१३ आश्विन २०७८ बुधबार
समाज

कमजोर ग्रामीण सडकले मुख्य राजमार्ग जोखिममा

पछिल्लो केही वर्षयता ग्रामीण सडकहरूका कारण मुख्य राजमार्गले क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। ग्रामीण सडक दिगो नहुँदा त्यसको असर वर्षायाममा राजमार्गमा देखिन थालेको हो। पृथ्वी राजमार्गसँग जोडिएर धादिङको बेनीघाट रोराङ गाउँपालिकाभित्र दर्जनभन्दा बढी शाखा सडक निर्माण भएका छन्। सडकबाट बर्खायाममा ढुंगा, माटोसहितको लेदो बग्दै मुख्य राजमार्गमा थुप्रिने गरेको छ, जसले गर्दा वर्षा हुनेबित्तिकै राजमार्ग अवरुद्ध हुने  गरेको छ।  

बेनीघाट रोराङ गाउँपालिकामा पर्ने तिक्राङमा बर्खामा दिनहुँजसोे राजमार्ग बन्द हुने गरेको छ। कारण, सडकमाथि रहेको हेटौंडा सिमेन्टको चुनढुंगा खानी। बर्खामा खानीले थुपारेको लेदो र गेग्रान राजमार्गमा आएर हिलाम्मे बनाउनेदेखि सवारीसाधन पुरेका समेत थुप्रै घटना घट्ने गरेका छन्। हेटौंडा सिमेन्टले सञ्चालन गरेको तिक्राङको खानीले हालसम्म कति क्षति पु¥याएको छ, यकिन तथ्यांक भेटिँदैन। तर, स्थानीयका अनुसार गएको तीन दशकमा करिब एक दर्जन गाडी बगेर त्रिशूलीमा बेपत्ता भएका छन् भने २० भन्दा बढी गाडी पुरिएका तथा आधा दर्जन बढीले ज्यानसमेत गुमाएका छन्।

उता एक किलोमिटरपरको बुङ्दी–जवाङ खोलाबाट पनि उस्तैगरी बर्खामा बाढी आउने गरेको छ। सहायक मार्गबाट आउने लेदो माटोले गर्दा नै खोलामा बाढी आउने गरेको छ। गत वर्ष मात्रै धादिङ र चितवनको सिमाना मुख्य राजमार्गको पुलमा क्षति पुग्दा तीन दिनसम्म यातयात ठप्प भएको थियो। यी सबैको कारण ग्रामीण सडक नै मुख्य कारण हो। पृथ्वी राजमार्ग हुँदै खोलिएका सडकहरू दिगो बनाउन नसक्दा हरेक वर्ष क्षति बेहोर्नुपरेको स्थानीयको भनाइ छ।  

स्थानीय सरकारले खनेका अधिकांश सडकमा हिउँदमा जेनतेन गाडी गुड्छन, वर्षात्मा त्यही सडक खोला बनेर बग्ने गरेको बेनीघाट रोराङ गाउँपालिका–३ का स्थानीय एवं वातावरण संरक्षण अभियन्ता उत्तम कँडेलले बताए। विशेष गरी नेपालको पहाडमा जथाभावी र अवैज्ञानिक सडक निर्माण, खानी उत्खनन, जंगल विकास, भौगोलिक अध्ययनबिना नै गरिएको संरचना निर्माण, नदीनाला दोहन, तापक्रम वृद्धिसँगै हिमताल विस्फोटनका कारण बर्सेनि बाढीपहिरोको जाने गरेको बताए। ‘ग्रामीण सडकहरू बिनाडिजाइन खनिएका छन्, इन्जिनियरले नापनक्सा बनाएकै भए पनि स्थानीय पहुँचवालाहरूको दबाब र प्रभावमा उनीहरूको स्वार्थअनुसार डिजाइन फेरिन्छन्,’ अभियन्ता कँडेलले भने, ‘बर्खामा पु¥याएको क्षतिको हिसाब कहिल्यै हुँदैन तर बर्सेनि यति किलोमिटर बाटो खनियो भनेर प्रगतिको बेलिबिस्तार मात्रै गर्छन्।’  

सार्वजनिक सडक ऐन, २०३१ अनुसार राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, भत्किएको सडक निर्माणका लागि धरौटी राख्नुपर्ने, सडक अवरोध भए तत्काल हटाउनुपर्ने व्यवस्था छ। तर, प्रमुख सडकबाट शाखा सडक निर्माण गर्दा सहमति लिई मापदण्ड पु¥याएर सडक निर्माण गर्नुपर्ने भए पनि कतिपय स्थानीय तहहरूले अटेर गरेर शाखा सडक निर्माण गर्दाको सबैभन्दा बढी क्षति मुख्य राजमार्गले बेहोर्नुपरेको छ।  

पछिल्ला वर्षहरूमा पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरोले क्षति पु¥याएको छ। गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) पहिरो जानुको मुख्य कारण धेरै वर्षा हुनु, खानीको कमजोरी र सहायक सडकहरू खनिनु हो। ‘पहिरो सबैभन्दा बढी पानी परेर नै जाने गरेको छ, अन्य सहायक सडक खनिनु पनि अर्को कारण हो,’ अध्यक्ष डल्लाकोटीले भने, ‘यस्ता विविध कारणले गर्दा पछिल्ला समय पहिरो निकै नै गएको छ र राजमार्गलाई क्षति पु¥याएको छ।’  

मुख्य राजमार्गबाट खोलिएका शाखा सडक प्राविधिकको परामर्शबिनै खोलिदिने कारणले नै पछिल्लो समय राजमार्गमा क्षति पुग्ने गरेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। ‘मुग्लिनदेखि नौबिसेसम्मका मुख्य राजमार्गका अधिकांश क्षेत्रमा शाखा सडक विस्तार गरिएको छ, जसले गर्दा पानी पर्नासाथ ढुंगा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको छ,’ खनालले भने, ‘पहिरो जानुमा ८० प्रतिशत शाखा सडक विस्तारका कारण हो।’ ग्रामीण क्षेत्रमा यातयातको सहज पहुँचका लागि स्थानीय सरकारहरूले सडक निर्माण कार्य गरिरहेको छ। हिउँदमा जसोतसो सुचारु भएका अधिकांश ग्रामीण सडक बर्खा लागेसँगै हिलाम्मे बनेका छन्। कुनै ठाउँमा सडकको ट्र्याक नै पुरिएको छ, भासिएको छ। वर्षात्मा बाढी पहिरोले ग्रामीण सडक बनाएको क्षेत्र भत्किएर मूल सडकमा  खस्ने भएकाले पनि मूल सडकमा क्षति हुने गरेको छ।  

प्रकाशित: २१ असार २०७८ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App