coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सय मृत्युमा एक आत्महत्या

विश्वमा हुने मृत्युको प्रमुख कारणमा आत्महत्या रहेको विश्व स्वास्थ्य संगठनले बिहीबार सार्वजनिक गरेको एक आंकलनले देखाएको छ। ‘सन् २०१९ मा विश्वव्यापी आत्महत्या’ मा प्रकाशित उक्त आंकलनमा अनुसार सन् २०१९ मा विश्वमा ७ लाख मानिसले आत्महत्या गरेका थिए। यो हिसाबले विश्वका हरेक सयजनाको मृत्युमा एक आत्महत्याका कारण हुने देखिएको छ।

एचआइभी, मलेरिया, स्तन क्यान्सर, युद्ध र हत्याबाट भन्दा आत्महत्याका कारण अत्यधिक संख्यामा मृत्यु हुने देखिएको छ। बिहीबार जारी विज्ञप्तिमा संगठनका महानिर्देशक डा. टेड्रोस अथानोम घेब्रेससले आत्महत्यालाई उपेक्षा गर्न नसकिने र यसको रोकथाम झनै महत्वपूर्ण विषय बनेको बताएका छन्। ‘कोभिड–१९को महामारीले जागिर गुम्ने, वित्तीय संकट र सामाजिक आइसोलेसनजस्ता कारणले आत्महत्याको जोखिम बढेको छ। यसलाई रोक्न संगठनले आज (बिहीबार) नयाँ निर्देशिका समेत जारी गरेकोछ,’ डा. घेब्रेससले भनेका छन्।

विश्वमा १५ देखि २९ वर्षको उमेर समुहमा हुने कुल मृत्युमा आत्महत्या चौथो प्रमुख कारण रहेको छ। यो उमेर समूहमा सबैभन्दा बढी मृत्यु क्रमशः सडक दुर्घटना, क्षयरोग र पारस्परिक हिंसाका कारण हुने गर्छ। विश्वका विभिन्न देश, क्षेत्र तथा लिंगीय आधारमा आत्महत्याको दर फरकफरक रहेको छ। महिलाभन्दा दुई गुणा बढी पुरुषले आत्महत्या गर्ने गर्दछन्। हरेक १ लाख पुरुषमा १२.६ जनाले आत्महत्या गर्छन् भने महिलामा हरेक १ लाख महिलामा ५.४ जनाले आत्महत्या गर्ने पाइएको छ। तर न्यून तथा मध्यम आय भएका मुलुकमा हरेक १ लाख महिलामा ७.१ ले आत्महत्या गर्छन्।

सन् २००० देखि २०१९ सम्म आत्महत्याको दरमा ३६ प्रतिशतले कमी आएको थियो तर यही अवधिमा अमेरिकी क्षेत्रमा यो १७ प्रतिशतले बढेको देखिएको छ। विश्वका कतिपय देशले आत्महत्या रोक्न महत्वपूर्ण पहल गरेका छन् भने अधिकांशले यसमा खास प्रतिबद्ध देखिएका छैनन्। विश्वका ३८ देशले आत्महत्या रोकथाम रणनीति अख्तियार गरेका छन्। सन् २०३० सम्मको दिगो विकास लक्ष्यअनुसार आत्महत्यामार्फत मृत्यु हुनेको संख्यालाई एक तिहाइ घटाउने लक्ष्य पूरा गर्न पनि विश्वका राष्ट्रले थप पहल गर्नुपर्ने देखिएको छ।

संगठनले बिहीबार जारी गरेको निर्देशिकामा आत्महत्या गर्न प्रयोग गरिने पेस्टिसाइड, अग्निजन्य अस्त्रको उपलब्धतामा सीमित गर्ने, आत्महत्या गर्न खोज्नेको पहिचान, व्यवस्थापन तथा फलोअप, किशोरहरूमा सामाजिक तथा भावानात्मक जीवन उपयोगी सीप विकास, आम सञ्चारमा आत्महत्याका सम्बन्धमा लेखिने समाचारलाई बढी उत्तरदायी पार्नेलगायत विषयहरू समेटिएका छन्।

विश्वमा हुने आत्महत्यामा पेस्टिसाइड विषयको २० प्रतिशत हिस्सा रहेकाले यसलाई निषेध गर्नुपर्ने संगठनले बताएको छ।

प्रकाशित: ५ असार २०७८ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App