८ वैशाख २०८१ शनिबार
समाज

करोडौँ रकम माग गर्दै नगरपालिकामा तालाबन्दी

रौतहटको वृन्दावन नगरपालिकाको कार्यालयमा महिला अधिकारकर्मीहरुले तालाबन्दी गरेका छन् । हरेक वडामा कम्तीमा पन्ध्र लाख रुपैयाँ महिलाहरुको कामको लागि विनियोजन गर्नुपर्ने माग राख्दै आफूलाई महिला अधिकारकर्मी भन्नेहरुले तालाबन्दी गरेको नगरपालिका स्रोतले जनाएको छ।  

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले महिलाहरुमाथि ज्यादै विभेद गरेको र कमिसनको लोभमा आफ्ना नजिकका संघसंस्थालाई रकम दिने गरेको तर वृन्दावन नगरपालिकाका संघसंस्थालाई पन्छाएर बेवास्ता गर्ने गरेको आरोप स्थानीय अधिकारकर्मी प्रभा सिंहको रहेको छ । सिंहको नेतृत्वमा आइतबारदेखि महिलाहरुले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्।  

नगर प्रमुख रामसिनेही यादवले केही महिलाहरुले तत्काल नै प्रत्येक वडाहरुमा घटीमा पन्द्र लाख रुपैयाँको दरले महिला सिप विकास कार्यक्रमको नाममा विनियोजन गर्नुपर्ने माग राखेको तर यसरी करोडौँ रुपैयाँ विनियोजन गर्न सकिने क्षमता नगरपालिकाको नरहेको बताएका छन् । नगरसभाको दिन एक्कासि नियोजित रुपमा केही महिलाहरुको समूह आएर होहल्ला गर्न थालेको तर आफूले आवश्यकता र नगरको क्षमताको आधारमा रकम विनियोजन गर्न तयार रहेको नगर प्रमुख यादवको भनाइ छ ।  

कसैको निजी स्वार्थको लागि नगरपालिकाले एक्कासित करोडौँ रुपैयाँ बजेट विनियोजन गर्न सक्ने स्पष्ट पार्दै नगर प्रमुख यादवले नगरपालिकामा तालाबन्दी गरी जनताको सेवामा अवरोध पुर्‍याउनु ज्यादै नराम्रो रहेको दाबी गरेका छन् । समस्या समाधानको लागि वार्ता गर्न आफू तयार रहेको र विधि तथा प्रक्रिया पुर्‍याएर महिलाहरुको समस्याको समाधान गरिने नगर प्रमुख यादवको भनाइ छ ।  

नगर सभाको क्रममा रौतहटमा विभिन्न अवरोध सिर्जना गर्ने र विरोध गर्ने प्रवृत्तिको विकास भइरहेको देखिएको छ । यसअघि मौलापुर नगरपालिका र ईशनाथ नगरपालिकाको नगरसभाको क्रममा स्थानीयले विरोध गर्दै नाराबाजी गरेका थिए । मौलापुर नगरपालिकामा दुई पक्षबीच झडप भएर प्रहरीले गोली चलाउनु पर्ने अवस्थाको सिर्जनासमेत भएको थियो ।

प्रकाशित: १४ असार २०७८ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App