७ वैशाख २०८१ शुक्रबार
समाज

राउटे समुदायमा सिधै राहत वितरण गर्न नपाइने

सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीलाई संकलित नगद हस्तान्तरण गरिँदै । तस्बिरः नगेन्द्र/नागरिक

राहत वितरणका नाममा राउटे समुदायको बस्तीमा हुने अनाधिकृत प्रवेश रोक्न स्थानीय प्रशासनले एकद्वार नीति ल्याएको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सिधै राउटे समुदायको बस्तीमा पुगेर राहत वितरण गर्ने कार्यमा रोक लगाएको छ।

अब राउटे समुदायलाई सहयोग गर्न चाहने दाताहरुले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ। ‘जंगलमा फिरन्ते जीवनयापन गर्ने राउटे समुदायका आफ्नै मौलिक मूल्य, मान्यता र परम्परा छ,’ प्रजिअ रिजालले भने, ‘हालै यो समुदायका युवतीमाथि भएको दुर्व्यवहारको घटना र संवेदनशीलतालाई दृष्टिगत गरेर राउटेका लागि वितरण हुने राहतको उचित व्यवस्थापन गर्नका लागि एकद्वार प्रणाली लागू गरिएको हो।’

बैठकले विभिन्न दाताहरुबाट राउटे समुदायका लागि प्राप्त हुने राहतलाई एकद्वार प्रणालीमार्फत वितरण गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो। ‘दाताहरुले राउटे समुदायका लागि उपलब्ध गराएको नगद तथा जिन्सी सामग्रीहरु सुरुमा सामाजिक विकास मन्त्रालयले मौज्दात राखेर आवश्यकताका आधारमा वितरण गर्ने छ,’ प्रजिअ रिजालले भने, ‘दाताहरुबाट त्यसरी उपलब्ध भएको राहतको विवरणको छुट्टै अभिलेख तयार गर्नुपर्ने छ।’

बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा जेठ २४ गते बसेको बैठकले गठन गरेको सहजीकरण समितिको सिफारिसका आधारमा दाताहरुले उपलब्ध गराएको सहयोगलाई वितरण गर्ने निर्णय पनि गरेको छ।  

यस्तै दाताहरु आफै राउटे समुदायको बस्तीमा पुगेर राहत उपलब्ध गराउन चाहेमा राहतको अभिलेख सामाजिक विकास मन्त्रालयमा राखेर राउटे रहेको स्थानीय तह र सहजीकरण समितिको सदस्यको रोहवरमा बस्ती नजिकै राउटे समुदायका मुखियाको उपस्थितिमा वितरण गर्ने र राउटे समुदायको संवेदनशीलतालाई ख्याल गर्दै बस्तीभित्र भने प्रवेश नदिने निर्णय भएको बैठकले गरेको छ।

राउटे समुदायलाई सहयोग

दुई साता अघि राउटे समुदायका दुई युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापपछि उनीहरुको बस्तीमा प्रवेश निषेध गरिएको छ। कोरोनाका कारण जारी निषेधाज्ञाका कारण राउटे समुदाय काठका सामग्रीहरु बिक्री गर्न बाहिर निस्कन पाएको छैन। अहिले बस्तीमा खाद्यान्नको संकट छ। यहीँ बेला उनीहरुको संक्रान्ति पूजा चलिरहेको छ। राउटे बस्तीमा खाद्यान्न संकट कम गर्नका लागि हाम्रो सानो प्रयास नेपाल र इन्सिच्यूट फर नेपालको सहयोगमा संकलित ७५ हजार पाँच सय रुपैयाँ कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

‘राउटे समुदायका युवतीमाथि भएको घटनापछि बस्ती शिल गरिएको र प्रशासनले राहत वितरणका लागि एकद्वार प्रणाली लागू गरेकाले संकलित रकम सामाजिक विकास मन्त्रालयको सामाजिक महाशाखा प्रमुखलाई हस्तान्तण गरेका हौं,’ हाम्रो सानो प्रयास नेपालका कर्णाली प्रदेश संयोजक रमेश हमालले भने, ‘राउटे समुदायको आवश्यकता अनुसार उक्त रकम खर्च हुने अपेक्षा गरेका छौं।’  

संकलित रकम रमेश हमाल र खगेन्द्र हमालले सामाजिक विकास महाशाखाका प्रमुख अनिता ज्ञवालीलाई हस्तान्तरण गरेका थिए। महाशाखा प्रमुख ज्ञवालीले बस्तीमा राहत वितरणका नाममा अनावश्यक भीडभाड हुनुका साथै उनीहरुको परम्परा र संस्कृतिमाथिनै खतरा उत्पन्न भएपछि एकद्वार प्रणाली लागू गरिएको बताइन्। उनले महाशाखालाई प्राप्त सहयोग राउटे समुदायका मुखियाहरुसँग छलफल गरेर आवश्यक खाद्यान्न, पाल र कपडा खरिदमा खर्च गरिने बताइन्।

प्रकाशित: १ असार २०७८ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App