८ वैशाख २०८१ शनिबार
समाज

भगवान भरोसामा गाउँ!

सहिदमार्गमा गएको पहिरो फाल्दै प्रहरी ।

निरन्तरको बर्षातपछि रोल्पाका अधिकांश सडक अवरुद्ध भएका छन् । ग्रामिण सडक मात्र नभएर चल्तीका सडक समेत बर्षातपछिको पहिरोले गर्दा बन्द भएका हुन् । केही दिन यता धेरै गाउँहरु एक अर्काबाट सम्पर्कविहीन छन् । दुर्गम गाउँतिर कोही कतै बिरामी भयो वा दुर्घटना भयो भने भगवान भरोसाको अवस्था छ । सवारी साधन संचालन हुन नसक्ने भएपछि स्थानीयहरु आतंकित भएका हुन ।

जिल्लाका प्रायः सबै सडक बन्द छन् । गतिलो मानिएको सहिदमार्ग बन्द छ भने लिवाङदेखि घर्तीगाउँ, थवाङ सडक पनि बन्द छ । सुलिचौरदेखि थवाङ जस्तै जिल्लाका सबै ग्रामीण सडक पनि बन्द छन् । रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार प्रहरी हाई अलर्टमा रहेको छ । ‘जुनसुकै अवस्थामा पनि परिचालन हुन सक्ने गरि तयारी हालतमा छौ ।’ सुवेदीले भने, ‘प्रहरीको सकृयतामा बन्द सडक खुलाउने प्रयास पनि भईरहेको छ ।’  

यसैबीच रोल्पाका बिभिन्न स्थानमा ५ घर भत्किएका छन् । प्रहरीका अनुसार लुङग्री गाउँपालिका ४ सालडाडा एउटा घर भासिएको छ । उक्त घरले भत्किएमा अन्य घर जोखिम हुने देखिएकाले प्रहरी परिचालन गरि जोखिम नियन्त्रणको प्रयास भईरहेको छ । थवाङ गाउँपालिका १ मा मंगलबार २ घर भत्किए भने त्रिबेणी गाउँपालिका ६ जुगार र गंगादेब गाउँपालिका १ मा दुईवटा घर भत्किएको छ । प्रहरीका अनुसार यी घटनामा मानवीय क्षति भने भएको छैन ।  

रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले अहिले सम्म ठूलो क्षति नभएको बताए । उनले भने, ‘जिल्लाका सबै सडक अवरुद्ध छन् । सडक क्लीयर गर्न मौसमले साथ दिएको छैन ।’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भने,‘अहिले सम्म रोल्पाको अवस्था नर्मल छ । नेसनल न्युज हेरेर रोल्पालाई ट्याली गर्नु पर्ने अवस्था छैन ।’  

यो समयमा गाउँमा कतै ठूलो बिपद पर्यो र थप उद्धारको आवश्यकता देखियो भने के गर्ने भन्ने बारे स्थानीय प्रशासन र स्थानीय तहले गतिलो योजना भने बनाएका छैनन् । कोरोना महामारीसंगै बर्षातको बितण्डाबाट कसरी सुरक्षित बन्ने भन्ने बारेमा जनस्तरमा सुसूचित पनि गरिएको छैन ।

प्रकाशित: ३ असार २०७८ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App