५ वैशाख २०८१ बुधबार
समाज

नेता र जनप्रतिनिधिबाटै निषेधाज्ञा उल्लंघन

फाइल तस्बिर

सर्वसाधारणलाई निषेधाज्ञा लागू गरेर हिडडुल र आउजाउमा बन्देज लगाइएका बेला जिम्मेवार नेता कार्यकर्ताहरु भने खुलेआम कार्यक्रम गर्दै हिड्दा कोभिड संक्रमण निण्न्त्रण गर्न गाह्रो भएको गुनासो सर्वसाधारणले गरेका छन्। बजारतिर केही दिनयता कोभिड संक्रमण नियन्त्रणोन्मुख देखिए पनि गाउँघर तिर अझै संक्रमण फैलिने क्रम कायमै रहेका बेला उदयपुर निर्वाचन क्षेत्र नं. १ का सांसद डा. नारायण खड्का उद्घाटन र पार्टी कार्यक्रम गर्दै हिड्नुले जिल्लाबासी खिन्न देखिएका छन्।

डा. खड्काको गतिविधि नियाल्नेहरु संक्रमण नियन्त्रण हुनुका साटो बढ्नुमा जिम्मेबार नेता, जनप्रतिनिधि र अगुवाहरु नै दोषी देखिएको सर्वसाधारणको बुझाई छ। प्रशासन र स्थानीय सरकारले सर्वसाधारणलाई निशेधाज्ञा, बन्दाबन्दी र सुरक्षा सतर्कता अपनाउनेजस्ता नियमका डण्डा बर्साए पनि पहुँचवाला नेता, जनप्रतिनिधि र अगुवाबाट यसको पालना नहुँदा कोविड नियन्त्रण गर्न ढिलाई भएको आम बुझाई छ।  

सर्वसाधारणको यो बुझाईसँग प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाई पनि सहमत छन्। उनी भन्छन् ‘माननीय डा. खड्का र मेयरसावबाटै निषेधाज्ञा उल्लंघन गरेको भन्ने नगरबासीबाट गुनासो आएको छ। कम्तीमा उहाँहरुले यो बेला योजना उद्घाटन र कार्यक्रम गरेर भिडभाडयुक्त गतिविधि गर्नु हुन्नथ्यो।’  आईतबार मात्र चौदण्डीगढी नगरपालिकाभित्र ३५ जना नयाँ संक्रमित देखिएको उनले बताए। उनका अनुसार चौदण्डीगढी ६ सातधारे बेलटारस्थित ‘उदयपुर कोभिड अस्पताल’मा गरिएको ५४ जनाको एन्टीजेन परीक्षणमा ३५ जनामा संक्रमण देखिएका छन्। 

शनिबार पनि चौदण्डीगढीमा १८ जना र बिकट पहाडी ताप्ली गाउँपालिकामा ७ जनामा संक्रमण देखिएका थिए। सुरुवाती चरणको ३ सातासम्म संक्रमणमुक्त रहेको ताप्लीमा पछिल्लो दुईसातायता संक्रमितहरु ६ दर्जन पुगेका छन्। ७२ संक्रमितमध्ये २६ महिलासहित ६० जना उपचाररत छन् भने ५ महिलासहित १२ जना निको भएका छन्।  निषेधाज्ञाकै अवधिमा सांसद खड्का केहीदियनता बिभिन्न ठाउँमा राजनीतिक भेटघाट र विकासे योजनाको उद्घाटन गर्दै भिडभाडयुक्त कार्यक्रममा व्यस्त छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका डा. खड्का नजिकिएको पार्टी महाधिवेशन र घोषित मध्यावधि चुनावलक्षित कार्यक्रममा केन्द्रित हुनथाल्दा संक्रमण बढ्न थप मद्दत पुगेको स्थानीयको गुनासो छ। 

यस्तै भिडभाडका कारण चौदण्डीगढीमा संक्रमित घट्ना नसकेको उनीहरुको भनाई छ। चौदण्डीगढीमा हालसम्म ३ सय २७ संक्रमित भएकामध्ये ९  जनाको निधन भईसकेको छ। ९६ जना उपचारमा छन् भने १ सय २३ जना निको भईसकेका छन्। बजारभन्दा गाउँघरतिर संक्रमितहरु थपिदो अवस्था छ। सातादिनयता डा.खड्काले आफ्नो निर्वाचन क्षेत्रको चौदण्डीगढीका बिभिन्न ठाउँमा निर्मीत २ वटा फलामे पुलको उद्घाटन गरेका थिए। त्यस्तै सदरमुकाम त्रियुगा नगपालिका १२ को बिसनपुरमा निर्मित हरित पार्कको पनि सातादिनअघि मात्र खड्काले उद्घाटन गरेका थिए। आफुनिकट पार्टी नेता, कार्यकर्ता र जनप्रतिनिधिसहित उपस्थित डा. खडकाले कार्यक्रममा मास्क लगाउने, दुईमिटर दुरी कायमजस्ता सामान्य सुरक्षा सतर्कतासमेत नअपनाइएको भन्दै सर्वसाधारणले चर्को आलोचना गरिरहेका छन्।  

कोभिड कहरमा जनतालाई घरबाहिर ननिस्कन निषेधाज्ञा जारी भएका बेला डा.खड्काको गतिबिधि र जेठ ५ गते कटारी नगरप्रमुखले सुकुम्बासीका घरमा डोजर चलाएको घट्नाले स्वार्थ पुर्तिमा नेताहरु कतिसम्म कर्तव्यच्युत हुँदारहेछन् भन्ने पुष्टि हुन्छ। जिल्ला प्रहरी कार्यालय उदयपुरको आईतबारको आँकडा अनुसार कोभिडका कारण जिल्लामा ५२ जना संक्रमितको दुःखद निधन भईसकेको छ। २ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९ सय ७९ मा संक्रमण पुष्टि भएको छ भने ४ सय ४० जनाको उपचार भईरहेको छ। परीक्षणको दायरा बढाउने हो भने अझै संक्रमितको संख्या दोब्बर बढी हुने अनुमान स्वास्थ्य कार्यालयले लगाएको छ। यस्तो गम्भीर अवस्थामा सांसद र नेताजस्ता जिम्मेबार व्यक्ति नै सस्तो लोकप्रियता र भोटको लालचमा फस्नाले कोविड कहर घट्नेभन्दा बढ्ने संभावना रहेको सर्वसाधारण बताउँछन्।  

कोभिड शान्त भएपछि यस्ता कार्यक्रमहरु गर्दा फरक नपर्नेमा संक्रमणको त्रासबीचमै यसरी भिडभाड गर्दै उद्घाटन र भाषण सुनाईहिड्ने डा. खड्काको गतिविधिप्रति पार्टी कार्यकर्ताबाटै गुनासो र आलोचना भएको एक अगुवा जिल्ला सदस्यले बताए। सांसद खड्काले चौदण्डीगढी मेयर खगेन्द्र राई, स्थानीय पार्टी पदाधिकारी र कार्यकर्तालाई सँगै लिएर कार्यक्रम गर्दै हिडेको गुनासो पनि स्थानीयको छ। महाधिवेशन नजिकिएको र ओली सरकारले घोषणा गरेको मध्यावधि चुनावकै कारण खड्का निषेधाज्ञाको बेला बिभिन्न कार्यक्रमको बहानामा कार्यकर्ता रिझाउने अभियानमा लागेको पार्टी कार्यकर्ताको बुझाई छ।

प्रकाशित: ७ असार २०७८ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App