७ वैशाख २०८१ शुक्रबार
समाज

पवर्तमा बाढीले बगाएको गाडी भेटियो, मान्छे भेटिएनन्

बाढीले पर्वतमा पुर्‍याएको क्षति। तस्बिरः नागरिक

काम सकेर आवासमा फर्किने क्रममा पर्वतमा खहरे खोलाको बाढीले गाडी बगाउँदा सवार दुईजना बेपत्ता भएका छन् । गाडी भने खोलाको भंगालोमा अड्किएको अवस्थामा फेला परेको छ। गाडीमा सवार प्राविधिक र चालक भने फेला परेका छैनन्।  

पर्वतका डिएसपी शिवराज बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनि लामा कन्स्ट्रक्सनका प्राविधिक राजाराम आचार्य र चालक इन्द्र थारु बेपत्ता भएका हुन्। उनीहरु सवार गाडी भने मोदी खोलाको ढुंगाको खोँचमा अड्किएको अवस्थामा फेला परेको छ। तर, नदीमा वहाव अधिक भएकोले गाडी बाहिर निकाल्न सकिएको छैन।  

बुढाथोकीका अनुसार उनीहरु काम सकेर राती ११ बजेतिर सदरमुकाम कुश्माबाट आवास क्षेत्र डिमुवा फर्किने क्रममा कुश्मा नगरपालिका–८ दोबिल्लाको खहरे खोलामा परेका थिए । खोलाले गाडीसहित उनीहरुलाई बगाएर झन्डै डेढ किलोमिटर तलको मोदी खोलामा पुर्‍याएको डिएसपी बुढाथोकीले बताए।  

‘मोदीको वहाव नघटेसम्म गाडी निकाल्न सक्ने अवस्था छैन। खोँचमा गाडी अड्किएको छ,’ उनले भने, ‘बेपत्ता भएका चालक र प्राविधिक गाडीभित्रै छन् वा बाहिर बगे भन्ने यकिन भन्न सकिन्न।’ खोँचमा वहाव बढी भएकोले पनि गाडी निकाल्न कठिन भइरहेको उनले बताए।  

उक्त क्षेत्रमा राती १० बजेपछि पानी पर्न थालेको थियो । तर ११ बजेतिर फर्किदै गर्दा माथिबाट आएको खहरेले गाडसहित बगाएको उनले बताए । ‘रातीको समयमा गाडी पार गराउने प्रयास गर्दा दुर्घटना भएको हुनसक्छ। रातीमा भेलको आँकलन गर्न नसक्दा दुर्घटना भएको हाम्रो अनुमान छ,’ उनले भने। उनका अनुसार अहिले लोकमार्गको डिमुवादेखि सदरमुकाम कुश्मासम्मको सडक खण्ड पनि क्षतविक्षत भएको छ। भीषण वर्षापछिको खहरेले क्षति गरेको उनले बताए। बाढीले आसपासका घरमा पनि क्षति पुर्‍याएको उनले बताए।

प्रकाशित: २३ असार २०७८ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App