७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङ अदालतमा ७ सय २५ मुद्दा फैसला हुन बाँकी

धादिङ जिल्ला अदालतमा यस आर्थिक वर्ष २०७७/०७८ को साउन महिनादेखि जेठ मसान्तसम्म एक हजार चार सय चार वटा मुद्दा दर्ता भएका छन्।

दर्ता भएकामध्ये ६ सय ७९ मुद्दा फछ्र्यौट भएका छन् भने सात सय २५ वटा मुद्दा फैसला हुन बाँकी रहेको अदालतका श्रेस्तेदार खुमप्रसाद भण्डारीले जानकारी दिए। अदालतको वार्षिक लक्ष्य तथा प्रगति विवरण सार्वजनिक गर्दै भण्डारीले कोभिड १९ का कारण अन्य क्षेत्रसँगै अदालत पनि बन्द भएका कारण मुद्दा फैसलामा समस्या भएको बताए।  

लामो समयसम्मको कोभिड–१९ को प्रभावका कारण विभिन्न प्रकृतिका मुद्दामा दुबै पक्ष उपस्थित हुन नसक्दा मुद्दा फैसला हुन ढिलाइ भएको श्रेस्तेदार भण्डारीले बताए। ‘कोरोना भाइरसको संक्रमणका कारण जारी गरेको निषेधाज्ञाका कारण अन्य क्षेत्र जस्तै अदालतको नियमित सेवा समेत बन्द हुन पुग्यो,’ भण्डारीले भने, ‘सेवा बन्द हुदाँ जति संख्यामा मुद्दा दर्ता भएका छन् त्यसमा अपेक्षित परिणाम हासिल गर्न सकेनौँ, मुद्दाहरू प्रक्रियागत रूपमा नै छन्।’  

जिल्ला अदालतका न्यायाधिश आत्मदेव जोशीले वार्षिक कार्ययोजना अनुसार मुद्दाको लागत अनुमान, फछ्र्यौट लक्ष्य, गत आर्थिक वर्षको मुद्दाको लागत फछ्र्यौट र बाँकीको विवरण, फैसला कार्यान्वयन तर्फको विवरणबारे जानकारी दिए। मुद्दाका पक्षहरुमा सहभागी हुनुपर्ने नियमित मुद्दाका कामहरु बाहेक निषेधाज्ञामा बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदन दर्ता, पक्राउ पुर्जी जारी लगायतका तत्काल गर्नुपर्ने कामहरु गरिरहेको जिल्ला अदालतका न्यायाधीश जोशीले बताए।

कोरोना भाइरस महामारीको समय भए पनि अदालतमा मुद्दाको दर्ता हुने क्रम निरन्तर रहे पनि फैसलामा समस्या परेको अदालतले जनाएको छ। धादिङ अदालतमा आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै देवानी रहेको छ। जसमा ७ सय ८८ वटा मुद्दा दर्ता भएका छन्। फौजदारी मुद्दा ५ सय ९८ दर्ता भएको छ भने पुनरावेदनतर्फ जम्मा लगत १० र रिटमा ८ मुद्दा दर्ता भएको अदालतले जनाएको छ।  

धादिङ अदालतले दर्ता हुन आएका मुद्दाहरुमा सकेसम्म मिलापत्र गरी पठाउने प्रयास गर्ने गरेको समेत उनीहरुको भनाइ छ। पछिल्लो समय अदालतमा सम्बन्ध विच्छेद, अंशसम्बन्धी मुद्दा बढी मात्रामा आउने गरेको बताइएको छ। पछिल्लो समय सम्बन्ध विच्छेदको लागि महिला र पुरुष दुबैको लागि कानुन नै खुकुलो बनाएपछि सम्बन्ध विच्छेदको मुद्धा आउने क्रम बढेको अदालतले जनाएको छ।

प्रकाशित: ११ असार २०७८ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App