७ वैशाख २०८१ शुक्रबार
समाज

राउटे युवतीका सामग्री हटाउन अदालतको आदेश

राउटे बस्ती ।

जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशित/प्रसारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेको छ। अदालतले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिका फोटो तथा भिडियोहरु हटाउन, यस्ता सामग्रीहरु राख्नेलाई कारबाही गर्न तथा आवश्यकता अनुसार साइटहरु बन्द गराउन पनि आदेश दिएको छ।

‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित/प्रसारित सामाग्रीहरु हटाउन ध्यानाकर्षण गराउनु,’ न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ, ‘जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामाग्रीहरु प्रचार–प्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराउनु।’

यस्तै आदेशमा युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरुका सामग्रीहरु हटाउन संघीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन भनिएको छ। ‘युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरु हटाउन नेपाल सरकारमार्फत विज्ञप्तिनै जारी गर्नुपर्ने अवस्था देखिएको छ,’ जिल्ला अदालतको आदेशमा भनिएको छ, ‘यसर्थ संघीय गृह मन्त्रालयमार्फत सूचना जारी गर्ने र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपीसहित कारबाहीका लागि लेखी पठाउनु।’

न्यायाधीश डा. आचार्यको आदेशमा राउटे युवतीका विषयमा सामग्रीहरु प्रशारण/प्रकाशन गर्नेका विरुद्ध कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयमा आदेशको प्रतिलिपी पठाउन भनिएको छ। यस्तै संवेदनशील विषयमा जथाभावी सामग्रीहरु प्रशारण/प्रकाशन गर्ने साइटहरु आवश्यकता अनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ भने प्रहरीलाई पीडित युवतीको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ।

प्रकाशित: २९ जेष्ठ २०७८ ०५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App