८ वैशाख २०८१ शनिबार
समाज

हिउँ चितुवाको खाना सम्बन्धी अनुसन्धान हुने

गौरीशंकर संरक्षण क्षेत्रमा रहेको हिउँ चितुवाको खाना सम्बन्धी खोज अनुसन्धान हुने भएको छ। त्यसका लागि नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरलाई फ्याकल्टी अनुसन्धान अनुदान प्राप्त भएको छ। विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले आर्थिक वर्ष २०७७/०७८ को लागि उक्त फ्याकल्टी अनुसन्धान अनुदान दिएको हो। कलेजका डाक्टर नारायणप्रसाद कोजूलाई चार लाख बराबर राशीको अनुदान रकम आयोगले दिएको छ।

दुई वर्षअघि गौरिशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवा पत्ता लगाउन सोध गरेका डा. कोजूलाई पुनः सोही क्षेत्रमा हिउँ चितुवाको आहार सम्बन्धी खोज तथा अनुसन्धान गर्न आयोगले अनुदान दिएको हो। नेकमार्फत डा. कोजूले दुई वर्ष गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवाको आहार सम्बन्धी अनुसन्धान गर्नेछन्। ‘अब गौरिशंकर संरक्षण क्षेत्रमा रहेका हिउँ चितुवाको खाना अर्थात् उसले शिकार गर्ने जनावरको विविधता, त्यसको उपलब्धताका विषयमा दुई वर्ष काम गर्नेछु’ डा. कोजूले भने। डा. कोजूले सो क्षेत्रमा रहेका हिउँ चितुवाले कत्तिको आहार पाएका छन्? त्यसको पनि अनुसन्धान गर्नेछन्। डा. कोजूको टिममा नेकका दुई जना मास्टर्सका विद्यार्थीहरुसमेत सहभागी हुनेछन्।

डा. कोजुकै टिमले डेढ वर्षअघि गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवा रहेको पत्ता लगाएको थियो। ‘हामीले डेढ वर्षअघि त्यो ठाउँमा हिउँ चितुवा छ भन्ने पत्ता लगाएका थियौं, र यो पल्ट सोही ठाउँमा रहेका हिउँ चितुवाले खाने प्रजाति कुन–कुन रहेका छन्? कुन–कुन सिजनमा कुन–कुन प्रजाति कति मात्रामा पाइन्छ? भन्ने सोध अनुसन्धान गर्नेछौं’, उनले भने।

प्रारम्भिक अनुमान अनुसार विश्वमा हिमचिुतवाको संख्या सात हजारको हाराहारीमा छ। नेपालमा तीन सयदेखि पाँच सयको हाराहारीमा रहेको अनुमान गरिएको छ।  

नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजको शाख बढाउन यस्ता सोध र अनुसन्धानहरु आवश्यक रहेको बताए। फ्याकल्टी अनुसन्धान अनुदानले कलेजलाई आर्थिक भन्दा पनि शैक्षिक फाइदा हुने उनले बताए।  

कलेजले यसअघि पनि विभिन्न विषयहरुमा सोध अनुसन्धान गर्ने गरेको छ। सामाजिक शैक्षिक संस्थाका रुपमा रहेको नेकले विद्यार्थी, शिक्षकहरुको एकेडेमिक गुणस्तर कायम गर्न विभिन्न शैक्षिक निकाय र आयोगसँग सहकार्य गर्ने गर्दै आएको छ।

विश्वविद्यालय अनुदान आयोगले विभिन्न कलेजहरुलाई फ्याकल्टी अनुसन्धान अनुदान उपलब्ध गराउने गर्दछ। कुनै पनि कलेजहरुले गरेका सोध अनुसन्धानले त्यस कलेजको प्राज्ञिक क्षमता देखाउने गर्दछ। 

प्रकाशित: १८ असार २०७८ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App