१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

निषेधाज्ञा छल्न सिडिओको किर्ते छाप र हस्ताक्षर

निषेधाज्ञा छल्न जिल्ला प्रशासन कार्यालय रोल्पाको लेटर प्याड, छाप र सहायक प्रशासकीय अधिकृतको किर्ते हस्ताक्षर गरी सवारी पास बनाएर काठमाडौँ हिँडेका दुईवटा यात्रु वाहक बसलाई रोल्पा प्रहरीले पक्राउ गरेको छ। रोल्पा यातायात प्रा.लिको रा १ ख २५०६ र जलजला यातायात प्रा.लिको ना ६ ख २४७३ नम्बरका दुई वटा बस आईतवार बेलुकी रोल्पाबाट काठमाडौँका लागि छुटेका थिए।  

रातिको समयमा प्रहरी चेक जाँच छल्दै सुलिचौर पुगेका उक्त दुई गाडीले ६७ जना यात्रु बोकेको प्रहरीले जनाएको छ। प्रहरीले गाडी चालक कमल पुनः मगर, छबिलाल सुनार, गाडी धनी हस्ताङत बुढा र सहचालक डिल्लीराज रेग्मीलाई पक्राउ गरेर अनुसन्धान थालेको हो।  

आफ्नो कार्यालयको लेटरप्याड, छाप र आफ्नो हस्ताक्षर किर्ते भएपछि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बदमासी गर्नेलाई कारबाही लागि अगाडि बढ्ने बताए। ‘आईतवार डिसिएमसीको बैठकले जनजीवन धेरै सहज बनाएका छौ। जिल्लाका सबै यातायात समितिलाई बोलाएर छलफल गरेका थियौँ तर सिडियोको नक्कली छाप, लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेछन्।’ उनले भने ‘निषेधाज्ञा उलङघन एउटा क्राईम हो भने झनै ठुलो क्राईम किर्ते गर्नु हो। प्रहरीले नियमानुसार मुद्धा सुरु गर्छ। उनीहरुलाई हदै सम्मको कारबाही  हुन्छ।’  

रोल्पा प्रहरीले किर्ते गरेको आरोपमा पक्राउ गरेका चार जनालाई अदालत लैजाने तयारी गरिरहेको छ । ‘नियमानुसार कारबाही को प्रकृयामा जान्छौ।’ रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी भन्छन् ‘सरकारी कागजात किर्ते शिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्ने तयारी भईरहेको छ।’ उनका अनुसार लकडाउन उलङघन एउटा अपराध भएको छ भने किर्ते अर्को अपराध भएको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार सरकारी लिखत किर्ते गर्नेलाई सात बर्ष सम्म कैद र ७० हजार सम्म जरिमाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ।    

प्रकाशित: २१ असार २०७८ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App