइएको उनले जानकारी दिए। पोखरी चार मिटर अग्लो १ सय मिटर लम्बाइ र १ सय मिटर चौडाइको थियो । तालको सिरान घाँटीछिना, अँधेरी खोला, लौरुक खोला र बेतनी खोलामा ड्याम बनाइएको छ। महानगरकै तथ्यांकअनुसार खोलाहरूबाट वार्षिक १ लाख २२ हजार घनमिटर सिल्ट तालमा जम्मा हुने गरेको छ।  

फेवाताल संरक्षण गर्न बनाईएको पोखरीबाट जम्मा भएको सिल्ट झिक्ने र व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाले फेवा सिल्टेसन प्रालिलाई दिएको छ। जिम्मेवारीसँगै प्रालिले पोखरीबाट सिल्ट झिक्न सुरु गरेको थियो । महानगरसँग प्रालिले जेठ १७ गते सम्झौता गरेको थियो। ‘पोखरीबाट सिल्ट झिकेर हामीले दुई ठाँउमा डम्पिङ गरेका छौं। पोखरी भरिएर भत्किएको होईन्। गुणस्तरहीन र कमसल सामानको प्रयोगले भत्किएको प्रष्टै देखिन्छ,’ फेवा सिल्टेसन प्रालिका निर्देशक शिव अधिकारीले बता। उनका अनुसार प्रालिले दैनिकजसो नै सिल्ट झिकेर व्यवस्थापन गरिएको छ। ‘गुणस्तरीय नहुदाँ बाँध भत्कियो त्यसको दोष थुप्रिएको  सिल्ट नझिकेर भन्ने सरासर गलत हो,’ उनको भनाइ छ।  

प्रकाशित: २५ असार २०७८ ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App