४ वैशाख २०८१ मंगलबार
समाज

ग्रामीण सडकले मुख्य राजमार्ग जोखिममा

मुख्य राजमार्ग हुँदै ग्रामीण क्षेत्रमा खनिएको सहायक सडकबाट बगेर मुख्य राजमार्गमा थुप्रिएको लेदो । तस्बिरः सरिता/नागरिक

गाउँ–गाउँ जोड्नका लागि निर्माण गरिएका ग्रामीण सडकले मुख्य राजमार्गमा क्षति पुगेको छ। पछिल्ला वर्षहरुमा निर्माण भएका ग्रामीण सडक दिगो नहुँदा त्यसको असर वर्षायाममा देखिन थालेको छ। पृथ्वी राजमार्गसँग जोडिएर धादिङको बेनिघाट रोराङ गाउँपालिकाभित्र दर्जन बढी शाखा सडक निर्माण भएका छन्। तर निर्माण गरिएका सडकबाट बर्खायाममा ढुङगा, माटोसहितको लेदो बग्दै मुख्य राजमार्गमा थुप्रिने गरेको छ। जसले गर्दा बर्षात हुने बित्तिकै राजमार्ग अवरुद्ध हुने गरेको छ।

बेनिघाट रोराङ गाउँपालिकामा पर्ने तिक्राङमा बर्खामा दिनहुँजसो राजमार्ग बन्द हुने गरेको छ। कारण हो सडकमाथि रहेको हेटौडा सिमेन्टको चुनढुंगा खानी। बर्खामा खानीले थुपारेको लेदो र गेग्रान राजमार्गमा आएर हिलाम्मे बनाउनेदेखि सवारीसाधन पुरेका समेत थुप्रै घटना घट्ने गरेका छन्। हेटौडा सिमेन्टले सञ्चालन गरेको तिक्राङको खानीले हालसम्म कति क्षति पुर्‍याएको छ यकिन तथ्याङ्क भेटिदैन। तर स्थानीयका अनुसार गएको तीन दशकमा करीब एक दर्जन गाडीहरु बगेर त्रिशूलीमा बेपत्ता भएका छन् भने २० भन्दा बढी गाडी पुरिएका तथा आधा दर्जन बढीले ज्यान समेत गुमाएका छन्।

उता एक किलोमिटर परको बुङदी–जवाङ खोलाबाट पनि उस्तैगरी बर्खामा बाढी आउने गरेको छ। सहायक मार्गबाट आउने लेदो माटोले गर्दा नै खोलामा बाढी आउने गरेको छ। गत वर्ष मात्रै धादिङ र चितवनको सिमाना मुख्य राजमार्गको पुलमा क्षति पुग्दा तीनदिनसम्म यातयात ठप्प भएको थियो। यी सबैको कारण ग्रामीण सडक नै मुख्य कारण हो। पृथ्वी राजमार्ग हुँदै खोलिएका सडकहरु दिगो बनाउन नसक्दा हरेक वर्ष क्षति व्यहोर्नु परेको स्थानीयहरुको भनाई छ। 

स्थानीय सरकारले खनेका अधिकांश सडकमा हिउँदमा जेनतेन गाडी गुड्छन्, बर्षातमा त्यही सडक खोला बनेर बग्ने गरेको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ का स्थानीय एवं वातावरण संरक्षण अभियन्ता उत्तम कँडेलले बताए। विशेष गरी नेपालको पहाडमा जथाभावी र अवैज्ञानिक सडक निर्माण, खानी उत्खनन, जंगल विनास। भौगोलिक अध्ययन विना नै गरिएको संरचना निर्माण, नदीनाला दोहन, तापक्रम वृद्धिसँगै हिमताल विस्फोटनको कारण बर्षेनी बाढी पहिरो जाने गरेको कँडेलले बताए। ‘ग्रामिण सडकहरु विना डिजाइन खनिएको छ, इन्जिनियरले नाप नक्सा बनाएकै भएपनि स्थानीय पहुँचवालाहरुको दवाव र प्रभावमा उनीहरुको स्वार्थअनुसार डिजाइन फेरिन्छन्’ अभियन्ता कँडेलले भने, ‘बर्खामा पुर्‍याएको क्षतिको हिसाव कहिल्यै हुँदैन तर बर्षेनी यति किलोमिटर बाटो खनियो भनेर प्रगतिको बेलिबिस्तार मात्रै गर्छन्।’  

सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, भत्किएको सडक निर्माणका लागि धरौटी राख्नुपर्ने, सडक अवरोध भए तत्काल हटाउँनुपर्ने व्यवस्था छ। तर, प्रमुख सडकबाट शाखा सडक निर्माण गर्दा सहमति लिई मापदण्ड पुर्‍याएर सडक निर्माण गर्नुपर्ने भएपनि कतिपय स्थानीय तहहरुले अटेर गरेर शाखा सडक निर्माण गर्दाको सबैभन्दा बढी क्षति मुख्य राजमार्गले व्यहोर्नु परेको छ।  

पछिल्ला वर्षहरुमा पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरोले क्षति पुर्‍याएको छ। गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) पहिरो जानुको मुख्य कारण धेरैवर्षा हुनु, खानीको कमजोरी र सहायक सडकहरु खनिनु हो। ‘पहिरो सबैभन्दा बढी पानी परेर नै जाने गरेको छ, अन्य सहायक सडक खनिनु पनि अर्को कारण हो,’ अध्यक्ष डल्लाकोटीले भने, ‘यस्ता विविध कारणले गर्दा पछिल्ला समय पहिरो निकै नै गएको छ र राजमार्गलाई क्षति पुर्‍याएको छ।’  

मुख्य राजमार्गबाट खोलिएका शाखा सडक प्राविधिकको परामर्श बिना नै खोलिदिने कारणले नै पछिल्लो समय राजमार्गमा क्षति पुग्ने गरेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। ‘मुग्लिनदेखि नौबिसेसम्मका मुख्य राजमार्गका अधिकांश क्षेत्रमा शाखा सडक विस्तार गरिएको छ, जसले गर्दा पानी पर्नासाथ ढुङगा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको छ’, खनालले भने, ‘पहिरो जानुमा ८० प्रतिशत शाखा सडक बिस्तारका कारण हो।’  

ग्रामीण क्षेत्रमा यातयातको सहज पहुँचका लागि स्थानीय सरकारहरुले सडक निर्माण कार्य गरिरहेको छ। हिउँदमा जसोतसो सुचारु भएका अधिकांश ग्रामीण सडक बर्खा लागेसँगै हिलाम्मे बनेको छ। कुनै ठाउँमा सडकको ट्र्याक नै पुरिएको छ, भासिएको छ। वर्षातमा बाढी पहिरोले ग्रामीण सडक बनाएको क्षेत्र भत्किएर मुल सडकमा खस्ने भएकाले पनि मुल सडकमा क्षति हुने गरेको छ।

प्रकाशित: २० असार २०७८ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App