७ वैशाख २०८१ शुक्रबार
समाज

हिउँदमा चुपचाप, बर्खामा भागाभाग

फाइल तस्बिर

असारको पहिलो दिन नै घरमा बस्न नसक्ने गरी वर्षा भयो। घर वरिपरि छियाछिया परेको जमीन छ। आधा भत्केका घर गाउँभरी छन्। गत वर्षको वर्षामा भत्किएको जमीन कहिँ टालिएको छैन। न जोखिममा परेका घरको व्यवस्थापन भयो। विस्थापित भएका गाउँ छाडेर हिँडे। अरु अवस्था उस्तै छ। समस्या हो बागलुङको निसीखोला गाउँपालिका–१ र २ नम्बर वडामा पर्ने हुल्दी बाहुन गाउँको।  

पोहोर पानी पर्दा लत्ता कपडा र खाद्यान्न पोको पारेर घर छाडेका हुल्दीबासीले अहिले पनि उही भोग्दै छन्। पहिरो पीडितलाई समयमा व्यवस्थापन गर्न नसक्दा अहिलेको वर्षामा उनीहरु घर न घाटका हुने अवस्था आएको हो। घरगाउँ नै मासिने गरी पहिरो गएको भए पनि कोही कसैले सहयोग नगरेको स्थानीय पूर्ण कार्की बताउँछन्। हुल्दी र बाहुनगाउँमा गएको पहिरो नयाँ भने होइन।

केही वर्ष पहिलेदेखि चलेको पहिराले गतवर्ष सबैभन्दा धेरै क्षति पुर्‍याएको छ। निसीखोला–१ मा २७ घर पूर्ण क्षति भएका थिए। एक हजार ५०९ घर उच्च जोखिममा छन् भने ७५ घर जोखिममा रहेको तथ्याङक गाउँपालिकासँग छ। वडा २ मा ५९ घर पूर्ण क्षति, उच्च जोखिममा १९ घर र जोखिममा १५० घर रहेको तथ्याङ्क छ। वडा ३ मा १० घर पूर्ण क्षति र उच्च जोखिममा २५ घर छन्।

गाउँपालिकाभरि नै वर्षापछि पहिराको समस्या भए पनि स्रोत साधनको अभावले व्यवस्थापन चुनौतीपूर्ण रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए। हिउँदमा चुपचाप बस्ने र वर्षा लागेपछि चिन्ता गर्ने परिपाटीले बस्ती स्थानान्तरण र व्यवस्थापन हुन नसकेको निसीखोला–२ का वडाध्यक्ष कुम्बीर विश्वकर्मा बताउँछन्। दुई वर्षअघि भूगर्वविद मनिका झाको नेतृत्वको टोलीले गाउँलाई रातो सूचीमा राखेर बस्ती सार्न भनेको थियो।  

बस्ती स्थानान्तरणका लागि कोही कसैले तदारुकता देखाएका छैनन्। हुल्दी र बाहुनगाउँमा लामो समयदेखि बस्दै आएका खेतीपाती र वनपाखो छाडेर हिँड्न नमानेका कारण पनि बस्ती स्थानान्तरणमा समस्या रहेको गाउँपालिका अध्यक्ष पौडेल बताउँछन्। 

यस्तै गतवर्ष भदौ २९ गतेको पहिराले गाउँ नै हल्लाएको महसुस गरेका जैमिनी नगरपालिका–१ कुश्मीशेराका कृतिनाथ शर्मा यस वर्ष घरमा बस्नै नसकेर असारको १ गते राति घर छाडे। चितवनको रत्ननगर नगरपालिकामा भाडाको घर खोजेर उनी बसाइ नै सरे। गत वर्ष दुई जनाको ज्यान लिने गरी आएको पहिरो उनको घरमाथि आएको छ।  

पहिराको व्यवस्थापन नभएका कारण जीवनभर कमाएर परिपाठ पारेको घर बुढेसकालमा छाड्नुपरेको उनको गुनासो छ। 'पहिरो रोक्न र भल बाढी तर्काउन कसैले चासो देखाएनन्', शर्मा भन्छन् 'एक्लैले गरेर नहुने रहेछ, विपत्मा ज्यान जोगाउनु नै ठूलो कुरा भयो।' शर्मा जस्तै टुनिबोटका छ परिवारले यस वर्षको बर्खा लागेपछि पहिराको त्रासले घर छाडे। केहीले छाड्ने तयारी गर्दैछन्। हिउँदभर पहिराको रोकथाम र पीडितको व्यवस्थापन नभएपछि टुनिबोटबासी वर्खा लागेपछि भागाभाग गर्न थालेका हुन्।

समस्या निसीखोला र जैमिनीको मात्रै होइन गत वर्ष बाढी पहिराका कारण विस्थापित भएका ढोरपाटन नगरपालिकाका झण्डै १३० परिवारको पनि अवस्था उस्तै छ। तमानखोला, काठेखोला, जैमिनी नगरपालिका र गलकोट तथा बरेङ गाउँपालिकामा विस्थापित भएका घर बनेका छैनन्।

प्रकाशित: ७ असार २०७८ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App