१७ श्रावण २०७८ आइतबार
समाज

'राजा'बाट 'रैती' मार्गमा राउटे समुदाय

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठबाट बनाइएको भाँडा हस्तान्तरण गर्दै राउटे अगुवा। तस्बिर : नागरिक

राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। समुदायदेखि टाढाको जंगलमा बस्ने, काठका भाँडासँग अन्न साट्नका लागि मात्रै बस्तीसम्म पुग्ने, रूपैयाँ नछुने यो समुदायमा पछिल्लो दुई दशकयता धेरै परिवर्तन आएको छ। राउटे समुदायले आफ्ना तीन वटा मान्यतालाई नछाडे पनि अन्य समुदायसँगको अधिकतम घुलमिलका कारण उनीहरूमा सकारात्मक भन्दा नकारात्मक परिवर्तन धेरै देखिन थालेका छन्। राउटे समुदाय आफुहरूलाई ‘राजा’ भन्छन्, अरूलाई ‘रैती’ मान्छन्।

नेपालमा चलेको सशस्त्र द्वन्द्वले यो समुदायलाई घना जंगलबाट बाह्य समुदायको बस्ती नजिकैसम्म ल्यायो। बाह्य समुदायको बस्ती नजिकै बस्न थालेदेखि उनीहरूले राम्रा भन्दा नराम्रा कुराको सिको गर्न थाले। यो समुदायमा मदिरा प्रचलन छ। राउटे समुदायका दुई/चार जनाबाहेक सबैमा मदिराको लत छ। पैसा छोएमा पाप लाग्छ भन्ने यो समुदाय अहिले पैसाका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुन्छ।

त्यसैको एउटा घटना हो, राउटे समुदायका युवतीमाथिको दुर्ववहार। बाह्य समुदायसँगको अधिक घुलमिल र मदिराको लत नभइदिएको भए यो घटना हुने सम्भावना निकै कम हुन्थयो। पछिल्लो समय राउटे समुदायलाई ‘न्यु मिडिया’ले पनि ठूलो प्रभाव पारेको देखिन्छ। राउटे समुदायसँगकुरा गर्न, उनीहरूसँग फोटो खिच्न, टिकटक बनाउनका लागि राउटे बस्तीमा मान्छेको भिड लाग्छ। उनीहरूले यतिकै फोटो खिच्न, भिडियो र टिकटक बनाउन दिँदैनन् त्यसका लागि पैसा दिने, मदिरा सेवन गराउने कारणले पनि यहाँ विकृति निम्तिएको विज्ञहरूको भनाइ छ।

‘सशस्त्र द्वन्द्वले उनीहरूलाई घना जंगलबाट बाह्य समुदायको नजिक ल्याएसँगै राउटे समुदायमा धेरै परिवर्तन आएको छ, त्यो सकारात्मकभन्दा नकारात्मक धेरै छ,’ यो समुदायसँग काम गर्दै आएका सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष हिरासिंह थापाले भने, ‘अहिले उनीहरू पैसा र मदिराका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार हुन्छन्।’ पर्यावरणीय प्रभावका कारण आहारामा कमी हुनु, बाह्य समाजसँगको घुलमिल र जीवनयापनका लागि परनिर्भरता बढ्नुले आदिम मानव सभ्यता बोकेको एक अवशेष राउटे समुदाय परिवर्तनको संघारमा छ। उनीहरू रहरले नभएर बाध्यताले आफ्नै प्राचिन मान्यता र परम्पराबाट पछाडि हट्दै गएको उनले बताए।

राउटे समुदायलाई आधुनिक जीवनशैली अपनाउनका लागि बाध्य पार्ने प्रमुख कारण हो, परनिर्भरता। दुई दशक अघिसम्म बाह्य समाजसँग नबोल्ने र उनीहरूले दिएको खानेकुरासमेत नस्वीकार्ने यो समुदाय अहिले पैसाका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुन्छ। ‘पहिले जस्तो हामीले बनाएका भाँडाकुँडा बिक्री हुँदैनन्, बनाएर मात्रै के गर्नु ?,’ तीन जना मुखियामध्येका एक सूर्यनारायण शाहीले भने, ‘सरकारले महिना/महिनामा भत्ता दिन्छ, दिनदिनै मान्छेहरू आएर पैसा र खानेकुरा दिन्छन्, त्यसैले पहिले जस्तो भाँडाकुँडा बनाउनु पर्दैन ।’

राउटे समुदायमा प्रतिव्यक्ति मासिक पाँच हजार रूपैयाँ भत्ता पाउँछ। संघीय सरकारमार्फत मासिक तीन हजार भत्ता बुझ्दै आएका उनीहरूलाई प्रदेश सरकारले थप दुई हजार रूपैयाँ दिने गरेको छ। आगामी साउनबाट उनीहरूको भत्ता बढेर मासिक ६ हजार हुँदैछ। अहिले भने पैसासँगको साइनो राउटेको प्रगाढ छ। फोटो, भिडियो खिच्दामात्रै होइन, बनाएका काठका भाँडा बिक्री गर्दा पनि उनीहरू अन्नको सट्टा पैसानै माग्छन्। ‘पैसा भए जतिबेला पनि जे किनेर खान पाइन्छ,’ अर्का मुखिया वीरबहादुर शाहीले भने, ‘जंगलमा सिकार पाइँदैन, बजारमा पैसा नभै हुँदैन ।’

शान्त र महिलालाई सम्मान गर्ने समुदाय

राउटे समुदायका युवतीमाथि भएको घटनापछि धेरै अफवाहहरू बाहिर आए। ‘राउटे समुदायको छुट्टै कानुन छ। बाह्य पुरुषसँग सम्बन्ध राख्ने युवतीलाई भालाले रोपेर मार्छन्। भेरीमा बगाउँछन्’ आदी कुराहरू बाहिर आए। पछिल्लो घटनापछि तीन दिनसम्म उनीहरूकै बस्तीमा रहँदा र यो समुदायका अगुवाहरूसँगको कुराकानीका आधारमा यो समुदायले महिलालाई उच्च सम्मान गर्ने गरेको पाइयो।

‘हामी छोरी, श्रीमतीलाई कुट्दैनौं,’ पूर्व मुखिया महिनबहादुर शाहीले भने, ‘छोरीको जातलाई कुट्ने होइन, माया गर्नुपर्छ।’ बाह्य समुदायसँग राउटे महिलाहरू बोल्दैनन्। आफ्नो समाजमा भने महिलाको भूमिका महत्वपूर्ण हुन्छ। ‘एक किसिमले भन्दा राउटे समुदाय महिला प्रधान समुदाय हो,’ सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले भनिन्, ‘बाहिर हल्लामा आएको जस्तो भाला रोपेर मार्ने, नदीमा बगाउनेलगायतका कुराहरू सत्य होइनन्।’

उनले गत शुक्रबारको घटनाका बारेमा राउटे समुदायमा जानकारीनै नभएको बताइन्। ‘यस्तो घटना थाहा भएमा पीडितलाई हेर्ने दृष्टिकोणमा फरक आउन सक्छ, बाह्य समुदायप्रति वितृष्णा बढ्न सक्छ,’ उनले भने, ‘बस्तीलाई जानकारी नगराएरै हामीले कानुनी प्रक्रिया अघि बढाएका छौं।’ पीडितहरूको मेडिकल चेकजाँचलगायतका कामहरू सम्पन्न भएका छन्।

युवतीका सामग्री हटाउन अदालतको आदेश

जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको घटनाका विषयमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशित/प्रसारित सामग्रीहरू तत्काल हटाउन आदेश जारी गरेको छ। अदालतले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिका फोटो तथा डिभियोहरू हटाउन, यस्ता सामग्रीहरू राख्नेलाई कारबाही गर्न तथा आवश्यकता अनुसार साइटहरू बन्द गराउन पनि आदेश दिएको छ।

‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित/प्रसारित सामग्रीहरू हटाउन ध्यानाकर्षण गराउनु,’ न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ, ‘जिल्लास्थित पत्रकारहरूका संगठनमार्फत यस्ता सामग्रीहरू प्रचार–प्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराउनु।’

मृत्युदर उच्च, जनसंख्या घट्दै

राउटे समुदायको हालको जनसंख्या १४३ मात्रै छ। ५ वर्षमुनिका बालबालिकाको संख्या १९ छ। पोषणको कमी र सुत्केरी महिलाहरूले पनि अत्याधिक मदिरा सेवन गर्ने भएकाले बालबालिकाको स्याहार हुँदैन। त्यसैले पनि बाल मृत्युदर राउटे समुदायमा उच्च छ। ८ वर्षअघि फोटोसहितको गणना हुँदा उनीहरूको जनसंख्या १९२ थियो। राउटे समुदायमा कल्याल, रास्कोटी र स्ववंशी गरेर तीन वटा गोत्र छ। यी तीनवटै गोत्रभित्रबाट राउटे समुदायको विवाह हुने चल्छ।  

अघिल्लो शुक्रबार राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिले होटलमा मदिरा सेवन गराएर दुर्व्यवहार गरेको घटनापछि अहिले राउटे समुदायको बस्ती सिल गरिनुका साथै उनीहरूलाई मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ। बस्तीको सुरक्षाका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ। हाल गुर्भाकोट नगरपालिका–९ मा बस्दै आएका राउटेलाई मदिरा बिक्री–वितरण गर्न प्रतिबन्ध लगाइएको छ।

नागरिकता विहीन  

राउटे समुदायले अहिलेसम्म नागरिकता लिएको छैनन्। २०७५ असार ३१ गते दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई परिचयपत्र वितरण गरेको थियो। प्रदेश सरकारलाई उनीहरूलाई नागरिकता दिने तयारी गरेको छ। आगामी आर्थिक वर्षभित्र उमेर पुगेका राउटे समुदायका नागरिकलाई नागरिकता दिइने सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीले जानकारी दिए। ‘राउटे समुदायमा अहिले पनि आधारभूत मानवीय सेवा पुगेको छैन्, सिंगो एउटा समुदाय नागरिकता विहिन छ,’ उनले भने, ‘राउटेको संस्कृति, भाषा र पहिचान नमर्ने गरेर उनीहरूलाई नागरिकता दिलाउने र आधारभूत आवश्यकताहरू पूरा गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ।’

प्रकाशित: ३० जेष्ठ २०७८ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App