७ वैशाख २०८१ शुक्रबार
समाज

सर्दु खोला उत्खनन रोक्न पुगेको टोलीमाथि ठेकेदार पक्षको आक्रमण

ठेकेदारले जथाभावी उत्खनन गरेको सर्दु खोला। तस्बिर : रोहित राई

चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोलामा स्काभेटर प्रयोग गरेर भइरहेको उत्खनन रोक्न पुगेको एक टोलीलाई ठेकेदारबाट परिचालित समूहले सांघातिक आक्रमण गरेको छ।  

स्थानीयवासीसहित बुधबार दिउँसो करिब पौने २ बजे सर्दु खोलमा पुगेको टोलीले उत्खनन रोकेपछि डेढ दर्जन मोटरसाइकलमा आएको युवाहरुको समूहले आक्रमण गरेको हो। ठेकेदारबाट परिचालित युवाहरुको समूहको आक्रमणबाट राजेश खिम्दुङ गम्भीर घाइते भएका छन् भने अन्य आधा दर्जन व्यक्तिहरु पनि घाइते भएका छन्। प्रहरीले उत्खनन रोक्न गएका घाइते खिम्दुङसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। 

उनीहरुले अराजकशैलीमा गएर चालकहरुलाई कुटपिट गरेको उजुरी परेकोले नियन्त्रणमा लिइएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। ‘निषेधाज्ञाको बेला त्यसरी हुल बाँधेर अराजकशैलीमा जान हुदैन, चालकहरुलाई कुटपिट भएको उजुरी आएको छ, कारबाही हुन्छ,’डिएसपी बस्नेतले भने,‘नियमसंगत ठेक्का लागेर काम भइरहेको ठाउँमा गएर जो कोहीले रोक्न मिल्दैन, रोक्नुपर्ने हो भने सम्बन्धित निकायहरु हुन्छन्।’

उत्खनन रोक्न जानेहरु धरानका हर्क साम्पाङले नेतृत्व गरेको टोली हो। सर्दु खोलामा जथाभावी उत्खनन भइरहेको र त्यहाँको नदीजन्य सामग्रीहरु भारत निकासी भएको भन्दै साम्पाङको नेतृत्वमा केही दिनदेखि उत्खनन रोक्ने प्रयास भइरहेको थियो। बुधबार घटना हुँदा भने साम्पाङ थिएनन्। खोलामा पुगेर उत्खनन रोकेपछि स्काभेटर, ट्रिपरलाई फर्काइरहेको बेला मोटरसाइकलमा आएर गुण्डागर्दी शैलीमा आफूहरुलाई आक्रमण गरेको घाइते खिम्दुङले बताए। ‘यहाँ स्थानीयले ढुंगा टिप्न पनि पाउदैन, तर यसरी मेशिन लगाएर धमाधम उत्खनन भइरहेको छ। यो रोक्नुस्, कि स्थानीयलाई पनि खन्न दिनुस् भन्यौं,’उनले भने,‘त्यही बेला गुण्डागर्दी शैलीमा आएर हामीलाई ढुंगाले मार्नै खोजे।’  

ठेकेदार पक्षले भने नियमपूर्वक ठेक्का पाएर उत्खनन भइरहदा सरोकार नभएका व्यक्तिहरु आएर जबर्जस्ती रोकेको र अपरेटरलाई हातपात गरेपछि कामदारहरुले सामान्यरुपमा प्रतिकार गरेको भन्दै बचाउ गरेको छ। ‘कहाँ कहाँको मान्छेहरु आएर काम रोक्नु भने। रोकेका थियौं, तर अपरेटरलाई हातपात गरेपछि कामदारहरु मिलेर दुई चार झापड हानेको हो,’ठेकेदारका कर्मचारी देव क्षेत्रीले भने,‘घाइते भएकाहरु भाग्ने हुँदा आफै लडेर चोट लागेको हो।’  

यो वर्ष धरान उपमहानगरपालिकाले धरानको सर्दु, सेउती र सेहरा खोला ४ करोड ९१ लाखमा ठेक्का लगाएको छ। उक्त खोलाहरु पाथीभारा निर्माण सेवा र विनिता कन्स्ट्रक्सनले ठेक्का पाएको छ। वन र चुरे क्षेत्रमा पर्ने खोला ठेक्का लगाएको भन्दै शुरुवातदेखि नै विवाद उत्पन्न भएको थियो। डिभिजन वन कार्यालय सुनसरीले पनि सेउतीमा उत्खनन गर्न रोके पनि धरानका मेयर, उपमेयर आफै तीन दर्जन नगर प्रहरी लिएर जबर्जस्ती उत्खनन गराएपछि ठेकेदारको पक्षपोषण गरेको आरोप लागेको थियो।

वन कार्यालय पनि पछि हटेपछि अहिले तीन वटै खोलामा जथाभावी उत्खनन भइरहेको छ। विगतमा चुरे क्षेत्र भने धरान चतरा सडकखण्डदेखि उत्तरतर्फको सर्दु खोला ठेक्का लगाउने गरिएको थिएन। ठेक्का लगाएपछि मापदण्ड पालना भएको छ कि छैन भनेर अनुगमन नहुँदा ठेकेदारले जथाभावी उत्खनन गरिरहेको छ।

प्रकाशित: २७ जेष्ठ २०७८ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App