७ वैशाख २०८१ शुक्रबार
समाज

पश्चिम डायरीः पाँचको मृत्यु, ११ जना घाइते

पहिरोले पाल्पामा पाँच घर पुरिए, दुईजनाको मृत्यु सातजना घाइते

लगातारको वर्षापछि आएकाे पहिरोले घर बगाउँदा पाल्पामा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। तिनाउ गाउँपालिका–५, गिट्टीखानीमा पहिरो जाँदा ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ वर्षीय आरोप परियारको मृत्यु भएको हो।

गिट्टीखानीस्थित सिद्धार्थ राजमार्गको छेउमा माथिबाट पहिराे आउँदा बिहीबार बिहान पाँच घर पुरिएका थिए। ७५ वर्षीया सुन्दरी गुरुङ, २६ वर्षीय रमेश परियार, २४ वर्षीया पूजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिलबहादुर राना र १५ वर्षीय दिपेश पुन घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर ट्वाटीले जानकारी दिए। उनका अनुसार सुन्दरीको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ। घाइते भएका सबैको उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

बाँके र दाङमा दुईजना पक्राउ

बाँकेस्थित नेपालगन्ज उपमहानगरपालिका–१९ फुटाहस्थित हातहतियारसहित एकजना व्यक्ति पक्राउ परेका छन्। सोही उपमहानगरपालिका–१२ घर भइ हाल पुरैना बस्ने ३१ वर्षीय अजिज अहमद शेष पक्राउ परेका हुन्।

पुरैनाबाट साइकल चढेर राँझातर्फ जाँदै गर्दा प्रहरीले शंकास्पद मानी छानबिन गरेको थियो। उनको साथबाट अटोमेटिक पेस्तोल एक थान भेटिएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ। त्यस्तै दाङमा पनि प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार दंगीसरण गाउँपालिका–२ का २४ वर्षीय मेघराज पुनमगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।  

अवैध घरेलु हतिहार भरुवा बन्दुक लिइ तिलकन्या सामुदायिक वनमा सिकार खेल्न हिँडिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीको संयुक्त प्रहरी टोली खटीगइ खोजतलास गरेको थियो। सामुदायिक वनको ड्वाङड्वाङे चौरमा पुन मगरले घरेलु हरियार भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थमा फेला पारेको दाङ प्रहरीको भनाइ छ।

जुवाखेलि रहेको अवस्थामा पाँच जना पक्राउ

दाङ प्रहरीले जुवा खेलिरहेका पाँचजनालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–१० गैरीगाउँबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

तुलसीपुर उपमहानगरपालिकाका ३७ वर्षीय खडकबहादुर वली, ३४ वर्षीय शरण श्रेष्ठ, ४१ वर्षीय मिन केतन गिरी, घोराही उपमहानगरपालिकाका ४१ वर्षीय विनौद खाती र ३२ वर्षीय छबि गिरी प्रक्राउ परेका प्रहरीले जनाएको छ। उनीहरुको साथबाट एक लाख ४७ हजार एक सय २५ रूपैयाँ र एक गड्डी तास पनि बरामद गरेको प्रहरीले जनाएको छ।  

भन्सार छली गरेका सामान बरामद

अवैधरुपमा भन्साल छली चोरीपैठारी गरी ल्याएका सामान बरामद गरेको छ। कञ्चनपुर भीमदत्त नगरपालिका–४ पुरानो बसपार्क र पुनर्वास नगरपालिका–२ दशरथ बस्तीबाट उक्त सामान बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पुरानो बसपार्कस्थित भारतबाट भन्सार छली ल्याएका घोती, साडी, गम्छालगायतका कपडा प्रहरीले पक्राउ गरेको हो। अन्दाजी ४३ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको प्रहरीको भनाइ छ। कन्चनपुर पुनर्वास नगरपालिका–२ दशरथ बस्तीस्थित भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याएका सुपरपावर सुर्ति र कालो रङको बुलेट मोटरसाइकल एक थान बरामद गरेको छ। एक लाख ५८ हजार मूल्य बराबरका सामान भएको प्रहरीले जनाएको छ। 

ट्रकको ठक्करले एकजनाको मृत्यु

सडकको छेउमा काम गरिरहेका एकजनालाई मिनी ट्रकले ठक्कर दिँदा दैलेखमा एकजनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका–६ तोलीपानीका १७ वर्षीय यज्ञबहादुर घर्तीको मृत्यु भएको हो।

दुल्लु नगरपालिका–२ कुवाखोलास्थित कर्णाली राजमार्गमा काम गरिरहेका उनलाई सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे१ख २३९७ नम्बरको मिनी ट्रकले ठक्कर दिएको हो। प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो। मिनी ट्रकको ब्रेक फेल हुँदा उनलाई ठक्कर दिएको बताइएको छ। 

कालीकोटका एकको मृत्यु चारजना घाइते

कालीकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएका छ भने चारजना घाइते भएका छन्। आरोलोमा जिप अनियन्त्रित भइ दुर्घटना हुँदा रास्कोट नगरपालिका–३ की ३६ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो।

कालापानीस्थित रास्कोटबाट लालीघाटतर्फ आउँदै क१ज २३ नम्बरको जिप ओरालोमा अनियन्त्रित भइ सडकको भित्तातर्फ नालाको पल्टिन गएको थियो। २७ वर्षीय चक्रनाथ योगी, ४७ वर्षीय कविराज न्यौपाने, ४० वर्षीय ध्वजबहादुर शाही र ३५ वर्षीया मैना शाही घाइते भएका छन्। उनीहरुको हात, खुट्टा, कम्मरलगायतमा चोटपटक लागेको छ।  

चोरीका काठ बरामद

बुधबार राति सुर्खेतस्थित भेरीगंगा नगरपालिका–६ भाजखोलामा रहेको चन्द्र सामुदायिक वनमा लुकाइछिपाई राखेको काठ प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट खरिएको प्रहरीले सामुदायिक वनका अध्यक्ष ५५ वर्षीय कर्णबहादुर राडी र १०३.३८ क्यूफिट काठसहित नियन्त्रणमा लिएको हो।

सडक दुर्घटनामा एकको मृत्यु

पाल्पास्थित तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा चुनढुंगा लोड गरेको टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा पूर्वखाला गाउँपालिका–५ बिरकोटका २६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो।

टिप्पुर दुर्घटनामा घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।

प्रकाशित: २४ असार २०७८ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App