coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रमः कोरोनाको तेश्रो लहर रोक्नमा केन्द्रीत

पोखरा महानगरपालिकाको नगर सभामा महानगरको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्दै महानगर प्रमुख मानबहादुर जिसी । तस्बिरः उमेश पुन÷नागरिक

देशको सबैभन्दा ठुलो पोखरा महानगरपालिकाले स्वास्थ्य केन्द्रीत रहेर महानगरको नीति तथा कार्यक्रम ल्याएको छ । महानगरपालिकाको बुधबार पोखरा सभागृहमा आयोजित नगरसभामा महानगर प्रमुख मानबहादुर जिसीले कोरोनाको तेश्रो लहर आउनसक्ने स्थितिको विश्लेषण गर्दै त्यसतर्फ केन्द्रीत गरेर बजेट ल्याउने बताए ।  

महानगरको नीति तथा कार्यक्रममा महानगरबासीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्ने जनाइएको छ । महानगरले कोभिडको दोश्रो लहर चलिरहँदा तेश्रो लहरसमेत आउनसक्ने स्थितिलाई मध्यनजर गरेर बजेट ल्याउन थालिएको उनले बताए ।  नीति तथा कार्यक्रममा विगतबाट संचालित आइसोलेसन तथा हालै स्थापित अस्पताल वार्डको सञ्चालन, जनशक्ति व्यवस्थापन, पिसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्यलाई निरन्तरता दिइने उल्लेख छ । साथै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको जोखिम भत्तालाई निरन्तरता दिइने भनिएको छ ।

महानगरले कोभिड–१९ बाट निधन भएका व्यक्तिको शव व्यवस्थापनको कार्यलाई गुनासो रहित तवरमा व्यवस्थापन गर्ने, कोभिडबाट निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनको लागि उपयोग गरिएको स्थानलाई पार्कको रुपमा विकास गर्ने नीति कार्यान्वयन गर्ने जनाएको छ ।

महानगरले कोभिड १९ का कारण प्रभावित व्यवसायीलाई समयसीमा निर्धारण गरि विभिन्न प्रकारका कर छुट तथा राहतको व्यवस्था गर्ने जनाइएको छ । त्यस्तै कोभिडका बेला वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई लक्षित गरेर विगतमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

महानगरले विकटलाई निकट ल्याउने अठोटका साथ सुरु गरिएको कनेक्टिङ सडक कार्यक्रमलाई निरन्तरता दिने मेयर जिसीले बताए । महानगरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि बेगनासताल र विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्र्याक निर्माणको सम्भाव्यता अध्ययन गर्ने बताएको छ । महानगरले मुख्य सहरी सडकमा गरिएको अस्फाल्ट कालोपत्रे गर्ने अभियानलाई सहरको अन्य क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ ।

महानगरपालिकाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन २०२१ भित्र सम्पन्न गर्न आवश्यक सहयोग गर्ने जनाएको छ । पोखरा क्षेत्रको समग्र ढलको व्यवस्थापनका लागि संचालित गुरुयोजना निर्माण कार्यलाई अगाडि बढाउने, ढल प्रशोधन गर्ने प्रयोजनको लागि जग्गाको खोजी गरी जग्गा प्राप्ति तर्फको कामलाई अगाडि बढाउने जनाएको छ ।

महानगरले नमूनाको रुपमा विद्यालय भवनहरुमा एउटै रंग लगाउने नीति कार्यान्वयन गर्ने भएको छ । जापान सरकारको सहयोगमा पोखरा उपत्यकामा संचालित खानेपानी योजनालाई अविलम्ब सम्पन्न गर्न महानगरपालिकाबाट सहयोग र समन्वय गर्ने जनाइएको छ । महानगरले पोखरा सभागृहको जीर्णोद्धारको कार्य थालनी गने, सिटी बस टर्मिनल निर्माण गर्नुका साथै लामेआहालमा प्रस्तावित बसपार्कको निर्माण कार्यको थालनी गर्ने बताएको छ । त्यस्तै, पोखरा–१४ बिपी मार्ग नजिकै स्थानीय बसपार्क निर्माण कार्य अगाडि बढाइने जनाइएको छ ।  

पोखरा महानगरपालिका वडा नम्बर २७ अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइने जनाएको छ । महानगरले महानगर रत्न चयन गरी सम्मान गर्ने भएको छ ।महानगरले साविकको लेखनाथ नगरपालिको भवनमा हाल निर्मित कोभिड वार्डलाई क्रमशः शिशुवा अस्पतालको मूख्य संरचनाको रुपमा विकास गर्ने भएको छ । महानगरले आगामी आर्थिक वर्षमा मात्रै ल्यान्डफिल साइटको व्यवस्थापनको लागि जमिन खरिद गर्ने भएको छ । जमिन खरिद गरेलगत्तै ल्याण्डफिल साइड निर्माणको कार्य आरम्भ गरिने महानगर प्रमुख जिसीले बताए ।

महानगरले निजी सवारी साधन खरिद गर्दा पार्किङ स्थल यकिन गर्नुपर्ने नीति लिएको छ । जसका लागि सवारी साधन धनीले घर कम्पाउन्डबाट हिलो सडकमा ल्याउन नसक्ने गरी पार्किङ स्थलको निर्माण गर्नुपर्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।महानगरले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन पोखराको पर्यटकीय ब्रान्डिङ गर्दै बजारीकरण गर्ने नीति लिने भएको छ । महानगरले पोखरा बहुउद्देश्यीय टावर निर्माणको अध्ययन गर्ने, घण्टाघर निर्माण गर्ने र निजी क्षेत्रको सहकार्यमा पोखरा कोसेली घर सञ्चालन गर्ने नीति अवलम्वन गर्ने भएको छ ।

महानगरले स्थानीय कृषि तथा अन्य उत्पादनलाई ब्रान्डिङ गर्ने नीति लिदै मौलिक कृषि उत्पादनहरुको समर्थन मूल्य तोक्ने भएको छ । त्यस्तै, महानगरले मत्स्य पोखरी निर्माणमा जोड दिदै पोखरा १९ लाई ट्राउट माछा उत्पादन पकेट क्षेत्र घोषणा गर्ने जनाएको छ । महानगरले आगामी आर्थिक वर्षमा करको दरमा व्ृद्धि नगर्ने मेयर जिसीले बताए । कोभिडको महामारीले पिल्सिएका आम पोखरावासीलाई करको भार नपार्न आगामी आर्थिक वर्षमा करका दरहरुमा वृद्धि गर्ने प्रस्ताव नगरिएको महानगर प्रमुख  जिसीले बताए । महानगरले फेवाताल लगायत पोखराका अन्य ७ तालहरुको सिमांकन सम्पन्न भई सकेकोले उक्त तालहरुको मापदण्ड निर्धारण गरिने जनाएको छ । बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको महानगरले विहीबार बजेट ल्याउँदैछ ।

प्रकाशित: ९ असार २०७८ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App