७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीले रौतहटमा तीन सय परिवार विस्थापित

लगातार तीन दिन परेको पानीले आएको बाढी र डुबानमा परी रौतहटमा करिब तीन सय परिवार विस्थापित भएको देखिएको छ। रौतहटका विभिन्न स्थानीय तहमा गरी करिब तीन सय घरपरिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

बाढी र डुबानबाट इशनाथ नगरपालिकाको बन्जरहा गाउँमा ४० घर परिवार विस्थापित भएका छन्। यसैगरी राजदेवी नगरपालिकाको लक्ष्मिपुर वेलविछवा गाउँका ४० घर परिवार आफनो घर छाडी आफन्तको घरमा शरण लिई बसेका छन्। यसैगरी दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको दलित बस्तीको २०० घर परिवार बागमती नदीको तटबन्धमा बसिरहेको पाइएको छ।  

यस्तै, बाढीबाट व्रम्हपुर प्रहरी चौकी पनि विस्थापित भई जनता सत्यनारायण माध्यमिक विद्यालय बसतपुरमा राखिएको छ। गौर भन्सार सुरक्षा गार्डको भवनमा पनि बाढी पसेपछि छेउमै रहेको आँखा अस्पतालको दोश्रो तल्लामा तथा सशस्त्र प्रहरीको विओपी गौरलाई मानव सेवा केन्द्रको भवनमा राखिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।  

यसै गरी वर्षा र बाढीबाट रौतहटको विभिन्न स्थानीय तहको २२ जनाको भौतिक रुपमा घरको संरचना क्षतिग्रस्त भएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्यांक अनुसार वर्षा र बाढीको कारण गौर, गुजरा, वृन्दावन, गढीमाई, राजदेवी, राजपुर, देवाही गोनाही, बौधीमाई नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको विभिन्न वडा गरी २२ जनाको पक्की, खपडा, फुसको घरको गरेर २६ लाख ४५ हजारको भौतिक संरचना क्षतिग्रस्त भएको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा हस्ताक्षर भई सार्वजनिक गरिएको तथ्यांकमा वागमती नदीले राजदेवी नपाको ९ स्थित स्पर नम्वर १ र ३ मा क्षति पुर्‍याउँदा पूर्ण रुपमा मर्मत गरी सुरक्षित बनाएको तथा गढीमाई नगरपालिकाको ६ स्थित वागमती पुल नजिक १५ फिट लम्वाई ३ फिट चौडाई भएको स्पर र पुल पारी ढुंगाको मद्दतबाट बनाइएको संरचना क्षतिग्रस्त भएको उल्लेख गरिएको छ।

यसैगरी अरुवा खोलाले मौलापुर नगरपालिकाको सोनरनियामा भएर हुलाकी राजमार्गलाई जोड्ने बाटोलाई १५ फिट फुटाएको छ भने फतुवा विजयपुर नगरपालिका ११ स्थित लाल बकैया नदीले गर्जा पुल नजिकको सडक क्षतिग्रस्त पुर्‍याएको प्रजिअ यादवले जानकारी दिए।

वर्षा र बाढीले जिल्लाका अन्य सडकमा पनि क्षति पुर्‍याएको छ। क्षति पुर्‍याइएका सडकहरुमा सामान्य मरम्मतपछि सुचारु भएको देखिएको छ।

प्रकाशित: २२ असार २०७८ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App