coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विगत दुई दशकयता बाल श्रमिकको संख्यामा वृद्धि : प्रतिवेदन

विगत ४ वर्षमा बाल श्रमिकको संख्यामा विश्वभरि ८४ लाखले वृद्वि भएको छ। यो संख्यामा वृद्धि भएर हाल विश्वमा कूल १६ करोड बाल श्रमिक पुगेका छन्। यसका साथै दशौं लाख अन्य बालबालिका कोभिड १९ को प्रभावको कारण बालश्रमको  जोखिममा रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र युनिसेफको पछिल्लो प्रतिवेदनले जनाएको छ।  

१२ जुन अर्थात् बाल श्रमविरूद्व अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा जारी गरिएको बाल श्रम २०२० को अनुमान, प्रवृत्ति र यसपछिको बाटो शीर्षकको उक्त प्रतिवेदनले बालश्रमको अन्त्य गर्नेतर्फ भइरहेको प्रगति विगत २० वर्षमा पहिलो पटक रोकिएको हुनाले सन् २००० देखि २०१६ सम्म बाल श्रमिकको संख्यामा ९ करोड ४० लाखले कमी आएको अवस्था उल्टिने खतरा रहेको चेतावनी दिएको छ।  

हाल विश्वभरि रहेका बाल श्रमिकहरूमध्ये ५ देखि ११ वर्ष बीचको उमेर समुहका बाल श्रमिकको संख्यामा उल्लेख्य मात्रामा वृद्वि भइ उनीहरुले आधाभन्दा बढी हिस्सा लिइसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले जोखिमपूर्ण कार्यमा संलग्न ५ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको संख्यामा २०१६ यता ६५ लाखले वृद्वि भई ७ करोड ९० लाख पुगेको जनाएको छ।  

‘बालश्रमको विरुद्वमा कार्य गर्नको लागि सरकार, सामाजिक साझेदारहरू तथा नागरिक समाजको प्रतिवद्वता व्यक्त गर्ने क्रम बढे पनि बाल श्रमिकको संख्या अझै पनि विकराल रहेको छ।’ नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनको देशीय कार्यालयका निर्देशक रिचर्ड हावर्डले भने।  

महामारीको असरस्वरूप २०२२ को अन्त्यसम्ममा थप ९० लाख बालबालिका बालश्रममा धकेलिने जोखिममा रहेको कुरा पनि प्रतिवेदनमा औंल्याईएको छ। सामाजिक सुरक्षामा पहुँच पुग्न नसकेको खण्डमा भने उक्त संख्या ४ करोड ६० लाख पुग्ने पूर्वानुमान अध्ययनले देखाएको छ।  

अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बालश्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाख बाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको कुरा उल्लेख गरेको छ। खतरायुक्त काम गरिरहेका बालबालिकाको संख्या २००८ मा ६ लाख २० हजार रहेकोमा २०१८ मा २ लाख २० हजारमा झर्दै  उल्लेख्य मात्रामा कमी आएको छ।

प्रकाशित: २८ जेष्ठ २०७८ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App