coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'बहुत कमजोरी महसुस होइछै'

वैशाखको दोस्रो साता गोलबजार नगरपालिका–३ जमदहको सदाय (मुसहर) बस्सीमा रुघाखोकी र ज्वरोको लहर चल्यो। बिरामी भएकामध्ये अधिकांश कोरोना संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको दाहसंस्कारमा सहभागी भएका थिए। त्यही मध्येकी एक हुन्, सीता सदाय।  

मलामीमा सहभागी भएको तेस्रो दिन सीतालाई हनहन्ती ज्वरो आयो। भाइरल ज्वरो होला भनेर उनले गाउँकै औषधि पसलबाट सिटामोल किनेर खाइन्। ज्वरोको पारो केहीबेर कम भए पनि फेरि माथि चढ्यो। ज्वरो, शरीरको दुखाइले छटपटिएर रात काटेका उनले भोलिपल्ट थाहा पाइन्– जुन मलामीमा उनी सहभागी भएकी थिइन्, त्यो व्यक्ति कोरोना पोजेटिभ रहेछ। त्यसपछि उनी आत्तिइन्। आफन्तको सल्लाहमा जिल्ला अस्पताल सिरहा पुगेर उनले पिसिआर परीक्षणका लागि स्वाब दिइन्। भोलिपल्ट उनको रिपोर्ट कोरोना पोजेटिभ आयो। त्यसपछि उनका श्रीमान् र आठ वर्षीया छोरीमा पनि उस्तै लक्षण देखियो।

पिसिआर परीक्षण गराउन एक हजार रूपैयाँ खर्चिनुपर्ने बाध्यताका कारण सीताले श्रीमान् र छोरीलाई परीक्षण गराइनन्। सिटामोलसहित आफूले चिकित्सकको परामर्शमा खाइरहेको औषधि छोरी र श्रीमान्लाई पनि खुवाइन्। ज्वरो बिस्तारै घट्दै गए पनि खोकीलगायत संक्रमण अझै बिसेक भएको छैन।  

गोलबजार–९ धोबियाधार किनारमा सुकुमबासीका रूपमा बस्दै आएका मुसहरले वर्षामा घर डुबान, शीतलहरमा चिसो त खेप्दै आएका थिए, पछिल्लो एक वर्षयता कोरोनाको कहर खेप्नुपरेको छ। वर्षा, चिसोभन्दा खतरनाक छ, यस समुदायका लागि कोरोना। किनभने, यो महामारीले उनीहरूको रोजगारी मात्र खोसेको छैन, जीवनमा बेहिसाब ऋणको भारी थोपरिदिएको छ।

ज्वरो त पहिला पनि नआएको होइन, तर यसपालि ज्वरोले सीतालाई निकै गलायो। ओछ्यानबाट उठ्नै नसक्ने गरी थलिएको सीताले बताइन। ‘बहुत कमजोरी महसुस होइछै (निकै कमजोर महसुस गर्दैछु)’ उनले भनिन्, ‘डाक्टर माछ, माउस, अण्डा, दूध, फलफूल खाइके सल्लाह दैछै (डाक्टरले माछामासु, अण्डा, दूध, फलफूल खान सल्लाह दिएका छन्)। नुन भात त जुरबे ने करैछै माछ माउस कत स लाबु (नुन भात त जोर्न हम्मे छ, माछामासु कहाँबाट ल्याउनु) ?’

तीन जनाको सीताको परिवार ज्याला मजदुरीमा अडिएको छ। दैनिक ज्याला मजदुरी नगरे हातमुख जोड्न धौधौ पर्छ, यस परिवारलाई। पोहोर कोरोनाका कारण काम नपाउँदा गुजारा चलाउन ऋण चढ्यो। त्यो ऋण चुक्ता गर्न नपाउँदै कोरोनाको दोस्रो लहर सुरु भयो। पहिलो लहरमा संक्रमणबाट बाँचे पनि दोस्रो लहरमा सीताको परिवारै संक्रमित भयो। अहिलेसम्म औषधोपचारमा करिब १० हजार खर्च भइसकेको सीता बताउँछिन्।

यस गाउँका करिब २२ घर सदाय समुदायको व्यथा सीताको जस्तै छ। यहाँका २२ जनामा कोरोना पुष्टि भएसँगै छिमेकका गाउँसम्म प्रचार भएको सीता बताउँछिन्। अहिले कृषि मजदुरीको सिजन छ। गाउँमा कोरोना फैलिएको भन्दै जमिनदारहरू यहाँका मजदुरलाई काममा लिन हिचकिचाएका छन्। जो कोरोना पोजेटिभ छन्, उसका लागि त केही छैन, संक्रमित नभएकाले समेत बेरोजगारीको मार खेप्नु परेको सीता बताउँछिन्।  

०००

परालले छाएको सानो छाप्रो। परालले नै छाप्रो बारबेर गरिएको छ। भुइँमा पातलो सुकुल छ। छेउमा धुजाधुजा भएका पुराना कपडा सुकाइएको छ। यही छाप्रोमा सिरहा गोलबजार नगरपालिका–९ मुसहरी टोलकी श्यामदेवी सदायको सात जनाको परिवार अटाएको छ। छाप्रोमा चार छोराछोरी, वृद्ध सासू र श्यामदेवी दम्पती कोरोनाबाट जोगिन संघर्ष गर्दै छन्। छिमेकी टोलकै मुसहरी बस्तीमा कोरोना पसेपछि यस बस्तीमा त्रास पसेको छ। ‘कोरोना स बचै लेल घरेमै रह कहैछै (कोरोनासँग बच्न छ भने घरमै बस्न भन्छ)’ श्यामदेवी भन्छिन्, ‘घरमा बस्दा कोरोनासँग त जोगिन्छु, तर भोकमरीसँग कसले बचाइदिन्छ।’

गोलबजार–९ धोबियाधार (खोला) किनारमा सुकुमबासीका रूपमा बस्दै आएका मुसहरले वर्षामा घर डुबान, शीतलहरमा चिसो त खेप्दै आएका थिए, पछिल्लो एक वर्षयता कोरोनाको कहर खेप्नुपरेको छ। वर्षा, चिसोभन्दा खतरनाक छ, यस समुदायका लागि कोरोना। किनभने यो महामारीले उनीहरूको रोजगारी मात्र खोसेको छैन, जीवनमा बेहिसाब ऋणको भारी थोपरिदिएको छ।  

सिराहाको कर्जन्हा नगरपालिका– १ बल्टिया का ३० वर्षीय जितन सदाय कर्जन्हा– ५ बडहरा मिर्चैया गाउँस्थित ससुराली घरमा आएका थिए, उनको जेठ ११ गते मृत्यु भयो। हनहन्ती ज्वरोले शरीर कमजोर भएपछि उनलाई ससुरालीले अस्पताल लैजाँदै थिए, बाटैमा उनको मृत्यु भयो। परिवारका अनुसार लामो समयदेखि ज्वरोले थलिएको कमजोरीका कारण बेहोस भएर मृत्यु भयो। उनको मृत्युको कारण रोग हो वा सदाय परिवारले भनेजस्तै भोक हो ? दुवै हुन सक्छ।

सामान्य ज्वरो र रुघाखोकी लागेर मृत्यु भएकाले ससुराली गाउँका कसैले पनि जितनको शव छुन मानेनन्। नमानेपछि त्यही दिन दिउँसो बल्टियास्थित घरबाट आएका दाजुभाइले शव बोकेर गाउँ पुर्‍याए र नजिकै रहेको कमला नदी किनारमा जातीय परम्पराअनुसार दाहसंस्कार गरे। उनको न परीक्षण भयो, न उपचार पाए।

‘बन्दीके कारण कामधन्दा छिनागेलै, खाइयो परि आफत भ गेलै (निषेधाज्ञाले रोजगारी रोकिएपछि हातमुख जोड्नै समस्या पर्‍यो )। भुखे मर लगलीयै त सौसराइर गेलै (भोकभोकै बस्नुपर्ने अवस्था आएपछि ज्यान जोगाउन ससुराली गए)’ मृतककी २६ वर्षीया पत्नी दुलारीदेवी भासिएको स्वरमा भन्छिन्, ‘आखिर जान चैले गेलै (आखिर उता गएर पनि ज्यान जोगिएन।’  

आँखैअगाडि ज्वाइँको मृत्यु भएपछि ससुरा रामप्रसाद विक्षिप्त बनेका छन्। ‘निषेधाज्ञाका कारण काम नपाउँदा भोखभोकै मर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘दुई नाति–नातिना र सहारा गुमाएकी छोरीलाई कसरी पाल्नु ?’  

मजदुरी गरेर छाक टार्दै आएका सदाय परिवार रोजगारी नपाएपछि छाक टार्ने चिन्तामा डुुबेको छ। त्यसमाथि परिवारका सदस्य गुमाउँदा काजकिरिया गर्न लिएको ऋणले अर्को चिन्ता थपिदिएको छ।  

कर्जन्हा नगरपालिकामा रुघाखोकी ज्वरोबाट १८ जनाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख कामेश्वर यादवले बताए। धेरै मानिसको मृत्यु भए पनि त्यहाँ कोरोना परीक्षण गराउन सकेका छैनौँ,’ उनले भने, ‘दलित बस्तीमा घरैपिच्छे ज्वरो छ। कतिलाई परीक्षण गराउनु, सम्भवै छैन।’

जिल्लाको पश्चिम भेगमा पर्ने कर्जन्हा नगरपालिका– ५ र ६ वडामा दलितको बाहुल्य छ। दुवै वडामा करिब एक हजार संख्यामा रहेका मुसहर प्रायः मजदुरी गरेर जीविका चलाउँदै आएका छन्। ‘निषेधाज्ञाका वेला मजदुरीमा आश्रित परिवारले भोक र रोगको सामना गर्न नसकेरै कतिले ज्यान गुमाउन बाध्य छन्।  

सिरहाको गोलबजार र कर्जन्हा नगगरपालिकाका उपरोक्त पात्र उदाहरण मात्र हुन्। मुख्य पेसा दैनिक मजदुरी भएका यी समुदायको यतिबेलाको साझा चिन्ता हो– भोकमरी। घरबाट बाहिर निस्किँदा कोरोनाले निल्ने डर, घरमा बस्दा भोकले ढल्ने चिन्तामा छन् उनीहरू।

कोरोना महाव्याधि र त्यसको संक्रमण रोक्न लगाइएको निषेधाज्ञाको सबभन्दा ठूलो असर विपन्न र सीमान्तकृत समुदायको जनजीविकामा परेको छ। दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न र सीमान्तकृतको अवस्था झन्झन् कष्टकर बन्दै गएको छ। केन्द्रीय तथ्यांक विभागले २०७६ वैशाखमा सार्वजनिक गरेको नेपालको श्रमशक्ति सर्वेक्षण अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या दुई करोड सात लाख ४४ हजार छ। तीमध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा संलग्न छन्।

७० लाख ८६ हजारको १५ प्रतिशत अर्थात् १० लाख ९१ हजार दुई सय ४४ जना संगठित क्षेत्रमा काम गर्छन्। बाँकी ८४.६ प्रतिशत अर्थात् ५९ लाख ९४ हजार सात सय ५६ असंगठित क्षेत्रको रोजगारीमा छन्। कोरोनाको सन्त्राससँगै सरकारले लगाएको निषेधाज्ञापछि आर्थिक क्रियाकलाप ठप्पप्राय छ। असंगठित क्षेत्रका कामदार प्रायःको रोजगारी रोकिएको छ।

कोरोना महाव्याधिसँगै बढेको बेरोजगारीले नेपालको गरिबीलाई झन् बढाउने निश्चित छ। अघिल्लो वर्ष नै कोभिडकै कारण नेपालमा थप १२ लाख मानिस गरिबीको रेखामुनि धकेलिएको विवरण सार्वजनिक भएको थियो। कोरोनाको दोस्रो लहरले रोजगारी गुमाउने क्रम रोकिएको छैन।

राष्ट्रिय योजना आयोगका अनुसार कुल जनसंख्यामध्ये १८.७ प्रतिशत (५४ लाख २३ हजार व्यक्ति) गरिबीको रेखामुनि छन्। कोरोनाअघि नै उनीहरूले औसतमा दैनिक १.२५ अमेरिकी डलर (हालको विनिमय दरअनुसार १५२ रूपैयाँ) आर्जन गर्न सक्दैथे। दैनिक २२४० क्यालोरी बराबरको खाना खान पनि पाउँदैनन्।

अझ बहुआयामिक गरिबीको सूचकांक अनुसार नेपालमा २८.६ प्रतिशत अर्थात् दुई करोड ९२ लाख जनसंख्यामध्ये ८२ लाख ९४ हजार व्यक्ति गरिबीको रेखामुनि छन्। यसमध्ये प्रदेश–२ मा बस्ने आधा जनसंख्या गरिबीको रेखामुनि रहेको योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयद्वारा संयुक्त रूपमा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ। गरिबीको रेखामुनि रहेको समुदाय भनेको दलित र सीमान्तकृत समुदाय नै हुन्। कोरोनाको पहिलो लहर नियन्त्रण गर्न गरिएको लकडाउनमा रोजगार गुमाएकालाई स्थानीय पालिका र प्रदेश सरकारले राहत वितरण गरेका थिए। अहिले दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्नेले रोजगारी गुमाएका छन्। उनीहरूलाई पनि राहत आवश्यक देखिन्छ।  

२७ प्रतिशत निरपेक्ष गरिबी र ४९ प्रतिशत बहुआयामिक गरिबीमा रहेको प्रदेश–२ मा अपवादबाहेक सरकारबाट कतै पनि राहत वितरण भएको छैन। संविधानले नै खाद्य सम्प्रभुताका अधिकार सुनिश्चित गरेको छ। अझ प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक ‘अब खानै नपाएर कोही पनि नागरिकले ज्यान गुमाउनुपर्दैन’ भन्ने प्रतिबद्धता गरिरहन्छन्। सिरहा गोलबजारकी सामाजिक अभियन्ता श्यामकुमारी साह भन्छिन्, ‘तर कोरोनाको यो पछिल्लो कहरमा तीन तहका सरकारले विपन्न नागरिकले खान पाए/पाएनन् भन्नेतिर ध्यान दिन छाडेका छन्।’  

यसपालि पहुँच हुने बिरामीले अक्सिजन पाउने तर सीमान्तकृत समुदायका व्यक्ति छट्पटिएर ज्यान गुमाउनुपर्ने बाध्यता देखिएको छ। पहुँच भएकाको घरमै जनप्रतिनिधि गएर औषधि र पौष्टिक आहार वितरण गरेका फोटाहरू सामाजिक सञ्जालमा देखिन्छन्। सीमान्तकृत समुदायका घर यस्ता जनप्रतिनिधिको प्रतीक्षामा रहेका छन्।

प्रकाशित: २९ जेष्ठ २०७८ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App