७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीमाथि आक्रमण गर्ने पक्राउ

जेठ १३ गते साँझ धरान १५ नयाँ बसपार्कस्थित अस्थायी प्रहरी चौकीमा प्रहरीमाथि आक्रमण र तोडफोड गरि फरार भएका मुख्य ५ आरोपीहरु पक्राउ परेका छन्।

उक्त घटनामा १० जना युवाहरु संलग्न भएको पत्ता लगाएको प्रहरीले हालसम्म मुख्य ५ आरोपीमात्र पक्राउ गर्न सकेको छ। अन्य ५ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका मुख्य ५ आरोपीलाई प्रहरीले आज मंगलबार सार्वजनिकसमेत गरेको छ।  

पक्राउ पर्नेमा धरान ४ का ३० वर्षीय बसन्त राई, धरान १५ का ३२ वर्षीय रेगन लिम्बु, धरान ५ का २४ वर्षीय बिक्रम राई, धरान ३ का २७ वर्षीय सिजन राई र धरान ४ का २६ वर्षीय कालु भन्ने सरोज लिम्बु रहेका छन्। तीमध्ये वसन्त र रेगनले हिजो सोमबार साँझ जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसर्मपण गरेका थिए। चौकी आक्रमणपछि भागेर धनकुटा पुगेका दुवैजना छथर पोखरी ४ बञ्चरे एरियामा लुकेको सूचना पाएपछि प्रहरीले उक्त क्षेत्रमा सर्च अप्रेशन चलाएको थियो।

प्रहरीको १ नम्बर प्रदेश प्रहरी ब्युरोसँगै मोरङ, तेह्रथुम र धनकुटा जिल्लाको प्रहरीसँग समन्वय गरेर सर्च अप्रेशन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवं प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।  

प्रहरीले सोही क्रममा दुईजना पक्राउ परेको दाबी गरेपनि जनप्रतिनिधि र आफन्तको साथमा वसन्त र रेगनले सोमबार धनकुटा प्रहरीमा आत्मसर्मपण गरेका थिए। उनीहरुको खोजीको लागि ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा टोली धनकुटा गएको थियो। धनकुटा प्रहरीसहितको टोलीले ४ दिनसम्म बञ्चरे क्षेत्र र जंगलमा सर्च गरेको धनकुटा प्रहरीले जनाएको छ।

प्रहरीले अन्य ३ जना बिक्रम, सिजन र सरोजलाई घटनाको ५ दिनमा जेठ १८ गते धरानबाटै पक्राउ गरिसकेको थियो। उनीहरु धरान ५ देउरालीमा लुकेर बसेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भइसकेको छ।

जेठ १३ गते साँझ प्रहरी चौकीमा दुईजना युवा उजुरी दिन भन्दै पुगेका थिए। चौकी इञ्चार्ज एवं असई सुमन दाहालले उनीहरुसँग कुराकानी गरिरहँदा हतियारसहित युवाहरुको समूह चौकीभित्र प्रवेश गरेर जथाभावी आक्रमण गरेका थिए। त्यसक्रममा असई दाहाल गम्भीर घाइते भएका थिए भने अन्य प्रहरी पनि सामान्य घाइते भए।

ती आक्रमणकारी युवाहरुले चौकीमा ढुंगामुढा गरेर तोडफोड गरी फरार भएका थिए।

प्रकाशित: २५ जेष्ठ २०७८ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App