८ वैशाख २०८१ शनिबार
समाज

पोखराको वर्षाः नौ घण्टामा २५८ मिलिमिटर

छोटो समयमा अधिक वर्षाः विज्ञ

जर्बजस्ती बाढीमा हेलिँदा क्षति

बाढीले पर्वतमा पु¥याएको क्षति । तस्बिरः नागरिक

पोखरामा छोटो समयमा भीषण वर्षा हुने हुँदा यहाँ सधैं र सबैतिर अस्तव्यस्त हुने गरेको छ । पछिल्ला केहीदिनमा रातको समयमा यहाँ भीषण वर्षा हुँदै आएको छ । मंगलबार बेलुकी यहाँ भारी वर्षा भएको थियो । छोटो समयमा भारी वर्षा हुँदा केही क्षेत्र डुबानमा समेत परेका छन ।  

जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयका प्रमुख सागर मिश्रका अनुसार पोखरामा मंगलबार बेलुकी ६ देखि बुधबार बिहान ३ बजेसम्म वर्षा भएको थियो । करिब नौ घण्टामा यहाँ २५८ मिलिमिटर वर्षा भएको थियो । मौसमविद्ले छोटो समयमा भएको यो अधिक वर्षा भएको बताए । कार्यालयले २४ घण्टाको रेकर्ड राखेपनि मंगलबार बेलुकी ६ बजेदेखि बुधबार बिहान ३ बजेसम्म मात्र पोखरामा पानी परेको थियो ।

‘छोटो समयमा परेको यो अधिक वर्षा हो । छोटो समयमा धेरै वर्षा हुँदा बाढीपहिरोको क्षतिको त्रास हुन्छ,’ उनले भने, ‘भिरालो ठाउँमा पहिरो निम्त्याउँछ ।’ गण्डकी प्रदेशमा अझै केहीदिन भीषण वर्षा हुने र नारायणी बेसीनको जलाधार क्षेत्रमा खोलाको वहाव बढ्नसक्ने सम्भावना रहेको उनले बताए । ‘एकघण्टामा ६० मिमि भन्दा बढी हुनुलाई बढी मानिन्छ,’ उनले भने, ‘यो वर्ष मनसुनमा औषत भन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । छोटो समयमा वर्षा हुँदा क्षति पुग्न सक्छ ।’ मंगलबार बेलुकी चट्याङ सहित भीषण वर्षा हुँदा पोखरेली समेत त्रसित बनेको उनले बताए ।  

कार्यालयका अनुसार यसअघि २०१० जुलाई २२ मा पोखरामा एकैदिन २६२ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि पोखरामा सबैभन्दा बढी २००१ अगष्ट १८ मा एकैदिन सबैभन्दा बढी ३५७ मिलिमिटर वर्षा भएको थियो । त्यो नै अहिलेसम्म एकैदिनको अधिक वर्षा हो । २०१३ जुलाई २२ मा पोखरामा २२३, २०१४ अगष्ट २० मा २१८, २०१५ जुलाई १६ मा २२४, २०१६ जुलाई २६ मा २२३ मिलिमिटर वर्षा पोखरामा भएको थियो । यसअघि पोखरामा जुलाई ४ मा २०३ मिलिमिटर वर्षा भएको थियो ।

भूगर्वविद श्रीकमल द्विवेदी पोखरामा भएको वर्षालाई भीषण भन्न सकिने बताउँछन् । यस्तो वर्षाले सतही पहिरो निम्त्याउने जोखिम रहेको उनले बताए । असारको सुरुदेखि नै पानी पर्दा जमिन गलेर कमजोर भईसकेकोले यस्तो अवस्थामा जमिनले पानी सोस्ने भन्दा पनि सतहमा बढी बग्ने उनले बताए । यसै वर्षाका कारण पछिल्लो समय जथाभावि खनिएको मोटरबाटोमा पहिरो झर्ने गरेको उनले बताए ।

‘पोखरामा निरन्तर रुपमा भीषण वर्षा हुने भएकोले पनि छोटो समयमा २५८ मिलिमिटर वर्षा हँदा क्षति कम भएको छ,’ उनले भने, ‘सधैंजसो भीषण वर्षा हुने भइरहने हुँदा सामान्य जस्तै बन्दै गएको छ ।’ बजारभित्रको नालामा समेत नअट्ने गरि पानीले बाढी निम्त्याउने उनले बताए । यस्तै मंगलबारको वर्षाले पर्वतमा पनि क्षति पु¥याएको छ । पर्वतमा पनि छोटो समयमा ८० मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालयले बताएको छ । पर्वत सदरमुकाम कुश्माको मापन अनुसार मंगलबार बेलुकी १० बजेपछि वर्षा हुँदा केही घण्टाको अवधिमा ८० मिलिमिटर वर्षा भएको थियो । त्यही वर्षाले खहरेमा बाढी निम्त्याउँदा क्षति भएको छ ।  

जर्बजस्ती बाढीमा हेलिनु मुर्खता  

सुरक्षामा खेलाँची गर्दा बाढीपहिरोबाट मानवीय क्षति हुने गरेको छ । पर्वतमा मंगलबार राती दुईजना सवार गाडी सिधै खहरेमा परेर बगेको छ । त्यो खहरेमा परेर एकजना प्राविधिक र चालक बेपत्ता छन् । खहरेको आँकलन गर्न नसक्दा उनीहरु गाडीसहित बगेको प्रहरीको भनाई छ ।

पर्वतका डिएसपी शिवराज बुढाथोकी भन्छन, ‘खोलाले गाडीसहित उनीहरुलाई बगाएर झन्डै डेढ किलोमिटर तलको मोदी खोलामा पु¥याएको छ । बाढीको आँकलन गर्न नसक्दा उनीहरु सवार गाडी नै खहरेमा बगेको छ,’ उनले भने, ‘भीषण वर्षा हुँदा खहरेमा बाढी निम्तियो । बाढीको आँकलन नगरि उनीहरुले गाडी खोलामा हुलेका कारण घटना भएको हुनसक्छ ।’  

भूगर्वविद द्विवेदी अब बाढीपहिरोको बेला हिडडुल गर्ने बारे सुरक्षाको प्रोटोकल बपनाउनुपर्ने बताउँछन । ‘गाडी र मान्छे बाढी र भेलको ख्याल नगरी हेलिनु हुँदैनथ्यो । रातीको समयमा ख्याल नगरी बाढीमा छिर्नु हुँदैन । गाडी हुल्नु नै गल्ती भयो ।’ पानीको वहाव नै थाहा नभएको अवस्थामा बाढीमा जर्बजस्ती हेलिनु जोखिमपूर्ण भएको उनले बताए ।  

‘कतिपय मान्छेले खोला र खहरे तर्न सक्छु भनेर हेलचेक्रयाँइ गरिरहेका हुन्छन । भेल आएको बेला खहरे उर्लेको बेलामा लेदो सहितको भेलमा पस्नु मुर्खता हो,’ उनले भने, ‘केहीबेर पर्खन नसक्दा क्षति हुने गरेको छ । पर्वतमा रातीको समयमा बाढीमा हिडडुल गर्नुको साटो केहीबेर पर्खेर बसेको भए क्षति नहुनसक्थ्यो ।’ बाढीमा जर्बजस्ती हेलिँदा बगाउने जोखिम भएकोले देख्दादेख्दै पनि अरुले जोगाउन नसक्ने उनले बताए ।

प्रकाशित: २३ असार २०७८ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App