६ वैशाख २०८१ बिहीबार
समाज

दुई दशक जेल जीवनले अझै असहज

भारतीय जेलमा विनाकसुर ४० वर्ष बिताएपछि घर ल्याइएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाको पारिवारिक सामाजिकीकरणमा समस्या भइरहेको छ। लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भइरहेको परिवारजनले बताएका छन्।  

घरमा सँगै रहेका भतिजा गोपाल शर्मा तिम्सिनाले दुर्गाप्रसादको बोलीचाली र व्यवहार सुरुमा सहज भएपनि अहिले दिनदिनै जटिल बनिरहेको बताए। ‘पहिला–पहिला अधिकांश समय मानसिक रूपमा ठिक अवस्थाको बोली–व्यवहार थियो,’ गोपालले भने, ‘दिन बित्दैगएपछि उहाँको अवस्था झन्झन् असहज देखिँदैछ।’ घरमा खाना खाने, लुगा लगाउने, सरसफाइ गर्नेलगायत काममा दुर्गाप्रसादलाई केही सातायता मानसिक हिसाबले निकै गाह्रो परिरहेको छ।

 ‘कुनैबेला मानसिक रूपमा उहाँ एकदम ठिक हुनुहुन्छजस्तो बोली–व्यवहार छ, कुनैबेला उहाँकै कारण परिवारको भौतिक सुरक्षा नै जोखिममा पर्लाजस्तो खतरा पनि छ,’ गोपालले भने, ‘चिकित्सकले बिस्तारै मानसिक अवस्था ठिक हुन्छ भन्ने सल्लाह दिएका छन्। तर, अवस्था चाहिँ झन्झन् बिग्रिएकोजस्तो देखिन्छ।’  

परिवारजनका अनुसार घरमा रहँदा दुर्गाप्रसाद गीत धेरै गाउँछन्। बोल्दाबोल्दै कतिबेला कस्तो शब्द फुत्किन्छ भन्ने सुइँको पाउँदैनन्। उनले घर छाडेर हिँडेपछि परिवार तत्कालीन एकतप्पा गाउँ विकास समितिबाट माई नगरपालिका–१०, लुम्बाकमा बसाइँ सरेको छ। ‘ठूलो बुबा बेला–बेला मेरो घर एकतप्पा हो, एकतप्पा नै जान्छु भन्नुहुन्छ,’ गोपालले सुनाए, ‘बेला–बेला चाहिँ मलाई जेलमै पुर्‍याइदिनू भन्नुहुन्छ।’ दुर्गाप्रसाद घरमा आमासँग सामान्य बोलचाल गर्छन्। 

दिउँसो गाउँतिरसमेत डुल्छन्। घरभन्दा डेढ/दुई घन्टाको पैदल दुरीमा समेत पुग्छन् उनी। गाउँलेसँग पनि धेर–थोर बोल्छन्। तर, आफूलाई गाउँमा बस्दा अत्यन्त असहज भएजस्तो गर्छन्। परिवारले उनलाई विगतको असह्य पीडा भुलाएर सामान्य जीवनमा फर्काउन घरको सानोतिनो काम सिकाउने, अल्झाउने प्रयास गरिरहेको छ। तर, दुर्गाप्रसादले सामान्य लय समात्न नसकेको परिवारजन बताउँछन्।  

दुर्गाप्रसाद घर आएपछि उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको छ। ‘चिकित्सकले उहाँको मानसिक अवस्था ठीक छ, विस्तारै सुधार हुन्छ भनेकाले फेरि उपचारमा लगिएको छैन,’ गोपालले भने, ‘तर, पुनः मनोचिकित्सकसँग परामर्श नगरी नहुने भइसकेको छ।’  

दुर्गाप्रसाद २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए। घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी गत फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएका हुन्। विभिन्न संघ–संस्थाको पहलमा उनलाई गत चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको हो। 

प्रकाशित: २१ असार २०७८ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App