coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीपहिरोको बितण्डा: एक्लिए मेलम्ची–इन्द्रावती करिडोर क्षेत्रका बस्ती (अपडेट)

बाढीपहिरोको बितण्डापछि चर्चित मेलम्ची–इन्द्रावती नदी करिडोरका दर्जनौँ बस्ती एक्लिएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका सडक र सञ्चार सम्पर्कबाट टाडिएका हुन्।

बाढीको बितण्डा सुरु भएसँगै मंगलबार साँझदेखि बिजुली बत्ती छैन। सबैका मोबाइल फोन स्वीच अफ छन्। सञ्चारका कुनै साधनले काम गरेका छैनन्। हेलम्बु राजमार्ग अवरुद्ध छ। सडकमा पुल पुलेसा छैनन्। ग्रामीण सडक टुटेको छ। हिँडडुल गर्ने झोलुङ्गे पुल चुँडिएका छन्। सुरक्षित स्थलका स्थानीय घर भित्रै थुनिएका छन्। नदी किनारका स्थानीयलाई ज्यान जोगाउनै धौ छ। त्यहाँ भागदौड छ। उनीहरुलाई त्रास, भोक र शोकले नराम्री निमोठेको छ।  

हो, सिन्धुपाल्चोकको सिँगो पश्चिमी मेलम्चीमा क्षेत्र बिगत २४ घण्टादेखि त्राहीमाम् छ। मेलम्ची, लार्के, यांग्री र इन्द्रावती नदीले स्थानीयलाई थुनेर राखेको छ। बाढी प्रभावित क्षेत्रबारे सदरमुकाम बेखबर छ। पल्लो–पल्लो गाउँबीच नै सम्पर्क विच्छेद छ। तलमाथिको जनसम्पर्क टुटेको छ। सबै थुनिएर बसेका छन्।  

पश्चिमी केन्द्र मेलम्चीदेखि माथिका सबै बस्ती बेखबर छन्। हेलम्बु राजमार्गको बाहुनेपाटी पुल बगेको छ। बैकल्पिक मार्ग सदरमुकाम जोड्ने इन्द्रावती नदी माथिको मोटरेवल पुल बगेको छ। मेलम्ची बजारमाथि हेलम्बुमा आधा दर्जन पुल भत्किएका छन्। चारैतिरबाट घेराबन्दीमा पर्दा मेलम्चीबासी तल–माथि, दायाँ–वायाँ गर्ने ठाउँ छैन। इन्द्रावती पुल भत्किँदा पाँचपोखरी थाङपाल गाउँपालिका आउजाउ गर्ने बाटो छैन। सँगैको झोलुङ्गे पुल, अलिमाथिको दोभान र फट्टेका झोलुंगे पुल चुडिँदा पैदल हिँड्ने बिकल्प पनि बाँकी रहेन। दुबाचौर जोड्ने पक्की पुल पनि बाढीले बगाएको छ।  

हेलम्बुको तिम्बु, मेलम्चीघ्याङ लगायत स्थानका पुल पनि भत्किएका छन्। ग्रामीण सडक जोड्ने पक्की र झोलुंगे पुलसमेत बगेपछि हेलम्बुवासी नजरबन्दमा झैँ छन्। ‘सडक र सञ्चार सम्पर्क टुट्दा बाढीप्रभावित क्षेत्र सबै कुराबाट टाढिएका छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले भने, ‘बास्तविक जनधनको क्षतिबारे अझै बेखबर छौँ।’ उनले बाढी प्रभावित क्षेत्रमा रहेका सुरक्षाकर्मी र सरकारी निकायसँगै सम्पर्क हुन नसकेको बताए। खनालका अनुसार सडक र सञ्चार सम्पर्क टुटेकै कारण घाइतेको उद्धार, बेपत्ताको खोजी, राहत वितरण लगायत काम प्रभावकारी हुन सकेको छैन। बर्षा र खराब मौसमका कारण हेलिकप्टर परिचालन पनि सम्भव भइरहेको छैन।

प्रकाशित: २ असार २०७८ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App