१६ चैत्र २०८० शुक्रबार
समाज

कोरोना संकटमा भरोसा बन्दै गंगा

कोरोनाको दोस्रो लहरमा जुम्ला तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्याय संक्रमित व्यवस्थापनमा निकै खटिएकी छिन्। उनी संक्रमितको घरमै पुगेर संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्छिन्। यहाँका घर होम आइसोलेसन बनाउन लायक छैनन्। घरमा बस्दा परिवारै संक्रमित हुन सक्ने खतरा भएकोले गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बस्नको लागि सुझाउँछिन्।  

सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्न, घरबाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न, नियमित हातधुन र सेनिटाइजरको प्रयोग गर्न बारम्बार आग्रह गरिरहेकी छिन्। एकाबिहानै घरबाट निस्कने र साँझ अबेर घर फर्कने उनको दैनिकी बनेको छ। उनले भनिन्,‘गाउँपालिकामा संक्रमित बढिरहेका छन्। उनीहरुको अवस्था अनुसार अस्पताल या आइसोलेसनमा पठाउने हो व्यवस्थापनमै समय वितेको पत्तो हुँदैन। राति ८ बजेसम्म घर पुग्ने गरेको उनी बताउँछिन्।  

'संक्रमित आइसोलेसनमा आउन मान्दैनन्। कोरोना केही होइन। सामान्य रुघाखोकी हो। सजिलै जितिन्छ भन्दै गाउँमा लापरबाही बढेको छ,' उपाध्यक्ष उपाध्यायले भनिन्,‘तर संक्रमितको घरमै पुगेर कन्भिन्स गरेर आइसोलेसनमा ल्याउने गरिएको छ। प्रत्यक्ष स्वास्थ्यकर्मी र चिकित्सकको निगरानीमा राखिने गरिएको छ।’ गाउँपालिकामा अहिले ४७ जना संक्रमित छन्। पटक पटक भरोसा, उत्साह र उत्प्रेरणा प्रदान गर्ने कार्य भइरहेको उनी बताउँछिन्।  

तातोपानीमा दुईवटा आईसोलेसन सेन्टर स्थापना गरेर संक्रमित राखिएको छ। जिन्दगीमा पहिलो पटक नागरिकलाई यति धेरै कन्भिन्स गर्नु परेको अनुभव सुनाउँछिन्। उनले भनिन्,‘स्वास्थ्यकर्मीको उचित परिचालन भएको छ। संक्रमितलाई गर्ने व्यवहार राम्रो छ। खानपानको व्यवस्थापनदेखि लक्षण अनुसारको औषधि प्रयोग गर्न प्रबन्ध रामैसंग मिलाइएको छ।’

कोरोनाको दोस्रो लहर सुरुभएबाट दौडधुप निकै बढेको उनी बताउँछिन्। 'संक्रमित आइसोलेसनमा आउन मान्दैनन्। आइसकेपछि विभिन्न निउ खोज्छन्,' गंगाले भनिन्,‘तर सम्झाइ बुझाइ गरेर संक्रमितको मन सन्तोष बनाउने काम भएको छ। आइसोलेसनमा आएपछि संक्रमितले सुरक्षित भएको अनुभूति गर्छन्।’  

उपाध्यक्ष गंगा कोरोना प्रचारप्रसार समितिको संयोजक हुन्। उनी एकदेखि ८ वडासम्मै पुगेर सचेतना फैलाउँछिन्। स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधि लिएर कोरोना रोकथाम तथा नियन्त्रणबारे सचेतना प्रदान गर्न गाउँगाउँमा पुग्छिन्।’ उनले थपिन्,‘कोरोनाबाट जोगिन माइकिङ गर्नेदेखि लिएर संक्रमितको हौसला बढाइदिने काम समेत भएको छ।’

तातोपानीका हरेक गाउँमा एक सूचना अधिकारी राखिएको छ। सूचना अधिकारीले गाउँमा बिरामी भए नभएको बारेमा दैनिक जानकारी दिने गर्छन्। उनीहरुले दिइएको जानकारीका आधारमा कोरोना परीक्षण हुन्छ। यो गाउँपालिकाको रावतबाडा र राँका गाउँमा कोरोना फैलिएको छ। रावतबाडामा २१ जना र राँकामा २४ जना संक्रमित भेटिएका थिए। गाउँका सूचना अधिकारीले जानकारी गराएर परीक्षण गर्दा स्थानीयमा संक्रमण पुष्टि भएको थियो।  

'सूचना अधिकारीले सूचना दिएको आधारमा गाउँगाउँमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ भइरहेको छ। पहिले ऐरेनीमा मात्र आइसोलेसन बनाएका थियौँ, बनाउन बाध्य भयौं,' उनले भनिन्,'अहिले ४७ बेडको आइसोलेसन संक्रमित घटबढका आधारमा आइसोलेसनको संख्या निर्धारण हुने संक्रमित घटे आइसोलेसन बेड घट्छन्। संक्रमित बढे बेड बढ्छन्।' उनले कोरोना संक्रमणबाट नागरिक बचाउनको लागि हदैसम्मको काम गर्न प्रतिबद्ध रहेकाे बताएकी छिन्।

कार्यकाल सकिनै लाग्दा बल्ल जनप्रतिनिधि भएको अनुभूति हुन थालेको गंगा बताउँछिन्। उनले भनिन्,‘अहिले गाउँमा प्रत्यक्ष जनता संग भेटघाट हुन्छ। सुखदुःख आदानप्रदान हुन्छ। जनताको दुःखमा उर्जा बन्नु र सुखमा खुसियाली साट्नु जनप्रतिनिधिको काम हो। त्यो काम कोरोना कहरमा पूरा हुँदैछ।’    

उनी आइसोलसनमै पुगेर सुखदुःख बाँड्छिन्। अफ्ठ्यारो सजिलोबारेमा जानकारी लिन्छिन्। लक्षण अनुसारको औषधि खान सुझाउँछिन्। आत्माबल बढाउनुहोस्। कोरोना जितिनेमा उर्जा भरिदिन्छन्।   कोरोनाका कारण समस्या आइपरेको खण्डमा कोभिड अस्पताल या कर्णाली अस्पतालमा लैजाने भन्दै निर्धक्कसंग बस्नु पर्ने पनि उनी बताउँछिन्।

प्रकाशित: २८ जेष्ठ २०७८ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App