७ वैशाख २०८१ शुक्रबार
समाज

अस्मिताको हत्या प्रकरणः घटना अझैं रहस्यमै

डडेल्धुरा परशुराम नगरपालिका ८ जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत २६ वर्षीया अस्मिता देवी धामीको हत्याको घटना डेढ साता बित्दा समेत रहस्यमै रहेको छ । अस्मिताको बलत्कारपछि हत्या भएको हो ? वा हत्या मात्रै हो ? हत्या कसरी गरियो ? यि सबै प्रश्न अझैं अनुत्तरित छन् । 

आर्थिक रुपमा विपन्न परिवारकी अस्मिताको कोभिडविरुद्धको खोप पुर्‍याउने क्रममा बिभत्स हत्या भएको घटनाको दोषीलाई कारबाही हुनुपर्ने अवाज सडकदेखि प्रदेश सभाको सदनसम्म उठिरहेको छ । प्रदेशसभाको बैठकमा बोल्ने अधिकांश महिला सासंदहरुले अस्मिताको हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने माग उठाउँदै आएका छन् ।

जेष्ठ नागरिकलाई लगाएर बाँकी रहेको कोभिड १९ विरुद्धको खोप जोगबुढा अस्पताल फिर्ता बुझाउन जाने क्रममा असार २ गते अस्मिता सम्पर्कविहीन भएकी थिइन् । सम्पर्कविहीन भएकी अस्मिता असार ५ गते वडा नं ९ हट्वानी सामुदायिक वनमा जोगबुढा जाने बाटोभन्दा करिव ६०/७० मिटरको दूरीमा बुट्याङ भएको ठाउँमा मृत अवस्थामा भेटिएकी थिइन् । गंभिर रुपमा चोट लागेको मुखमा किरा परेको बिभत्स अवस्थामा उनको शव फेला परेको थियो ।

पोष्टमार्टम रिपोर्टमा उनको मुखको चिउडोदेखि नाकको भागसम्म पुरै ध्वस्त हुने गरि भाँचिएको उल्लेख छ । उनको पोष्टमार्टम रिपोर्टमा संलग्न चिकित्कले मुखमा गंभिर चोट लागेको बताएका छन् । ‘भुईमा जोडले मुख बजारिएर वा गह्रुंगो वस्तुको प्रहारबाट मुखमा उक्त चोट लागेको हुन सक्छ’, उनले भने, ‘बलात्कार भए नभएको खुल्न नसकेकोले बिस्तृत जाँचका लागि भेजाईनल स्वाब, लगायतका नमुना जाँचका लागि काठमाडौं पठाइएको छ ।’ 

आर्थिक रुपमा विपन्न परिवारकी आनीबानी राम्रो र सोझोपन स्वभाव भएकी अस्मिताको हत्यारा डेढ सातासम्म पनि पत्ता नलाग्दा हत्याराले उन्मुक्ति पाउने हो भन्ने चिन्ता स्थानीयमा बढ्दै गएको वडा नं ८ का अध्यक्ष गोविन्द सिंह बोहराले बताएका छन् । ‘मुखमा लागेको गंभिर चोटबाट अस्मिताको बिभत्स हत्या भएको प्रष्ट छ,’ उनले भने,‘हत्यारा छिटो पत्ता लगाउनु पर्ने स्थानीयको माग छ ।’

स्वास्थ्य ईकाई केन्द्र कार्यालयबाट करिव ३/४ किलोमिटर दूरीमा रहेको हत्वानी डाँडा भन्ने स्थानमा गोरेटोबाटो नजिकै एउटा चप्पल र फुटेको चुराका टुक्रा फेला परेको थियो भने ६०/७० मिटर पर घटनास्थलमा छरपस्ट सामान र उनको बिभत्सरुपमा हत्या गरेको शवको अवस्था हेर्दा बलात्कार गर्न नै हत्या गरिएको उनी बताउँछन् ।  

डडेल्धुरा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालको नेतृत्वको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । भने यसैगरि संघीय ईकाई प्रहरी कार्यालयबाट पनि प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वको टोली र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक पदम थापाको नेतृत्वमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आर आई टी) को टोली पनि अनुसन्धानका लागि खटाइएको थियो । डडेल्धुरा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेपालले गंभिर रुपमा घटनाको अनुस्धान गरिरहेको र अनुसन्धान साँघुरिदै गएको बताएका छन् । ल्यावमा पठाएको भेजाईनल स्वाब, भिसेरा लगायतका नुमनाको रिपोर्ट आउन बाँकी रहेको र रिपोर्ट आएपछि सबै कुरा खुल्ने उनले बताए । 

अस्मिताका श्रीमान, दुई नाबालिका छोरी छन् । उनका श्रीमान घरमै खेतबारीमा काम गर्छन् ।  

प्रकाशित: १४ असार २०७८ ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App