१३ आश्विन २०७८ बुधबार
समाज

नपत्याएको खोलाले बगाएको मनाङ

वर्षाको रेकर्ड पनि अहिलेसम्मकै उच्च

बाढी क्षतविक्षत पारेको मनाङको मस्र्याङदी आसपास । तस्बिरः नागरिक

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मस्र्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्, सधैंजसो काठे र झोलुंगेपुलबाट वारपार गरिरहेका उनीहरुलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन ।  

किनकी अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिए । तर, उखानले भने झै यो पटक नपत्याउने खोलाले सिगों बस्ती नै बगाएको छ । संयोगबस बाढीले मानवीय क्षति नगरेपनि ठुलो आकारको भौतिक नोक्सानी पु¥याएको छ । तटीय क्षेत्रका धेरै बासिन्दाको उठिबास लगाइदिएको छ । भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन । बाढीको कहर अझै कम भईसकेको छैन ।  

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन, ‘हिमाली जिल्लामा यस्तो भीषण बाढी आउला भन्ने हामीलाई पत्यारै थिएन । तर, नसोचेको अवस्था आइसक्यो । सिंगो जिल्लालाई नै थिलोथिलो पारेको छ ।’ उनका अनुसार मस्र्याङदी सहजै तर्न सकिने खोला हो । कतिपय ठाउँमा झोलुंगे त कहिँकतै काठेपुलबाट वारपार गर्ने चलन थियो । तर, अहिले भने सबैतिर ध्वस्त बनाएको उनले बताए । ‘हामीले आजसम्म यो अवस्था भोग्नुपरेन, अग्रजले पनि यस्तो संकट बेहोर्नुपरेन,’ घलेले भने, ‘तर, योपटक नपत्याएको खोलाले बगाएको छ । चामेमा मात्र पाँचसय जना मान्छे घरविहीन भईसकेका छन । खोला किनारको बसाईबारे सोच्ने बेला भएको छ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा कम पानी पर्ने जिल्ला हो मनाङ । तर, योपटक मनाङले भारी वर्षासँगै निम्तिएको संकट र क्षतिको सामना गर्नुपरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी शाखाका अनुसार यो वर्ष (२०२१) को मनसुनी वर्षाले अघिल्ला वर्षसम्मको सबै रेकर्डलाई उछिनेको छ ।  

शाखाको मनाङको हुम्देस्थित स्टेशनको रेकर्ड अनुसार जुन १६ (२०७८ असार २) मा मनाङमा अहिलेसम्मकै बढी वर्षा भएको छ । त्यो दिन मनाङको हुम्देमा ८२.२ मिलिमिटर वर्षा भएको छ । असार १ गते हुम्देमा ५४.६ मिलिमिटर वर्षा भएको छ । त्यसअघि पनि मनाङमा भएको वर्षाले नयाँ रेकर्ड बनाएको थियो । गत जेठ १५ मा त्यो बेलासम्मको सबैभन्दा बढी ६०.६ मिलिमिटर वर्षा भएको थियो । तर, यो वर्षको मनसुन सुरु भएपछि (नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरु भएको थियो) को दुई दिनमै मनसुनी प्रणाली देशभर फैलिँदा मनाङले अघिल्ला वर्षको सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको विभागका पोखरास्थित प्रमुख राजाराम ढकालले बताए ।  

‘यो वर्षको मनसुनी वर्षाले मनाङको अघिल्ला सबै रेकर्डलाई उछिनेको छ । त्यही भएर पनि हिमाली जिल्लामा बढी क्षति भएको हो,’ ढकालले नागरिकसँग भने, ‘कहिल्यै नपरेको भारी वर्षा योपटक भएको छ । त्यसले हिमाली जिल्लामा क्षति पु¥याएको हो ।’ उनका अनुसार मनसुन भित्रिएको भोलिपल्ट (जेठ २९ देखि असार २ सम्म) कोपाँचदिन अवधिमा हुम्देमा मात्र १७५.८ मिलिमिटर वर्षा भएको थियो । असार १ मा ५४.६ मिलिमिटर र २ गते ८२.२ मिलिमिटर वर्षा भएको छ ।  

‘यसअघि कहिल्यै यतिधेरै वर्षा भएको थिएन । योपटक मनसुनी प्रभाव हिमाली भेगबाट देखियो,’ उनले भने । उनका अनुुसार हिमाली भेगमा २४ घण्टामा ५० मिलिमिटिर भन्दा बढी वर्षा हुनुलाई अधिक मानिन्छ । अन्यत्रका लागि २४ घण्टामा ५० मिमिमिटर वर्षा हुनु सामान्य भएपनि हिमाली जिल्लामा भीषण मानिने उनले बताए । ‘वर्षभरिमा हुम्देमा २५० मिलिमिटर वर्षा हुनुपर्नेमा योपटक पाँचदिनमै १७५ मिलिमिटर कटिसक्यो, यो हिमाली भेगका लागि चुनौतीको संकेत हो,’ ढकालले भने, ‘हिमाली जिल्लामा यतिसारो क्षति होला भन्ने आँकलन नै थिएन ।’  

प्रिमनसुनको बेला (गत जेठ १५ मा) पनि त्यो बेलासम्मको सबैभन्दा बढी ६०.६ मिलिमिटर वर्षा हुँदा मनाङमा बाढीपहिरो निम्तिएको थियो । त्यो बाढी पहिरोका कारण सडक, पुल, पुलेसा सहित बस्तीमा असर गरेको थियो । जेठ १५ को असर कम हुन नपाउँदै पुन मनसुनी वर्षाले हिमाली जिल्लामा तहसनहस पु¥याएको उनले बताए । यतिसम्मकी ५ हजार मिटर माथिको हिमाली भेगमा यार्सागुम्बु संकलन गर्न पुगेका गाउँलेलाई पनि यो पटकको मनसुनी वर्षाले प्रभाव पारेको थियो ।  

‘साँघुरो खोँच हुँदै मनाङमा खोलानाला बगेका छन । सिरान क्षेत्रमा हिउँ थुप्रिएको र पानी पर्दा हिउँ पग्लिने र त्यसले खोलामा वहाव बढाउँदा आसपासका बस्तीमा क्षति गरेको हो,’ उनले भने, ‘साँघुरो खोँचमा भेलबाढी पस्दा आसपासका क्षेत्रमा असर पारेको छ । हिमाली भेगमा कम पानी पर्ने हुँदा बाढीको त्रासबिना ढुक्कले बसेका स्थानीय योपटक पहिलोचोटी बाढीको चपेटामा परेको उनले बताए । ‘कम पानी पर्ने भएकोले तटीय क्षेत्रका बासिन्दा बाढीको आँकलन गर्ने अवस्थामा थिएनन । तर, अहिले झुक्यायो,’ ढकालले भने, ‘अब हिमाली क्षेत्रमा पनि खतराको जोखिम बढाएको छ ।’ पृथ्वीको तापक्रम वर्षेनी ०.०६ डिग्री सेन्टिग्रेड वृद्धि भइरहँदा हिमश्रृंखला पग्लने क्रममा बढेकोले पनि थोरै पानी पर्नासाथ हिमाली भेगमा बाढीपहिरोको जोखिम निम्तिने उनले बताए । मनाङमा मनसुन अवधिमा २३४ मिलिमिटर वर्षालाई औषत मानिन्छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार अहिले मनाङबासीले प्राकृतिक प्रकोपको पहिलोपटक तितो अनुभव बटुलेका छन् । ‘मैले ९० वर्ष हाराहारीमा पुगेका वृद्धवृद्धासँग कुराकानी गर्दा यस्तो बाढीपहिरोको अनुभव अहिलेसम्म भएको रहेनछ । अहिले त सबैको आँकलन भन्दा पर गएर क्षति पुग्नेगरि प्रकोप भयो,’ लामिछानेले भने, ‘यस्तो क्षतिको अनुमान स्थानीबासिसँग त थिएन नै हामीले पनि अनुमान गरेका थिएनौ ।’ उनका अनुसार मनाङका अधिकांश खोलानाला कुला आकारका खोल्साखोल्सी छन । धेरैठाउँमा पैदल र कहिँकतै काठेपुलबाटै वारपार गर्न सकिने अवस्था भएपनि अहिले अवस्था बदलिएको उनले बताए ।

‘तटीय क्षेत्रमा सन्त्रास छाएको छ । तटीय क्षेत्रमा जोखिम निम्तिने संकेत देखिएको छ । यहाँका बासिन्दा पनि ढुक्क छैनन,’ उनले भने, ‘यस्तो क्षति हुनुमा जलवायु परिवर्तनको असर हुनसक्छ । प्रकृतिमा परिवर्तन आएको अनुमान हाम्रो छ । कहिल्यै अनुमान नगरेको विपद अहिले निम्तिएको छ । यो सबै अध्ययनको विषय हो ।’ उनका अनुसार सदरकमुकाम चामे, तल्लो भेग धारापानी र तालगाँउ योपटक बाढीबाट बढि प्रभावित भएका छन । अहिलेसम्मको तथ्यांकमा ५५ घर पूर्णरुपमा ध्वस्त भएका छन । मस्र्याङदी र आसपास नदीमा गरि आठवटा झोलुंगे र २ वटा पक्कि पुल पनि बगेका छन ।  

हिमाली क्षेत्रमा दुईदशक बढी समयदेखि अनुसन्धान गरिरहेका श्रीकमल द्विवेदी भन्छन्, जलवायु परिवर्तनको असरको सबैभन्दा ठुलो मार अब हिमाली क्षेत्रका बासिन्दाले खेप्नुपर्ने संकेत देखिएको छ ।’ उनका अनुसार वर्षभरिमा २ सय मिलिमिटर हाराहारीमा पानी पर्ने ठाउँमा छोटो समयमा भीषण वर्षा हुँदा क्षति पुगेको हो । ‘छोटो समयमा भीषण वर्षा भएको अनुमान छ । एकैपटक ठुलो वर्षा हुँदा एकाएक नोक्सान पु¥याएको हो,’ उनले भने । माथिल्लो भेगसम्म पानी पर्न थाल्दा अब नयाँ खालको प्राकृतिक विपद्को संकेत मिलेको उनले बताए ।  

‘उच्च हिमाली भेगमा जोखिम बढिरहेको संकेत गरेको छ । आगामि दिनका लागि त अझै जोखिमपूर्ण छ,’ द्विवेदीले भने, ‘अब जतिसक्दो छिटो हिमाली भेगका खोलाको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्छ ।’ कम पानी पर्ने र खोलानालामा कहिल्यै बाढी नआएकोले पनि अहिलेसम्म खोलाकिनारमा बस्ती बसेकोमा अब जोखिम थपिएको उनले बताए । ‘मनाङमा समथर मैदान नभएकोले पनि स्थानीयबासि खोला किनारमा बसेका थिए । तर, अब तटीय क्षेत्र झनै जोखिमपूर्ण छ । अब योजनावद्ध रुपमा उनीहरुलाई सुरक्षित ठाउँमा सार्नुको विकल्प छैन,’ उनले भने । 

प्रकाशित: ५ असार २०७८ १७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App