७ वैशाख २०८१ शुक्रबार
समाज

मेलम्ची बाढी: हेलम्बुमा क्षति नै क्षति

मेलम्ची–हेलम्बु सडक खण्डको हेलम्बु क्षेत्रमा बाढीबाट जोगिएको एक मात्र रातो पुल । यो पुल पनि बाढीको उच्च जोखिममा छ ।

सुन्दर पर्यटकीय गाउँ हेलम्बु मेलम्ची बाढीले क्षतविक्षत बनाएको छ । अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरोको हेलम्बु बाढीका कारण पूर्ववत अवस्थामा फर्कँन दसौँ वर्ष लाग्ने गरी क्षतविक्षत भएको छ ।  

तल्लो तटीय क्षेत्रको झण्डै २५ किलोमिटर दूरीसम्म व्यापक जनधनको क्षति पुर्‍याउने गरी मंगलबार मेलम्ची खोलामा हेलम्बु भएर बाढी आएको थियो । सडक र सञ्चार सम्पर्क टुटेकाले मेलम्ची खोलाको उद्गम हेलम्बुमा बाढीले पुर्‍याएको जनधन क्षतिको क्षति बाहिर आउन सकेको थिएन ।  

‘बाढीले हेलम्बमा अकल्पनीय क्षति पुर्‍याएको छ,’ गाउँपालिका अध्यक्ष निमाग्यालजेन शेर्पाले नागरिकसँग भने । राहत लिएर हेलिकप्टर पुग्न थालेसँगै पाँच दिनपछि बाढीले पुर्‍याएको क्षति विस्तारै बाहिर आउन थालेको हो । सञ्चार सम्पर्क टुट्नुका साथै पुलपुलेसा बगाएपछि स्थानीय सरकारका प्रमुख शेर्पा नै गाउँमा थुनिएर बस्न बाध्य भए ।  

बाढीमा बेपत्ता सबै हेलम्बुबाटै हराएका हुन् । हराइरहेका २३ अझै बेपत्ता छन् । बेपत्ता हुने १२ भन्दा बढी हेलम्बुकै हुन् । हेलम्बुकै मेलम्ची खानेपानीको मुहान अम्बाथानबाट आठ कामदार बेपत्ता भएका थिए । उनीहरु अझै हराइरहेका छन् । बेपत्ताको खोजी भइरहे पनि कोही फेला परेका छैनन् ।  

अध्यक्ष शेर्पाको अनुसार तीन पक्की र ६ झोलुंगे पुल बगेका छन् । मेलम्ची–हेलम्बु सडक खण्डको हेलम्बु क्षेत्रभित्र रहेका चारमध्ये रातो पुल मात्र बाँकी छ । यो पुल पनि धेरै जोखिममा छ । तिम्बु, दङतोम्बा र चोक्पुका पक्की पुल बगेका छन् । त्यस्तै सर्कथली,  च्याम्भेदो, ग्याल्थुम तोरीधारा, चनौटे, चालीसे च्युरिखर्क र थापाटारका झोलुंगे पुलसमेत बगेका छन् । ‘प्रमुख सडकको पक्की र मुख्य बस्ती जोड्ने झोलुंगे पुल बगेपछि स्थानीय नाकाबन्दीमा छन् । उनीहरु गाउँभित्रै थुनिएका छन्,’ प्रमुख शेर्पाले भने ।  

बाढीले आधा दर्जन बस्ती प्रभावित बनाएको छ । झण्डै डेढ सय घर बगाएको गाउँपालिकाले जनाएको छ । च्युरीखर्क, हल्दे, तिम्बु र अम्बाथानका २८ घर पशुचौपाया, खाद्यन्नसहित बगेका छन् । पूरानो चनौटे बजार, गणेशेबगर, किउलसम्मका बस्ती तथा घर आंशिक र पूर्ण क्षति हुँदा १ सय १३ परिवार बिस्थापित भएका छन् । भण्डारी सिमका तीन घर पनि बगेका छन् । बाढीको जोखिममा रहेका इलाका प्रहरी कार्यालयको भवन शनिबार बगेको गाउँपालिकाका प्रमुख प्रशासकीयक अधिकृत विष्णुहरि तिमेल्सेनाले जानकारी दिए । जोखिम बढेपछि प्रहरीले मंगलबारै भवन छोडेका थिए । उनका अनुसार चनौटे बजारका २५ व्यापारिक पसल बगेका छन् ।  

बाढीले विकास पूर्वाधारमा क्षति पु¥याउँदा हेलम्बु १० औ वर्ष पछाडि धेकलिएको अध्यक्ष शेर्पाको भनाइ छ । ‘दसक प्रयास गर्दा पनि यो क्षति पूर्ति हुन हम्मे छ,’ उनले भने । बाढीले मुख्य तथा सहायक खण्डका साढे सात किलोमिटर सडक बगाएको उनले बताए । मेलम्ची–तिम्बु–हेलम्बु खण्डको तीन ठाउँमा गरी साढे ६ किलोमिटर सडक बाढीले कटान गरेर बगर बनाएको छ । इचोक जाने एक किमी सडक बाढीले कटान गरेर क्षतविक्षत बनाएको छ ।  

बाढीले गाउँपालिका भित्र रहेका आठवटा व्यवसायिक ट्राउट माछा फार्म बगाएको गाउँपालिकाले जनाएको छ । फार्मबाटै धेरै बेपत्ता भएका हुन् । ती फार्ममा व्यवसायीको करोडौँ लगानी थियो । पछिल्लो समय हेलम्बु ट्राउट माछा हबको रुपमा विकसित हुँदै थियो । बाढीले हेलम्बुवासीको समृद्धिको सपना चकनाचुर बनाएको अध्यक्ष शेर्पा बताउँछन् ।  

बाढीले हेलम्बु एक्लिँदा सबैको ध्यान १९ किलोमिटर तलको मेलम्ची बजारमा मात्र केन्द्रित भइरहेको छ । बाढीले मेलम्चीमा मानवीय क्षति नभए पनि भौतिक नोक्सानी भने अधिक छ । राजधानीबाट नजिक रहेकाले राहत पनि मेलम्चीमै केन्द्रित छ । हेलम्बुमा शुक्रबारदेखि भने हेलिकप्टरमा थोरै–थोरै राहत पुग्न थालेको छ । गाउँपालिकाले बाढी बिस्थापितलाई विभिन्नमा ठाउँमा आश्रय दिएर खाने व्यवस्था मिलाएको छ । ‘सडकबाट तत्काल मेलम्ची जोडिन असम्भव रहेकाले ग्रामीण बस्ती हुँदै राजधानी जोड्ने मार्ग पहिचान गरिरहेका छौँ,’ अध्यक्ष शेर्पाले भने ।

प्रकाशित: ५ असार २०७८ १५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App