coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठाउँठाउँमा बाढी–पहिरोको वितण्डाः मेलम्ची करिडोर तहसनहस

बाढीले क्षतिग्रस्त पश्चिमी सिन्धुपाल्चोकको प्रमुख केन्द्र मेलम्ची बजार। तस्बिर : ध्रुव/नागरिक

वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्।

मेलम्ची खोलाको उद्गमस्थल हेलम्बु भएर मंगलबार दिउँसोदेखि आएको बाढीले तल्लो तटीय क्षेत्रमा धेरै क्षति पुर्‍याएको छ। बाढीले बगाएका एक पुरुषको शब बुधबार इन्द्रावती नदीमा भेटिएको प्रहरीले जनाएको छ। ती पुरुषको पहिचान खुल्न सकेको छैन। बाढीमा २० जना बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ। यस्तै विभिन्न ठाउँबाट ७० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश नेपालका अनुसार बाढीमा बेपत्ता हुनेमा हेलम्बु गाउँपालिकाका माधव भण्डारी (३१), गणेश ज्योति (४२), टीकामाया खड्का (६२), ज्ञानेन्द्र कक्षपति (५५), श्यामा तामाङ (५०), उनकी पत्नी र चौतारा साँगाचोकगढी नगरपालिका–६ का सुरेन्द्र नेपाल (२३) छन्। खड्का किउलस्थित भण्डारी रिसोर्टकी कामदार र कक्षपति ट्राउट माछा व्यवसायी हुन्। बेपत्ता भएका अन्य आठजनामा मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्राेका कामदार रहेको जानकारी डिएसपी नेपालले दिए। बेपत्ता कामदारमा तीनजना चिनिया, तीनजना भारतीय र दुईजना नेपाली छन्। उनीहरूले मेलम्ची आयोजनाको मुहानस्थल हेलम्बुको अम्बाथानस्थित क्याम्पमा बसेर बाँध बनाउने काम गर्थे। ठेकेदार कम्पनीले हराएका कामदारको खोजी गरिदिन स्थानीय प्रशासनलाई पत्राचार गरेको छ। शुक्रबार साँझबाटै उनीहरू हराइरहेको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेको संख्या अझै धेरै हुन सक्ने स्थानीयको भनाइ छ। बाढी प्रभावित क्षेत्रमा सडक र सञ्चार सम्पर्क टुटेकाले क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए।  

‘व्यापक जनधनको क्षति पुगेको आँकलन गरिएको छ। तर क्षतिको यकिन विवरण प्राप्त गर्न सकिएको छैन,’ उनले भने। वर्षा भइरहेको र नदी सतह नघटेका कारण बेपत्ताको खोजी, राहत वितरण, उद्धार र क्षतिको विवरण संकलन गर्न समस्या भएको सहायक प्रजिअ खनालले बताए।

बाढी आएपछि मेलम्ची करिडोरमा फसेका ६० जनाको नेपाली सेना र निजी क्षेत्रको हेलिकोप्टरबाट बुधबार सकुशल उद्धार गरिएको छ। मेलम्ची आयोजनाको क्याम्पबाट ४७ कामदारको उद्धार गरिएको छ। त्यहाँ ६०/७० कामदार बस्दै आएका आयोजनाले जनाएको छ। बाढी पसेपछि मेलम्ची बजारका घरका छतमा बसेका चारजनाको पनि उद्धार गरिएको छ।

हेलम्बुको नाखोतेदेखि तिम्बु, मेलम्ची हुँदै झण्डै २० किलोमिटर तलको तटीय क्षेत्रसम्म बाढीले व्यापक क्षति पु¥याएको छ। हेलम्बु गाउँपालिकामा धेरै क्षति भएको अनुमान गरिएको छ। बाढीले झण्डै एक सय घर, दर्जन पक्की तथा झोलुंगे पुल बगाएको छ। बजार क्षेत्रमा रहेका सुरक्षा निकायका कार्यालय र ब्यारेक पनि डुबानमा छन्। खोलाले सडक र खेतीयोग्य जमिन बगाएको छ। नदी आसपाका आधा दर्जनभन्दा बढी माछा र कृषि फार्मसमेत बाढीले बगाएको छ।

हेलिकोप्टरबाट बुधबार मेलम्ची खोलाको उद्गमस्थल अवलोकन गरेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पहिरोले मेलम्ची नदी थुनेर खुलेपछि बाढी निम्तिएको बताए। ‘घटनास्थलको प्रकृति हेर्दा पहिरो खस्ने, नदी थुनिने र खुल्ने क्रम केही पटक चलेपछि ठूलो बाढी आएको देखिन्छ,’ स्थानीयसमेत रहेका उनले भने। उनका अनुसार हेलम्बुको चोक्पुबाट ५ सय मिटरमाथि पहिरो खसेर खोंचबाट बगेको खोला थुनेको देखिन्छ। त्यहाँ ठूलो पहिरो गएको उनले जानकारी दिए। पहिरोस्थल मेलम्ची मुहानबाट तीन किलोमिटर माथि पर्छ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुमा मानवीयसहित धेरै भौतिक क्षति भएको बताए। उनका अनुसार बाढीले एक दर्जनभन्दा बढी घर रहेको तल्लो तिम्बु बजार बगाएको छ। नाखोतेको पक्की पुल, मेलम्ची आयोजना सुरक्षार्थ स्थापित नेपाली सेनाको क्याम्प पनि बाढीले बगाएको छ। इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी डुबानमा परेका छन्। डुबानमा परेको चनौटेङ, तालामाराङ बजार क्षतिग्रस्त छ।

बाढीले मेलम्ची बजार बगरमा परिणत गरेको छ। मेलम्चीको पुरानो र माथिल्लो बजार डुबानमा परेको प्रहरीले जनाएको छ। यहाँ डुबानमा परेका ४४ घरमा क्षति पुगेको छ। बजारबाटै खोलो बगिरहेको छ। पाँचतले घरका दुई तला डुबेका छन्। सदरमुकाम चौतारा जाने इन्द्रावती नदीमाथिको  

पक्की तथा त्यस नजिकै रहेको ९० वर्ष पुरानो झोलुंगे पुल बाढीले बगाएको छ। ४ करोड रुपैयाँ खर्चेर बनाइएको ग्रिनसिटी पार्क, निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल, रेडियो मेलम्चीको भवन, बसपार्क, किरियापुत्री भवन लेदो माटोले पुरिएका छन्। दुवाचौर जोड्ने र फट्टेको पक्की पुलसमेत बाढीले बगाएको छ। मेलम्ची दोभानकै झोलुंगे पुल पनि बाढीले तानेको छ।

मेलम्चीको आधा बजार क्षेत्र बगर बनेको स्थानीयले बताए। झण्डै तीन सय बजारवासी स्थानीय विद्यालय, सुरक्षा निकायका ब्यारेक र टार क्षेत्रमा आश्रित छन्। सडक र सञ्चार सम्पर्क टुटेको छ। पोलहरू ढल्दा दुई दिनदेखि बिजुली बत्ती छैन। मंगलबार दिउँसोदेखि बाढी आउन सुरु गरेकाले स्थानीयले भाग्ने मौका पाउँदा मानवीय हताहती धेरै हुन नपाएको सहायक प्रजिअ खनाल बताउँछन्। नदी किनारका स्थानीयलाई सुरक्षितस्थलमा सार्ने काम भइरहेको उनले बताए। ‘सम्भावित जोखिम अझै कम भइसकेको छैन,’ उनले भने।

बाढीपहिरोले मेलम्ची–इन्द्रावती नदी करिडोरका दर्जनौं बस्ती एक्लिएका छन्। मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका सडक र सञ्चार सम्पर्कबाट एक्लिएका हुन्।

बिजुली आपूर्ति नहुँदा सबैका मोबाइल फोन स्विच अफ छन्। सञ्चारका अन्य साधनले पनि काम गरेका छैनन्। हेलम्बु मार्ग अवरुद्ध छ। सडकमा पुल पुलेसा छैनन्। ग्रामीण सडक टुटेको छ। हिँडडुल गर्ने झोलुंगे पुल चुँडिएका छन्। बाढीपीडित त्रास, भोक र शोकमा छन्।

मेलम्ची, लार्के, यांग्री र इन्द्रावती नदीले स्थानीयलाई थुनेर राखेको छ। ओल्लो–पल्लो गाउँबीच सञ्चार र अन्य सम्पर्क विच्छेद छ। वैकल्पिक मार्ग सदरमुकाम जोड्ने इन्द्रावती नदीमाथिको मोटरेवल पुल बगेको छ। मेलम्ची बजारमाथि हेलम्बुमा आधा दर्जन पुल भत्किएका छन्। इन्द्रावती पुल भत्किँदा पाँचपोखरी थाङपाल गाउँपालिका आउजाउ गर्ने बाटो छैन। दुवाचौर जोड्ने पक्की पुल पनि बाढीले बगाएको छ। तिम्बु, मेलम्चीघ्याङलगायत स्थानका पुल पनि भत्किएका छन्। ‘सडक र सञ्चार सम्पर्क टुट्दा बाढीप्रभावित क्षेत्र सबै कुराबाट एक्लिएका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी खनालले भने। 

उनले बाढी प्रभावित क्षेत्रमा रहेका सुरक्षाकर्मी र सरकारी निकायसँगै सम्पर्क हुन नसकेको बताए। खनालका अनुसार सडक र सञ्चार सम्पर्क टुटेकै कारण घाइतेको उद्धार, बेपत्ताको खोजी, राहत वितरणलगायत काम प्रभावकारी हुन सकेको छैन। खराब मौसमका कारण हेलिोकप्टर उडान पनि सम्भव भइरहेको छैन।

प्रकाशित: ३ असार २०७८ ००:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App