coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

समुदायमा कोरोना संक्रमित खोज्न स्वास्थ्यकर्मी परिचालन

तीनवटा टिम बनाएर गाउँगाउँमा परीक्षण गर्न थालियो

स्याङजाको कालिगण्डकी गाउँपालिकास्थित ध्रुबज्योति मावि परिसरमा स्थानीयको कोरोना परीक्षणको तयारीमा स्वास्थ्यकर्मी । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंकामा अहिले परिक्षणका लागि जिल्लामा स्वास्थ्यकर्मी सहितको टिम परिचालन भएको छ । तस्बिरः गण्डकी स्वास्थ्य

गोरखाको बाक्लो बस्ती भएको गाउँ बारपाकमा जेठको पहिलोसाता रोगको एकैखाले लक्षणबाट दिनहुँजसो स्थानीयले ज्यान गुमाए । धेरैजसो गाउँले एकैखालका लक्षणसहित बिरामी परेको र दिनहुँजसो स्थानीयको ज्यान जान थालेपछि प्रदेशको स्वास्थ्य निर्देशनालय चिकित्सक सहितको टिम लिएर बारपाक पुगेर परीक्षण थाल्यो ।  

परीक्षणका क्रममा बारपाकका केही गाउँलेमा कोरोना संक्रमणको पुष्टि पनि भएपछि स्वास्थ्यकर्मीको एउटा टोली त्यही बसिरहेको छ । अहिले बारपाकको अवस्था केही सामान्य बन्दै गएको छ । बारपाकको अवस्था प्रदेश स्वास्थ्य निर्देशनालयका लाग एउटा सिकाई थियो । त्यो हो–गाउँगाउँमा कोरोना संक्रमण ब्यापक फैलिएको र स्थानीयबासि डराएर परीक्षण गर्न जान पनि सकेका छैनन, त्रासका कारण घरबाहिर निस्कन पनि आँट गरेका छैनन् ।

बारपाकको जस्तै अवस्था अन्यत्र पनि रहेको हुनसक्ने अनुमान सहित अहिले प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले विभिन्न क्षेत्र बाँडेर ग्रामिण क्षेत्रमा कोरोना परीक्षण गर्न थालेको छ । त्यसका लागि प्रदेशका ११ वटै जिल्ला हेर्नेगरि तीनवटा टिम परिचालन गरेको छ । प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार हरेक टिममा मेडिकल चिकित्सक, प्रयोगशालाका प्राविधिक, नर्स, मनोपरामर्शदाता, प्रशासनिक कर्मचारी सहित छन् ।  

बागलुङ, कास्की र गोरखालाई आधार मानेर अहिले गाउँगाउँमा कोरोनाका संक्रमित खोजि गर्दै परीक्षण थालेको निर्देशक शर्माले बताए । ‘गाउँमा संक्रमण डरलाग्दो भएको अनुमान छ । गोरखाको बारपाकले हामीलाई गाउँको अवस्था सिकाएको छ,’ उनले भने, ‘बारपाकलाई उदाहरण मानेर अहिले गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरेर कोरोनाका संभावित बिरामी पहिचान गर्न थालिएको छ ।’ बागलुङको टोलीले धवलागिरीका चारवटा जिल्ला हेर्नेछ । कास्कीको टिमले स्याङजा र तनहुँ तथा गोरखाको टिमले गोरखा सहित लम्जुङ, मनाङ र नवलपुरको क्षेत्र समेट्नेछ ।

‘गाउँमा कोरोनाको संक्रमण भुसको आगो झैं फैलिएको अनुमान छ । तनहुँ, गोरखा र लम्जुङका केही गाउँको अवस्था पनि डरलाग्दो भएको आशंका छ,’ उनले भने, ‘गाउँका घरघरमा बिरामी छन । तर, उनीहरु परीक्षण गर्न आउन पनि डराएका छन् । घरबाहिर निस्क्न समेत त्रसित भएकोले हामी आफै गाउँ पुगेका छौ ।’ गाउँमा बढि बिरामी भएको आशंका रहेपछि स्थानीय प्रशासन, जिल्लास्थित स्वास्थ्य कार्यालयसँग पनि सहकार्य गरिएको उनले बताए ।

‘गाउँमा स्वास्थ्यकर्मी नपुग्दा पनि गाउँले बढी आत्तिएका छन । बारपाकमा पनि त्यही अवस्था थियो । अब स्वास्थ्यको टिमले गाउँगाउँमा परीक्षण गर्छ । आवश्यक परे औषधि पनि दिन्छ,’ उनले भने, ‘मनोसामाजिक परामर्शदाताले पनि आवश्यक सहजीकरण गर्नेछन । आत्तिएका गाउँलेलाई केही हदसम्म भएपनि सहज हुनेछ ।’ गाउँ पुगेको टोलीले एन्टिजेन सहित आवश्यक परेमा पीसीआर विधिबाट पनि परीक्षण गर्ने उनले बताए ।

‘सहरमा कोरोना संक्रमणको चेन ब्रेक भएको छ । तर, गाउँको अवस्था डरलाग्दो बन्दै गएको छ । गाउँमा चेन ब्रेक गर्न कठिन छ,’ उनले भने, ‘गाउँमा स्वास्थ्यका मापदण्ड पनि पटक्कै पालना भएको छैन । त्यसले गर्दा पनि समस्या भएको हो ।’ पछिल्लो समय समुदायमा पनि परीक्षण गर्न थालेपछि अहिले संक्रमितको संख्या केही बढेको देखिएको पनि शर्माले बताए । समुदायमा संक्रमित लुकेर बसेको हुनसक्ने उनले बताए । सिजनल रोग भन्दै गाउँलेले वेवास्ता गर्ने र स्वास्थ्यका मापदण्ड पालना नगर्दा गाउँलेले ज्यान गुमाउन थालेको प्रदेश निर्देशक शर्माले बताए ।

अरु चिकित्सक पनि अहिले अस्पतालमा आउने बिरामीमध्ये अधिकांश ग्रामिण क्षेत्रका रहेको बताउँछन । गण्डकी मेडिकल कलेज (जिएमसी) की मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घले पनि पछिल्लो समय अस्पतालमा उपचारका लागि आउनेमा ग्रामिण क्षेत्रका बिरामी बढि छन । ग्रामिण क्षेत्रमा संक्रमण बढिरहेको भन्दै उनले भनिन, ‘सहरमा केही थामिएको अनुभूति भएको छ । तर, गाउँमा भने संक्रमणमले अत्यासलाग्दो अवस्था सिर्जना गरेको छ ।’ उनका अनुसार कोरोनाका कारण मृत्यु हुनेमा अहिले सहरका भन्दा गाउँका बढि छन ।  

‘बिरामी परिहाले भनेमा पनि परीक्षणका लागि अस्पतालसम्म आउन सहज छैन । चाहेर पनि बिरामी सहजै अस्पताल आउन सक्दैनन । गाउँमा गाडि पनि चलेका छैनन,’ उनले भनिन, ‘गाउँमा बढ्दो भेदभावले पनि संक्रमण बढाएको छ । एकजना संक्रमित भेटिएमा उसलाई अरुले हेर्ने दृष्टिकोण नै फरक रहेकोले पनि गाउँमा अत्यासलाग्दो अवस्था देखिएको छ ।’ संक्रमितलाई झनै बढि डर देखाउने, अवहेलना गर्ने गर्दा संक्रमितको ज्यानै जोखिममा पर्ने गरेको उनले बताईन । ‘जतिसक्दो छिटो गाउँमा सचेतना जगाउन जरुरी छ । गाउँका विभिन्न आमा समुह, युवा क्लवलाई पनि परिचालन गरेर भएपनि सचेतना फैलाउनुपर्छ,’ घलेले भनिन, ‘नत्र धेरै गाउँलेको ज्यान जाने जोखिम छ ।’

प्रकाशित: २६ जेष्ठ २०७८ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App