८ वैशाख २०८१ शनिबार
समाज

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास भएको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भर्चुअल सिलान्यास गरेसँगै सप्तरीसहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनतामा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भरोसा पलाएको छ।  

सप्तरीको राजविराज नगरपालिका–१० विरौलमा निर्माण हुने रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल प्रविधिबाट मंगलबार शिलान्यास गर्दे प्रधानमन्त्री ओलीले यो प्रतिष्ठान सप्तरीमा आजसम्मको विकास परियोजना मध्ये सर्वाधिक ठूलो परियोजना भएको बताए। प्रतिष्ठानको स्थापनासँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तीव्र हुने बताए।

उनले तोकिएको समयमै प्रतिष्ठानको काम सक्ने समेत जिकिर गरे। २०७५ साल पुस १६ गतेको मन्त्रिपरिषद्ले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो। तर जग्गाबारे मन्त्रिपरिषद्बाट निर्णय हुन नसक्दा काम अघि बढन सकेको थिएन। गत जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले राजविराज नगरपालिकाले वडा नम्बर १० मा ६२ बिगहा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेसँगै प्रतिष्ठानको शिलान्यास भएको हो।

प्रधानमन्त्री ओलीले सुनकोसी मरिन डाइभर्सन र पूर्वी क्षेत्रका लागि सुनकोसी कमला डाइभर्सन निर्माण गरी सिचाइँ सुविधा पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन्। ‘सुनकोसी मरिन डाइभर्सनले सप्तरीमा मात्र नभई मधेसमा समृद्धिका आयाम थप गर्नेछ,’ उनले भने। उनले उत्तर दक्षिण रेलमार्गसँगै चाँडै बर्दिवाससम्म रेल पुर्‍याउने उल्लेख गर्दै केही दिनभित्रै रेल सेवा सञ्चालन हुने प्रतिबद्धता जनाए। पूर्व–पश्चिम रेलमार्गको निर्माण कार्य पनि चाँडै अघि बढ्ने बताउँदै रेलमार्गको तयारी भइरहेको बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रममा परेर दिशाहिन हुनुभन्दा विकासको गति अगाडि बढाउन सबैको योगदान हुनुपर्ने बताए। उनले अब एक ठाउँको मात्र नभएर हिमाल,पहाड र तराई पूर्व–पश्चिम सबैतिर विकास हुनुपर्ने बताए। उनले भने, ‘सबै जातजाति, भाषाभाषीका जनताका लागि उनीहरूको विकास उन्नति र समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्छ।’ थुप्रै ऐतिहासिक महत्व बोकेको सप्तरी अब उप्रान्त पछाडि परेको जिल्लाका रुपमा नरहने जिकिर गर्दै उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको कुरा अघि बढाएको बताए। प्रदेश २ को राजनीतिक समीकरणतर्फ संकेत गर्दै प्रधानमन्त्रीले राजनीतिक विचार आ–आफ्ना हुने भए पनि एक अर्काप्रति सहिष्णु हुँदै जनताका साझा समस्याको मिलेर समाधान गर्नुपर्ने पनि बताए।

सप्तरीका जनतालाई कुनै पनि किसिमको साम्प्रदायिक वा क्षेत्रीय भावना लिएर बेमेलको भाव नराख्न आग्रह प्रधानमन्त्रीको आग्रह थियो। हामी बीचमा रहेका विविधता सम्पत्ती भएकोले त्यसलाई मनमुटाव वा द्वन्द्वको विषय नबनाउन पनि उनले आग्रह गरे। कूल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र समपन्न हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिले जनाएको छ।

प्रकाशित: २३ असार २०७८ ०२:१२ बुधबार

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास