७ वैशाख २०८१ शुक्रबार
समाज

भित्र कार्यपालिका बैठक : बाहिर जनताको नारा जुलुस

क्याप्शन

भक्तपुरको मध्यपुरथिमि नगरपालिका कार्यालयमा कार्यपालिका बैठक चलिरहँदा बाहिर जनताले नारा जुलुस गरेका छन्।

नगरपालिकाको आसन्न नगर सभाको विषय, बजेट, नीति तथा कार्यक्रमबारे बैठक बसिरहँदा नगरपालिकाकै गेटमा जनताले धर्ना दिएर नारा जुलुस गरेका हुन्।  

उनीहरुले वडा नं.६ मा रहेको नगरपालिका भवन पुग्ने सडक कालोपत्रे नभएको भन्दै नारा जुलुस गरेका हुन्। गएको दुई वर्षदेखि सो सडक कालोपत्र नहुँदा समस्या भोगिरहेका जनताहरु निषेधाज्ञाको बेवास्ता गरी सडकमा उत्रिएका हुन्।

सडकमा उत्रिएका उनीहरुले तत्काल सडक कालोपत्रे गर्न माग गर्दै नारा लगाएका थिए।‘दुई वर्षभन्दा धेरै भइसकेको छ, यो बाटो वर्षामा हिलाम्य र हिउँदमा धूलाम्य भएको, पटकपटक कालोपत्र गर्न माग गर्दा पनि नगरेपछि हामी आन्दोलनमा उत्रिएका हौं’ आन्दोलनरत स्थानीय शोभा प्रजापतिले भनिन्, ‘कहिले के कहिले के भनी नगरपालिकाले आलटाल गर्दै पन्छिने गरेको छ।’

नगरपालिका कार्यालय जाने मुख्य सडक भएर पनि नगरपालिकाले प्राथमिकतामा नराख्दा र साविकको पीच सडक स्तरोन्नतिका लागि कोटर्दा आफूहरुलाई हिँडडुल गर्न समेत समस्या भएको स्थानीयले बताए। ‘पानी पर्दा हुने हिलोले वारिबाट पारि जान समेत गार्हो छ, हामीलाई भएको गार्होसार्होको नगरपालिकाले मतलबै गरेन,’ आन्दोलनरत सन्देश प्रजापतिले भने।

धर्ना दिएका स्थानीयले सो सडक स्तरोन्नतिका लागि कहिले सिमांकनमा समस्या भएको भन्दै काम पछि धकेल्दै आएको बताए। ‘अहिले पनि बाटो खनेर खलपत्र छोडिएको छ, हामीले खानेपानीको होला भन्ने सोचेका थियौं, त्यहाँ त बिजुलीका तारहरु अण्डरग्राउण्ड गर्न लागिएको रहेछ, त्यसले अझ बाटो पीच नहुने भयो, हामीले कति खेप्ने सास्ती ?’ स्थानीय शोभाको प्रश्न छ।

प्रकाशित: ४ असार २०७८ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App