८ वैशाख २०८१ शनिबार
समाज

'कोरोनाको डर लाग्छ तैपनि, फोहोर उठाउँछु'

भक्तपुरको इटाछेंका ५६ वर्षीय मदन कसलवटले फोहोर संकलन गर्ने काम थालेको १५ वर्ष नाघिसकेको छ। भक्तपुर नगरपालिकाका सफाइकर्मी कसलवट जारी निषेधाज्ञामा पनि आफ्नो कर्म क्षेत्रमा उत्तिकै खटिरहेका छन्। उनी आफ्नो क्षेत्रमा पर्ने प्रत्येक गल्लीमा छिर्छन् र फोहोर संकलन गर्ने गर्छन्।

‘संक्रमण फैलिएको कुरादेखि त डर लाग्छ, तैपनि फोहोर उठाउनै पर्यो,’ उनले भने, ‘डर लागे पनि सुरक्षा सावधानी अपनाएर फोहोर उठाउने गर्छु।’ कोरोना संक्रमणविरुद्धको खोप लिगाइसकेका उनले फोहोर उठाउने कामलाई दैनिकी बनाएका छन्। उनी दैनिक मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म फोहोर संकलन गर्छन्।

‘हो, अहिले फोहोर कम छ, तर त्यो उठाउनै पर्छ,’ उनले भने, 'यस्तो बेला फोहोर नउठाए फेरि कोरोनासँगै अर्को महामारी आउने डर रहन्छ।’  

रातो पाइन्ट, रातो टिसर्ट, निलो क्याप लगाएका छन्। हरियो पञ्जा लगाएका उनी टन्टलापुर घाममा पनि आफ्नो कर्ममा डटिरहेका भेटिन्छन्।  

बाक्लो जुत्ता नाकमुख छोपिने गरी निलो मास्क लगाएका उनलाई गर्मी भइरहेको अनुभव उनले लगाएको सर्टको टाँक खोलिएबाट प्रष्ट हुन्थ्यो।

सबैतिर निषेधाज्ञा, अनि नयाँ भेरियन्टको कोरोना संक्रमणको तीव्र फैलावट। आफूले फोहोर उठाउने वडामा पनि संक्रमित छन्, एकाध व्यक्तिको त्यही संक्रमण कै कारण मृत्यु भएको उनलाई थाहा छ।

फोहोर भन्ने बित्तिक्कै घिन लागे पनि उनले फोहोर उठाउनुलाई आफ्नो दैनिकी बनाएका छन्। निषेधाज्ञामा विशेष रुपमा प्लाष्टिकजन्य फोहोर र कुकुरले गर्ने फोहोरको संख्या बढेको उनले बताए।

उनले आफूले निक्कै सावधानीपूर्वक फोहोर उठाउने गरेको बताए। दिनभर फोहोर उठाएपछि उनी घर पुगेर नुहाउने, दैनिक लुगा धुने गर्छन्, साथै बेलाबेलामा सेनिटाइजर लगाउने पनि गर्छन्, उनी।

सफाइकर्मीहरुलाई नगरपालिकाले बेलाबेलामा स्वास्थ्य चेतनाका कक्षा र तालिम दिने गरेको छ। यति बेला मदनजस्तै सफाइकर्मीहरुकै कारण सिंगो भक्तपुर नगर सफा छ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App