६ वैशाख २०८१ बिहीबार
समाज

विद्युत् माग्दै अनसनमा जनप्रतिनिधि

विद्युत् माग्दै अनसनमा बसेका मेलौली नगरपालिका–९ का जनप्रतिनिधि। तस्बिरः नागरिक

विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधि आमरण अनसनमा बसेका छन्। गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली नगरपालिका–९ का वडा सदस्य भीमदत्त भट्ट लगायतका स्थानीय आमरण अनसनमा बसेका हुन्। लामो समयसम्म गाउँमा विद्युतीकरण हुन नसकेको भन्दै स्थानीयहरुकै सल्लाहले अनसनमा बसेको उनी बताउँछन्।

विद्युत् नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयहरुले अकालमा ज्यान गुमाउनु परेको भन्दै माग पूरा नभएसम्म अनसनमा बस्ने उनले बताए। मेलौली नगरपालिका भवनकै आँगनमा आफूहरुले सोमबार बिहानदेखि अनसन सुरु गरेको वडा सदस्य भट्टले बताए। वडा सदस्य भट्टसहित स्थानीय बमबहादुर चन्द अनसनमा बसेका छन्।

मेलौली नगरपालिकाको वडा नं. ८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत् पुगिसकेकाले त्यतैबाट विद्युत् विस्तारका लागि पहल गर्नुपर्ने उनीहरुको माग छ। ‘जसरी भएपनि यो आर्थिक वर्षभित्र विद्युत् विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनसनमा बस्छौं।’ वडा सदस्य भट्टले भने, ‘नगरपालिकाको नीति तथा कार्यक्रममा पनि विद्युत् विस्तारको कुरा आएको छ। त्यसलाई कार्यान्वयनका लागि बजेट छुट्याएर काम अघि बढोस भन्ने हाम्रो माग हो।’

नगरपालिकाले विद्युत् विस्तारको लागि पहल गरिरहेको नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए। सवस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अघि बढाइसकेकाले यो काम जतिसक्दो चाँडो होस भनेर पालिकाका तर्फबाट समेत समन्वय गरिरहेको उनले जानकारी दिए।

प्रकाशित: १४ असार २०७८ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App