सूर्योदयको जिल्ला भनेर चिनिने इलामको सन्दकपुरमा जन्मिएका उनलाई अभिभावकले सूर्य नाम राखिदिए। डाक्टरलाई देखाउने पर्ने फुलो परेको आँखा धामिलाई देखाएका कारण डेढ बर्षकै उमेरमा आँखाको ज्योती गुमाए । ३५ बर्षदेखि अध्यारो जीन्दगी काट्दै आएका सूर्य लिम्बु यति बेला भने फुटबलको उज्यालोमा रमाउँदै छन् ।
‘आज मध्यरातमा हुने फ्रान्स र पोर्चुगलको खेलको व्यग्र प्रतिक्षामा छु,’ बुधबार दिउँसो नागरिकसंगको कुराकानीमा उनले भने, ‘बेलुका हुने म्याचले दिउसै देखि रमाइलो लागेको छ ।’ फ्रान्सका सवै खेलाडी मन पराउने उनी एम्बाप्पेका भने फ्यान रहेको सुनाउँछन् । ‘उसको खुट्टामा बल परेपछि निकै रमाइलो लाग्छ,’ उनले भने, ‘उसले बल छुनेवित्तिकै गोलको आवाज सुनिएला जस्तो लाग्छ ।’
मध्यरातमा एक्लै फुटबल नियाल्दै आएका उनी स्मार्ट फोन मार्फत कमेन्ट्री सुन्ने गरेको सुनाउँछन् । ‘हामीले हेर्ने भनेको कमेन्ट्रीको सहाराले हो,’ उनले भने, ‘तर हामीले खेलाडीको इमाज्यीन भने गरिरहेका हुन्छौ ।’
उनले गरको अनुमानमा उनका मन पर्ने खेलाडी एम्बाप्पे होचो र गोरो हुनु पर्ने धारणा राखे । ‘ हेड हैन सटमात्र प्रहार गरेको सुन्दा उनी होचो हुनु पर्छ,’ उनले भने, ‘अनुहार गोलो र गोरो अनुमान गरेको छु ।’
त्यस्तै अर्जेन्टीनाका स्टार खेलाडी मेसीलाई समेत मन पराउने उनी मेसी भने मोटो र कालो रहेको अनुमान गर्छन् । ‘मलाई मेसीपनि मन पर्छ,’ उनले सुनाए, ‘तर मुलुकको लागि आवश्यक रहेको खेलमा गोल गर्न नसक्दा उनीप्रति गुनसो छ ।’
रोनाल्डोको भने उनलाई फ्रिकिक निकै मन पर्ने सुनाए ।‘उ अग्लो र बलियो हुनु पर्छ,’ उनले भने, ‘मैदानमा सवैतिर उसको उपस्थिती सुन्दा उ निकै फुर्तिलो हुनु पर्छ ।’
उनी जस्तै अन्य दृष्टिविहिन पनि फुटबलको रमाइलो लिदै छन् । यूरो र कोपा कपका कारण यति बेला संसार फुटबलमय भएको छ । यूरोप र दक्षिण अमेरिकामा भएका प्रतियोगिताका कारण संसारभरीका फुटबलप्रेमीलाई उत्सवजस्तो भएको छ । यस्तोमा फुटबलप्रेमी दृष्टिविहिन छुट्ने कुरै भएन ।
नेपालका दृष्टिविहिनले फुटबल हेर्ने मात्र गर्देनन् खेलाडीको इमेज पनि आफ्नो मनमा तयार गर्ने गरेका छन्। फ्रान्सका फ्यान रहेका दृष्टिविहिन सूर्य लिम्बुले एम्बाप्पे होचो र गोरो रहेको अनुमान गरे भने मेसी मोटो र कालो रहेको सुनाए।
तिनै मध्येका कोटेश्वर जडिबुटीका दृष्टिविहिन ३७ बर्षीय दिपक प्रधान । उपचारकोक्रममा बाल्यकालमै आखाको ज्योती गुमाएका उनी यति बेला टेलिभिजन सेट अगाडी बसेर युरोपकको रमाइलो लिदै छन् । ‘हामीले हेर्ने भनेको कमेन्ट्री गर्नेको सहाराले हो,’ उनले भने, ‘फुटबलले हामीलाई खुसी दिएको छ ।
फ्रान्सका समर्थक रहेका प्रधानलाईपनि सूर्यलाई जस्तै एम्बाप्पे औधि मन पर्छ । ‘त्यसो त मलाई मेसी र रोनाल्डोपनि मन पर्छ,’ उनले भने, ‘मन पर्ने टिमको खेलाडी भएकाले होला एम्बाप्पे विशेष लाग्छ ।’ उनलेपनि मन पर्ने खेलाडी कस्तो होला भन्ने अनुमान गरेका छन् ।
‘मलाई एम्बाप्पे हसिलो र थोरै गहु गोरो होला जस्तो लाग्छ,’ उनले भने, ‘रोनाल्डो चाहि निकै बलियो र अग्लो हुनु पर्छ ।’ नेपाली खेलाडी किरण चेमजोङलाई मन पराउने उनी अनिल गुरुङ र भरता खवासको प्mयान रहेको सुनाए । ‘विदेशीले खेलेको निकै रमाइलो लाग्छ,’ उनले भने, ‘नेपाली खेलाडीले खेलेको त्यो भन्दा हजारौ गुना खुसी लाग्छ ।’
जोरपाटीका बासुदेव अधिकारीपनि उनी जस्तै फुटबलको सोखिन हुन । बाल्यकालदेखिनै आँखाको ज्योती गुमाएका ४० वर्षीय अधिकारी आफ्ना छोरासंगै बसेर फुटबल हेर्ने गरेको सुनाउँछन । ‘म त नबुझेको छोराहरुलाई पनि सोध्ने गर्छु,’ जर्मन टिमका फ्यान रहेका उनले भने, ‘जर्मनले यूरो जित्ला जस्तो लागेको छ । ’
रोनाल्डो, मेसी र नेयमारको खेल मन पराउने उनी उनीहरु उत्कृष्ट रहेको सुनाए । ‘उनीहरुको खुट्टामा बल परेछि कमेन्टरको आवाज मात्र हैन हाम्रो ढुकढुकीपनि बढी हाल्छ,’ उनले भने, ‘उनीहरु फुटबलको देउता जस्तो लाग्छन् ।’
प्रकाशित: ९ असार २०७८ ११:४३ बुधबार