७ वैशाख २०८१ शुक्रबार
समाज

विवाहिताहरु वटसावित्री पर्व मनाउँदै

काठमाडौंमा विवाहिताहरु वटसावित्री पर्व मनाउँदै। तस्बिर : सरोज कुमारी चौधरी

आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन्। यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन्। परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ। यो पर्व मनाउनका लागि बिहानैदेखि विभिन्न बरका रुखमुनि घुइँचो लागेको देखिन्छ।

धार्मिकग्रन्थ स्कन्धपुराणमा उल्लेख गरिएअनुसार, बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले सो रुखमुनि बसेर पूजा गर्दा ती त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ।  

त्यस्तै धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनिनै राखिएको थियो। सावित्रीले आफ्नो सतित्वको प्रभावमा यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्षअर्थात बरको रुखमुनिमै बसेर सो पर्व मनाउने गरिन्छ।

यो पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधि अनुसार मनाउने चलन छ। मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास, स्वर्णकारलगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउने गर्छन । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ।  

यो पर्व मनाउन नवविवाहिता (बेहुली) का लागि माइतीपक्षबाट नयाँ बस्त्र, श्रृंगारका सामग्री, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिन सर्प, बाँसको पङ्खा, टोकरीलगायतका साथै भोजनका लागि चामल, च्यूरा, दहीलगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ । गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिन देउताको पूजा गरेमा सर्पदंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ।

यो पर्वमा उपलब्ध भएसम्म बर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए बरको रुखमुनि पीपलको हाँगा गाडेर भएपनि बर र पीपल दुवैको उपस्थितिमा पति र पत्नी मिलेर पूजा गर्छन् । पति र पत्नीले पूजा गरिरहँदा पत्नीका भाइ छाता ओढाएर साक्षीको रुपमा उभिन्छन्। महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी बरको जरामा पूजा गर्छन्। 

प्रकाशित: २७ जेष्ठ २०७८ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App