८ वैशाख २०८१ शनिबार
समाज

आजदेखि उपत्यकामा जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने

काठमाडौं उपत्यकामा २५ सिट क्षमताका सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी एक साता निषेधाज्ञा थपिएको छ। सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा केही खुकुलो बनाएर मंगलबारदेखि लागु हुनेगरी असार २१ गतेसम्मका लागि थपेको हो। पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजे सकिएको थियो।

स्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरिएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए। ‘सार्वजनिक सवारीसाधन सञ्‍चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्नेगरी बस्ने व्यवस्था मिलाउनुपर्नेछ। चालक, सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ,’ काठमाडौंका प्रजिअद्वारा जारी आदेशमा उल्लेख छ, ‘सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गरिएको हुनुपर्नेछ। सहचालकले पन्जा लगाउनुपर्नेछ। सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्‍चालन गर्न पाइनेछ। सवारीसाधन अनिवार्य रूपमा दैनिक निसंक्रमित गर्नुपर्नेछ।’

त्यस्तै खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजासामग्री, स्टेसनरीलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने पसलहरू बिहानदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ। डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम तथा पार्टस पसल, टेलरिङ, इलेक्ट्रोनिक पसल र निर्माणजन्य सामग्री पसलहरू बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइनेछ।

अत्यावश्यक वस्तुहरूको अनलाइन अर्डर, रेस्टुरेन्ट एवं फास्टफुट तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। सवारीसाधन मर्मतका लागि वर्कसपहरू बेलुका ७ बजेसम्म खुला राख्न पाइनेछ। ‘खुकुलो पारेर निषेधाज्ञाको अवधि एक साता लम्ब्याइएको छ,’ प्रजिअ पराजुलीले भने, ‘कोरोना भाइरस संक्रमणदर घट्दै गएको अवस्थामा निषेधाज्ञा खुकुलो पारेका हौं।’

पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम, अनिवार्य रूपमा स्यानिटाइजर व्यवस्था र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने आदेशमा उल्लेख छ। आदेशअनुसार सर्वसाधारणको आवतजावतका हकमा घरबाहिर निस्किँदा दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम राख्नुपर्नेछ। त्यस्तै अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ। एम्बुलेन्स, खानेपानी, विद्युत मर्मतसम्भार, इन्टरनेट मर्मत, दूरसञ्चार, कुरियर र फोहोरमैला व्यवस्थापनसम्बन्धी ढुवानी तथा यातायातका साधनमा ब्यानर राखी नियमित सञ्चालन गर्न पाइनेछ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र बिरामी बोकेका सवारीसाधन र एम्बुलेन्स नियमित सञ्चालन गर्न पाइनेछ।

प्रजिअ पराजुलीका अनुसार निजी सवारीसाधन (कार, जिप, भ्यान) मा बढीमा चारजना, ट्याक्सीको हकमा बढीमा तीनजना र मोटरसाइकल तथा स्कुटरमा समेत जोरबिजोर प्रणाली लागू गरी सञ्चालन गर्न पाइनेछ। 

प्रकाशित: १५ असार २०७८ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App