६ वैशाख २०८१ बिहीबार
समाज

२१ महिनादेखि सडक मजदुरले पाएनन् तलब, सुरु गरे अनसन

तलब नपाउँदा अनसनमा बसेका पाटन–पञ्चेश्वर सडकखण्डका लेन्थवर्कर । तस्बिरः नागरिक

बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा कार्यरत मजदुर (लेन्थवर्कर​)हरुले तलब नपाएको भन्दै अनसन सुरु गरेका छन्। २१ महिनादेखि तलब नपाएको भन्दै शुक्रबारदेखि रिले अनसन सुरु गरेका छन्। काम गरेको पारिश्रमिकका लागि सरकारलाई दबाब दिन रिले अनसन सुरु गरिएको लेन्थवर्कर जयराम भुलले बताए। लामो समयदेखि तलब नपाउँदा समस्या भएप्छि आन्दोलन गर्न बाध्य भएको उनले जानकारी दिए।

पाटन–पञ्चेश्वर सडकको जिरो प्वाइन्ट पाटनमा रिले अनसन सुुरु गरेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन्। उनले भनिन् ‘हामीलाई संघीयता आएपछि घर न घाटको बनाइयो। लामो समयदेखि सडकमा काम गर्दै आइरहेका हाम्रो पीडा कसैले बझेनन्, तलब नदिँदा खानलाउनै समस्या भयो।’

संघीय सरकार मातहत रहेको पाटन–पञ्चेश्वर सडक अहिले प्रदेश सरकार मातहत छ। सडक डिभिजन कार्यालयले पूर्वाधार विकास कार्यालयलाई सो सडक हस्तान्तरण गर्ने बेला सडकमा काम गर्ने लेन्थवर्करको पनि लिस्ट हस्तान्तरण गरेको थियो। प्रदेश सरकार मातहत आएपछि लेन्थवर्करहरुले ३ महिनाको तलब पनि बुझेका थिए। २०७६ साल असोजबाट आफूहरुले पारश्रमिक नपाएको लेन्थवर्कर हरजित महराले बताए। प्रदेश सरकारका तत्कालिन भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले लेन्थवर्करहरुलाई काम गर्न मौखिम रुपमा निर्देशन दिएका थिए। उनीहरुको व्यवस्थापन गर्ने आश्वासन समेत दिएका थिए। तर अहिले सम्म लेन्थवर्करहरुको कुनै व्यवस्थापन गरिएको छैन।  

संघीयता आएपछि आफूहरुको रोजीरोटी खोज्ने प्रयास भएको लेन्थवर्करहरुले आरोप लगाएका छन्। सडक डिभिजन कार्यालय मातहत पाटन–पञ्चेश्वर सडक हुँदा आफूहरुलाई कुनै समस्या नभएको र सडक प्रदेश सरकार मातहत गएपछि आफूहरु समस्यामा परेको लेन्थवर्करहरुले बताएका छन्। यसअघि लेन्थवर्करहरुले पारिश्रमिक दिलाइ दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए। पाटन–पञ्चेश्वर सडकखण्डमा १२ लेन्थवर्करले काम गर्दै आएका छन्।

प्रकाशित: १८ असार २०७८ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App