१६ चैत्र २०८० शुक्रबार
समाज

सुदूरपश्चिममा बाढी र पहिरोले २ को मृत्यु १ बेपत्ता

असार महिना सुरु नहुँदै भएको लगातारको बर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ।   १ जना वेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्। 

नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालय दिपायलका प्रवक्ता प्रहरी उपरिक्षक थापाका अनुसार बाजुरा बुढीगंगा नगरपालिका ३ का ३५ वर्षीया मोतिकला लुहारलाई बड्डीगाड खोलामा आएको बाढीले सोमवार (जेठ ३१ गते) बगाएको थियो। खोला तर्ने क्रममा बगेर बेपत्ता भएका लुहारको शव दोश्रो दिन मंगलवार फेला परेको थियो। यसैगरि बाजुरा त्रिवेणी नगरपालिका वडा नं ५ का १२ वर्षीय बालक कमल बुढा पनि सोमवार नै किन्ने खोलामा आएको बाढीले बगाएर वेपत्ता भएका छन्। वेपत्ता भएका उनको अझै पत्ता लाग्न नसकेको प्रहरीले बताएको छ। 

यसैगरि डोटी के आई सिंह गाउँपालिका ३ का ६० वर्षीय खडक बहादुर बमको बुधवार पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोमा परेर १६ वर्षीय  कुँवर र १७ वर्षीया पुजा कुँवर घाइते भएका छन्। उनीहरुको धनागढी स्थित निसर्ग अस्पतालमा उपचार भैरहेको छ। यस वर्ष बिगतको भन्दा एक महिना अगावै वर्षा सुरु भएकाले बाढी र पहिरोवाट बढी जोखिम रहेको भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन्।

सुदूरपश्चिममा बर्षातका कारण प्रत्येक बर्ष पहिरोले पहाडी ७ जिल्लामा धनजनको क्षती पुर्याउने गरेको छ भने बाढीले कैलाली र कंचनपुरमा धनजनको क्षती गर्ने गरेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाढी र पहिरोवाट हुने क्षती रोक्न स्थानिय निकाय, सुरक्षा निकाय सवैलाई तयारी अवस्थामा रहन आग्रह गरेको बताएका छन्। सुदुरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले यस बर्ष छिटो पुर्व मनसुन सुरु भएकाले बढी क्षती हुन सक्ने भएकाले अत्यन्त सचेतता पुर्वक बाढी पहिरोको जोखिम कम गर्न र बिपत व्यवस्थापन गर्न प्रदेश सरकारले कुनै कसर वाँकी नराख्ने गरि काम थालिसकेको बताइन्।

 प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी,सुरक्षा अधिकारी लगायतका नियकायलाई अलर्ट रहन निर्देशक समितीको संयोजक हैसियतले निर्देशन दिएको उनले बताइन्। यसैगरि बाढी र पहिरोको जोखिमको संभावित क्षेत्रको पहिचान गरेर त्यहि बमोजिमको योजना बनाउन र तयारी गर्न पनि मातहतका निकायलाई लगाइएको उनले बताइन्। ‘पुर्व  तयारी, बिपतमा परेको उद्धार र पुनस्र्थापना लगायत सवै बिषयमा प्रदेश सरकारले गंभिर रुपमा छलफल गरेर काम गर्ने योजना बनाएको छ’उनले भनिन्।

प्रकाशित: ३ असार २०७८ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App