८ वैशाख २०८१ शनिबार
समाज

कृत्रिम बौद्धिकताले नोबेल पुरस्कार जित्यो भने !

सम्पादकीय नोटमा प्रसिद्ध साप्ताहिक इकोनोमिस्टले यसो भएमा के होला भन्ने शृंखलाअन्तर्गत यस वर्ष स्वास्थ्य क्षेत्रको भविष्यका विभिन्न सम्भावनालाई आँकलन गरेको छ। यस्ता हरेक समाचार आख्यान भए पनि यी ऐतिहासिक तथ्य, वर्तमान आँकलन र वास्तविक विज्ञानमा आधारित छन्। यस्ता आँकलन एकीकृत आख्यान नभए पनि तिनले विभिन्न सम्भावना उजागर गरेका छन्। र, प्रस्तुत आलेखले पनि डेढ दशकपछिको अथार्त् सन् २०३६ को संभावित परिदृश्यलाई आकंलन गरेको हो।  

मेडिकल रिसर्चको सबैभन्दा ठूलो पुरस्कार कृत्रिम मानवलाई दिने निर्णय भएपछि विवाद सिर्जना भएको छ। यो स्थिति सिर्जना होला भनेर नोबेल पुरस्कार छनोट समितिले कमै आसा गरेको थियो। स्कटहोमको कन्सर्ट हलमा नोबेल पुरस्कार विजेताले आआफ्नो सिटमा बस्दैगर्दा हलबाहिरको सडकमा थिए– पूर्वनोबेल पुरस्कार विजेतासहित दर्जनौं प्रदर्शनकारी। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेड पनि भयो। छनोट समितिले अनपेक्षित हिसाबले मेडिसिनका लागि यस वर्षको नोबेल पुरस्कार कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्सलाई दिएको विरोधमा पूर्वनोबेल पुरस्कार विजेतासहित सडकमा उत्रिएका थिए।

पुरस्कार घोषणा गर्दा समितिले युल्या अर्थात् सिस्टम फर अटोमेटेड लिम्फोमा डायगोनोसिस उपनाम दिइएको मेसिन लर्निङ प्रणालीले प्रतिरक्षा प्रणालीलाई प्रतिरोध गर्न सक्ने ब्याक्टेरियाविरुद्ध लड्न सहयोग गर्ने एन्टिबायोटिक्सहरू पत्ता लगाएको घोषणा गरेको थियो। एन्टिबायोटिक्स सम्मिश्रणले मिलेर काम गर्दा लिम्फोमा क्यान्सरको जोखिम समयमै पत्ता लाग्न सक्ने भनिएको थियो। यो विधि पत्ता लागेको १८ महिनामा एन्टिबायोटिक्सको असफलताका कारण हुने ४० लाख मृत्युलाई रोकेको समितिले जनाएको छ। एन्टिबायोटिक्सको असफलताका कारण हरेक वर्ष २५ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको सन्दर्भमा यो आविस्कारले संक्रमणको प्रत्यक्ष उपचार व एन्टिबायोटिक्स प्रयोग गरेर गरिने सिजरियन सेक्सन अपरेसनलगायतका विभिन्न सर्जिकल अपरेसन पुनः सुरु गर्न सकिने अवस्था सिर्जना गरेर लाखौं मृत्यलाई टारेको मानिएको छ।

सन् २०२० देखि २०२२ सम्मको कोरोना महामारीपछिको सबैभन्दा ठूलो जनस्वास्थ्य संकटलाई टार्न सफल यो विधि आविस्कार गर्ने मानव अथवा मेसिनले नोबेल पुरस्कार पाउनु अनौठो थिएन। तर समितिको यो निर्णयले ठूलो विवाद सिर्जना गरेको छ। नोबेल फाउन्डेसनले यसअघि मानवमात्रले यो पुरस्कार जित्ने भन्दै आएको थियो। पुरस्कार छनोट समितिको जनसांख्यिक बनावटमा पनि यसपटक परिवर्तन भएको छ। समितिका ५ मध्ये २ सदस्यको बयाक्टेरिया संक्रमणका कारण मृत्यु भएपछि सो स्थानमा २ युवा निर्वाचित भएका छन्। यी दुवै युवकले आफ्नो पिएचडीको सोधकार्यमा मेसिन लर्निङ सिस्टमको प्रयोग गरेका थिए।

सुरुमा युल्यालाई क्यान्सरको प्रभावकारी उपचारलगायत अन्य समस्या निदानमा प्रयोग गरिएको थियो। प्रविधिको नवीन पुस्तालाई प्रतिनिधित्व गर्ने यो विधिले बिरामीको डाटावेसको आफैंले अध्ययन गरेर, रोगसम्बन्धी विभिन्न जर्नलमा प्रकाशित सोधहरूको समीक्षा गरेर एवं औषधि कम्पनीका तथ्यांक हेरेर रोगका लक्षण कसरी विकसित हुन्छन् भन्ने आँकलन गरेर समयमै उपचार गर्न सहयोग पुर्‍याएको छ। यसैगरी यो विधिले विभिन्न उपचार विधिको प्रभावकारिताको समीक्षा गरेर सही उपचारको सुझावसमेत दिन सक्छ।

सन् २०३४ मा सफ्टवेयरलाई अद्यावधिक गर्ने क्रममा संयोगवस यो विधिले मेडिकल जर्नलका प्रकाशित क्यान्सरबाहेकका अन्य वैज्ञानिक आलेखमा समेत आफ्नो पहुँच स्थापना गरेको थियो। त्यसपछि यसको प्राथमिकतामा परिवर्तन भएको थियो। युल्याले त्यसपछि एन्टिबायोटिक्सलाई प्रतिरोध गर्ने विषयका तथ्यांकलाई सूक्ष्मरूपमा समीक्षा थालेको थियो। एन्टिबायोटिक्सलाई प्रतिरोध गर्ने समस्या विश्वमा जटिल बन्दै गएपछि मेडिकल जर्नलमा यो विषयमा धेरै अध्ययन प्रकाशित भएका थिए।

सुरुमा यसले सम्बन्धित विषयका थप तथ्यांक माग गरी उपचारका नयाँ विधि सिफारिस गरेको थियो तर त्यो विधि क्यान्सरसँग सम्बन्धित थिएन। त्यसपछि युल्याका अपरेटरले के भएको हो भनेर पत्ता लगाएका थिए। वास्तवमा युल्याले आफ्नो तार्किक क्षमताको सहयोगमा प्रयोग गर्न सकिने नयाँ अवधारणालाई सुझाएको थियो। यसले भविष्यमा हुन सक्ने अन्य जोखिमलाई समेत दिशा निर्देश गरेको थियो। युल्याले नयाँ अवधारणालाई प्रमाणित गर्न निश्चित तथ्यांकलाई महŒव दिएको थियो भने तथ्यांक कसरी संकलन गर्ने भनेर निर्दिष्ट निर्देशिका समेत सुझाएको थियो। ‘यो विधिले अनुसन्धानलाई सम्पूर्णता दिएको छ,’ युल्याकी एक सर्जकसमेत रहेकी डा. अनिशा राईले भनिन्।

कम अपवादका परिस्थितिमाबाहेक यस्ता परीक्षणका लागि अनुमति नै दिइने थिएन। कतिपय दातृ निकायले वैज्ञानिकलाई सहयोग गर्दा कृत्रिम बौद्धिकता प्रणालीसम्बन्धी सोधकार्यले खतरनाक नतिजा नदेओस् भन्ने सुनिश्चतता खोज्छन्। डा. राई र उनको टोलीले युल्याका लागि आर्थिक सहयोग लिँदा सोधकार्यले कुनै अवधारणाको सिफारिसमात्र गर्ने भनेर मूल उद्देश्यलाई ओझेलमा राखेका थिए। सोधकार्यले नतिजा दिएपछि मात्र युल्याको सुरुको प्रस्तावलाई सार्वजनिक गरिएको थियो।

यसले गर्दा यो नयाँ आविस्कारको श्रेय युल्यालाई दिने अथवा युल्याका सर्जकलाई दिने भन्ने विषयमा तातो बहस सुरु भएको छ। डा.राई यो श्रेय युल्यालाई दिनुपर्ने तर्क गर्छिन्। उनको यही अडानले सोधकार्यका कतिपय सदस्यले विगतमा अनुसन्धान नै छाडेका थिए। उनले युल्यातर्फबाट स्विडेनकी महारानीद्वारा प्रदान गरिने पुरस्कार ग्रहण गर्न स्टकहोम उपस्थित हुन गरिएको निमन्त्रणासमेत अस्वीकार गरेकी थिइन्। ‘यो मेरो पुरस्का होइन,’ उनले भनेकी थिइन्।

सामान्यतया स्मरण शक्ति ह्रास हुने अल्जाइमर जस्तो रोगको सम्भावनाको पूर्वसूचना लिन कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरिन्छ। जसले बिरामीको उपचार र रोग निदानमा सहयोग पुग्छ। यसैगरी एआईको प्रयोगले औषधि कम्पनीले सम्बन्धित औषधिका तथ्यांकमा व्यापक पहुँच स्थापना गरिसकेका छन्। सन् २०२० मा मासाच्युट्स इन्स्टिच्युट अफ विकास गरेको एल्गोरिथमले नयाँ एन्टिबायोटिक पहिचान गर्दा समाचार शीर्षक बनेको थियो। ‘२००१, अ स्पेस ओडेसी’ नामक चलचित्रमा उल्लेख गरिएको ‘हालिसिन’ कम्प्युटरको नाममा नामांकन गरिएको यो एन्टिबायोटिकले शरीरको प्रतिरक्षा प्रणालीलाई निस्तेज पार्ने ब्याक्टेरियालाई सीमित हिसाबले निस्तेज पार्न सहयोग गरेको थियो। ‘अनुषंगी (एन्सिलरी) जोखिमले हालिसिनलाई होमियोप्याथिक उपचार जस्तो बनाएको छ,’ व्युनसआयर्समा रहेको होसे इन्स्टिच्युटकी अनुसन्धानकर्ता उना सिन्टिफिकाले भनिन्।

त्यसो हुँदाहँुदै पनि नोबेल कमिटीले युल्यालाई ‘आविस्कार’ भनेर उल्लेख गर्दा कतिपयले यसलाई एक चतुर उपकरणभन्दा बढी मान्न नसकिने भन्दै रोष प्रकट गरेका छन्। ‘कृत्रिम बौद्धिकताले आविस्कार गर्न सक्छ भनेर मान्न सकिँदैन,’ प्रागस्थित युरोपियन रोबोटिक्स इन्स्टिच्युटका हार्स क्रिटिक भन्छन्। उनले औषधिको डिजाइन गर्दा यससम्बन्धी तथ्यांकको समीक्षा गर्ने भएकाले एआई उपयोगी हुने तर यिनले नयाँ कुराको आविस्कार गर्छन् भन्नु गलत भएको बताए।  

सही अथवा गलत हिसाब जे भए पनि नोबेल पुरस्कार जित्नेमा युल्या अन्तिम नहुने देखिएको छ। नोबेल फाउन्डेसन सम्बद्ध स्रोतले रसायनशास्त्र र भौतिक विज्ञानका लागि नोबेल पुरस्कारका लागि पनि एआईलाई नामांकन गरेको छ। ब्याट्री बनाउन चाहिने योगिकको चयन गर्ने, सोलार प्यानल तथा कार्बन क्याप्चर गर्ने मेम्ब्रेन बनाउँदा चाहिने सामग्रीको खोजीमा पनि एआई उपयोगी मानिएको छ। स्टकहोममा यो साता देखिएको अराजकतासँगै एआईले नोबेल शान्ति पुरस्कार पाउने सम्भावना भने न्यून देखिएको छ।  

(यो आलेख सन् २०३६ को सम्भावित परिदृष्यमा आधारित छ)

प्रकाशित: २३ असार २०७८ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App